site stats
बाह्रखरी :: Baahrakhari
विशेष
बैंकको लाइनमै मर्दैछन् भारतीय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि भारतका केही सहरमा बैंकको लाइनमै रहेका बेला मानिसको मृत्यु भएको खबर आइरहेका छन् । बीबीसीलाई प्राप्त समाचारअनुसार मध्य प्रदेशको सागरमा यूनियन बैंकको लाइनमा उभिरहेका एक वृद्वको मृत्यु भएको छ । 
पैसामा प्रतिबन्ध लागेपछि बिहारको सिरहीरा गाउँमा छोरीको विवाहलाई लिएर चिन्तामा डुबेका एक अधबैंसेको पनि मृत्यु भएको छ । मुम्बईमा पनि अर्का एक वृद्वले बैंकमा नै ज्यान गुमाएका छन् । 
भोपालबाट बीबीसीका संवाददाता शूरैह नियाजी भन्छन्, “मध्य प्रदेशको सागरमा पैसा चेन्ज गर्न लाइनमा उभिरहेका एक वृद्वको हृदयघातले ज्यान लिएको छ ।” 
शनिबार ६९ वर्षीय सेवानिवृत्त एक कर्मचारी विनोद कुमार पाण्डेले आफूसँग भएको ५ सय र १ हजार रुपैयाँको नोट चेन्ज गर्न यूनियन बैंकको शाखाबाहिर लाइनमा लागेका थिए । धेरै समयसम्म लाइनमा उभिरहेका उनलाई अचानक रिंगटा लाग्यो र उनी भुइँमा लडे । उनी ढलेको खबर पाएपछि परिवारले पाण्डेलाई अस्पताल लिएर गए, तर पाण्डेलाई अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृतक घोषणा गरिदिए । 
यो घटनाको बारेमा पाण्डेका छोराले भने, “बैंकमा वृद्वको लागि कुनै अर्काे लाइनको व्यवस्था थिएन । भीडले गर्दा नै उहाँको मृत्यु भयो ।” लाइनमा रहेका कसैले पनि उनलाई सहयोग गरेनन् किनकि उनलाई सहयोग गर्दा आफ्नो ठाउँमा अर्कै आएर लाइनमा बस्ने डर थियो । 
सागरका प्रहरी सचिन अतुलकरले परिवारका कसैले प्रहरीमा उजुरी गरेमा यस घटनाको छानबिन हुने बताएका छन् । 
अर्काेतिर, बिहार कैमूर जिल्लाको सिरहीरा गाउँमा राम अवध शाहको घरमा मृत शान्ति छाएको स्थानीय पत्रकार सीटु तिवारीले बताएका छन् । गाउँमा एउटा पसल चलाउने राम अवधको १२ नोभेम्बर बिहानै मृत्यु भयो । “बहिनीको विवाह थियो । केटा पक्षलाई दाइजो दिनुपर्ने थियो । बुबा चिन्तित हुनुहुन्थ्यो किनकि ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लागेको थियो,” मृतकका १७ वर्षे छोरा विकासले भनेका छन्, “११ नोभेम्बरको रात करिब ११ बजे बुबाको छाति दुख्यो । अनि तीन पल्ट उल्टी पनि भयो । मैले पहिले स्थानीय अस्पताल लिएर गएँ । फेरि बीएचयू लिएर गएँ । तर बेड नभएको भन्दै बुबालाई भर्ना लिइएन ।”
विकास अगाडि भन्छन्, “त्यसपछि धैरै निजी अस्पतालमा लिएर गएँ । तर, सबैले ५ सय र १ हजारको नोट देखेर उपचार गरेनन् । अन्तिममा बनारसकै फोर्ड अस्पतालमा भर्ना गरेर उपचार गरें । तर १२ नोभेम्बर बिहान बुबाको मृत्यु भयो ।  बुबालाई पैसा नहुनुको चिन्ता थियो, त्यसैले उहाँलाई हृदयाघात भएको हो । अरु कुनै रोग थिएन ।”
अहिले अवधकी पत्नी मनता देवीलाई घर खर्च चलाउने चिन्ताले सताएको छ । उनी भन्छिन्, “अब मेरो बच्चालाई कसले हेर्छ ? दुइटै छोराहरू साना साना छन् । छोरीको विवाह कसरी गर्नु ? कसैले जवाफ दिन्छ मलाई ?” उनी प्रश्न गर्छिन् । 
मनता देवी पटक पटक बेहोस हुन्छिन् । बेहोसीमै भन्छिन्, “मेरो पति र परिवारले मोदीजीलाई भोट दिएका थिए । बैंकमा पैसा थन्केको छ । तर, पतिले उपचार गर्न नपाएर ज्यान गुमाउनुपर्यो । अब छोरीको विवाह पनि रोकियो । यदि ५ सय र १ हजारको नोटमा प्रतिबन्ध नलागेको भए यस्तो हुँदैनथ्यो ।”
गाउँका मुखिया शहजादले बीबीसीसँग फोनमा भने, “४२ वर्षको स्वस्थ व्यक्तिले नोटको चक्करले ज्यान गुमाउनुपर्यो ।” मुम्बईमा पनि नोटमा प्रतिबन्ध लागेपछिको एउटा खराब समाचार छ । स्थानीय पत्रकार आश्विन अघोरका अनुसार मुम्बईको मध्य उपनगर मुलुण्ड निवासी ७३ वर्षीय अवकाश प्राप्त शिक्षक विश्वनाथ वर्तक नोटमाथि प्रतिबन्ध लागेको दोस्रो दिनमा बैंकमा पुगेका थिए । तर पनि उनी घण्टौं लाइनमा बस्नुपर्र्यो । बिहान ११ बजे लाइनमा बसेका उनको राति ११ः३० मा हृदयाघात भएर निधन भयो ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  ११:२८
प्रतिक्रिया दिनुहोस्