site stats
बाह्रखरी :: Baahrakhari
विशेष
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । मलेसियाले सुरक्षा गार्डको रूपमा नेपालीमात्र लैजाने गरेको भए पनि अब त्यसलाई तोड्दै भारतसहित तीन देशबाट लैजाने भएको छ ।
मलेसियाले श्रीलंका, भारत र बंगलादेशबाट पनि सुरक्षा गार्ड लैजान लागेको हो । 
नेपाली कामदारलाई मलेसिया जान त्यहाँको सरकारले टिकट उपलब्ध गराउनुपर्ने तर अन्य देशबाट लैजाँदा सम्बन्धित देशका कामदारले नै टिकट किनेर जाने भएपछि मलेसिया सरकारले यस्तो निर्णय गरेको हो । 
बंगलादेश सरकारले बहालवाला सेना र प्रहरीलाई नै बेतलबी तीन वर्षको छुट्टी दिएर मलेसियामा सुरक्षा गार्डको रूपमा पठाउने निर्णय गरेको छ । “बंगलादेशलाई रेमिट्यान्स चाहिएको छ । रेमिट्यान्स भित्र्याउन बंगलादेश सरकारले यस्तो निर्णय गरेको हो,” वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बाह्रखरीसँग भने । 
सुरक्षा गार्डमा अहिलेसम्म नेपालीकै पकड रहे पनि अबदेखि त्यो ठाउँमा तीन देशका नागरिक जाने भएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले बताएको छ । “अहिलेसम्म नेपालीकै एकाधिकार थियो,” स्रोतले बाह्रखरीसँग भन्यो, “अब अन्य देशका नागरिकले पनि स्थान पाउने भएका छन् ।” 
मलेसिया जाने कामदारमध्ये अधिकांश सुरक्षा गार्डमा जाने गरेका थिए । मलेसियाले अहिलेसम्म नेपालीबाहेक अन्य देशबाट सुरक्षा गार्डको रूपमा लैजाने नगरेको भए पनि अबदेखि अन्य देशबाट लैजाने निर्णय गरेको स्रोतको दाबी छ । 
मलेसियाका उपप्रधानमन्त्री तथा गृहमन्त्री अहमद जाहिद हमिदीले सुरक्षा गार्डका रूपमा नेपालबाहेक पनि अन्य मुलुकबाट कामदार लिने बताइसकेका छन् । मलेसियाले हाल मलेसियालीबाहेक नेपालबाट मात्र सुरक्षा गार्ड लिँदै आएको छ । 
दुई महिनाअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसियामा सुरक्षा गार्डका रूपमा जाने नेपाली कामदारको श्रम स्वीकृति रोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएपछि मलेसियाले नेपालबाहेक थप अन्य मुलुकसँग सुरक्षा गार्डका लागि कामदार लिने घोषणा गरेको हो । मलेसियाको नीति नेपालबाट मात्र सुरक्षा गार्ड लिने भए पनि नेपालमा सैनिक र प्रहरी पृष्ठभूमिका कामदार पाउन गाह्रो भएकाले अन्य मुलुकबाट पनि कामदार लिन लागिएको हो । 
सुरक्षा गार्डमा काम गर्न मलेसियाले श्रीलंका, बंगलादेश र भारत छानिसकेको वैदेशिक रोजगार व्यवसायी संघले बताएको छ । मलेसियाले नेपाली कामदारलाई सन् २००६ देखि सुरक्षागार्डको रूपमा लिँदै आएको थियो । 
सरकारले चासो नदेखाएकाले मलेसियाको रोजगारी विस्तारै नेपालीका लागि बन्द हुँदै गइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले बताए । “सामान्य कामदारदेखि सुरक्षा गार्डमा नेपाली कामदार कटौती हुँदा नेपालमा झन् श्रम स्वीकृति बन्द गर्ने निर्देशन भइरहेको छ,” उनले भने । 
उपाध्यक्ष खनालले मलेसियाले भारत, बंगलादेश र श्रीलंकाबाट सुरक्षा गार्ड लिन थालेको बताए । “यसले नेपालको रोजगारमा पूर्ण प्रभावित गराउनेछ,” उनले भने । बंगलादेश र श्रीलंकाले पटक–पटक मलेसिया सरकारसँग छलफल गरिरहँदा पनि नेपाल सरकारले कुनै पहल नगरेको उनले गुनासो गरे । “नेपालमा निर्णय गरेसँगै मलेसियामा घोषणा हुनु संयोग मात्र होइन,” उनले भने । दुई वर्षअघिकै प्रक्रियाअनुसार सुरक्षा गार्डका लागि मलेसिया जाने नेपाली कामदारले सैनिक र प्रहरीको नक्कली प्रमाणपत्र पेस गरेर जान थालेपछि मलेसियाले २ वर्षअघि नै कामदार लिने प्रक्रिया परिवर्तन गर्ने घोषणा गरेको थियो ।
मलेसियामा सुरक्षा गार्डमा जाने कामदार पूर्वसैनिक तथा प्रहरी भएको हुनुपर्ने भए पनि म्यानपावरको मिलेमतोमा नक्कली प्रमाणपत्र बनाएर कामदार पठाउँदै आइरहेका थिए । नेपाली कामदारका लागि आकर्षक गन्तव्य रहेको मलेसियामा सुरक्षा गार्डले ८० हजारदेखि १ लाख २० हजारसम्म तलब पाउने गर्छन् । हाल मलेसियामा १ लाखभन्दा बढी नेपाली कामदार सुरक्षा गार्डमा कार्यरत छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  १२:१८
प्रतिक्रिया दिनुहोस्