site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
\'वातावरण राम्रै छ, परिसूचक किन ओरालो ?\'

काठमाडौं । लगानीकर्तासँग सेयर किन्ने पैसा अभाव भएको बेला आएको नीतिगत सुधार र अनलाइनको पूर्ण कार्यान्वयनले लगानीकर्ताहरुलाई खुसी तुल्याउन सकेको छैन । सरकारले गठन गरेको समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुँदा १ सय अंकले बढेको सेयर बजार चर्चैचर्चाको विषय बनेको अनलाइन कारोबार सुरु हुँदा पनि सुस्त देखिएको हो ।

अघिल्लो साता करिब ४ करोडको कारोबार हुँदै रेकर्ड राखेको सेयर बजार यससाता पौने २ करोड पुग्न हम्मेहम्मे भएको छ । परिसूचक ३७ अंकले घट्नुका साथै बजारमा लगानीकर्ताको संख्या रकम हुँदा रहँदा कारोबार रकम पनि न्यून रहेको हो ।

यद्यपि, नेप्से अनलाइन कार्यान्वयन भएका कारण नेप्सेमा कारोबार रकम घटेको भने होइन । यसबीचमा लगानीकर्ताको मनोबल खस्काउने विभिन्न कारकले काम गरेको स्वयम् लगानीकर्ता बताउँछन् । आफूहरुसँग लगानी गर्ने रकमको अभाव भएको, बुकिङ क्लोज इफेक्ट, ब्याजदर कम नभएका कारण नै लगानीकर्ता हौसिन नसकेको उनीहरुको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लगानीकर्ताले आन्दोलनमार्फत् राखेका मागलाई मुद्रा बजार तथा पूँजी बजारको अध्ययनको लागि गठित उच्चस्तरीय समितिले सम्बोधन गर्दै सम्बन्धित निकायको नामै किटान गरेर उक्त माग पूरा गर्न निर्देशन दिएको थियो ।

नीतिगत व्यवस्था भइसक्दा नेप्से अनलाइन कारोबार सुरु हुने पूर्वसन्ध्यामा परिसूचक दोहोरो अंकले घटेको थियो । नेप्सेले मंगलबारदेखि ‘बैंक इन्ट्रिगेसन’ सहितको अनलाइन कारोबार सुरु गरेको हो । उक्त दिनदेखि लगानीकर्ताले खरिदबिक्रीको आदेश घरमै बसेर दिन सक्छन् भने उनीहरुको कारोबार रकम पनि बैंकखातामै जोडिने वा घट्ने छ ।
सोदिन घट्नुको कारण लगानीकर्ताले बैंककहरुले ऋण दिन नसकेको तथा ब्याजदर उच्च हुनुको कारण रहेको विश्लेषण गरिएको थियो । सोही समय नेप्सेमा सूचीकृत कम्पनीहरुले बोनसका लागि बुकिङ क्लोज गरेका थिए । जसका कारण बजारमा केही दिन उत्साह देखिएन । नेप्सेले पनि केही कम्पनीहरुको मूल्य समायोजन गर्यो । मूल्य समायोजन भएपछि लाभांश नपाइने भएका कारण माग नबढेको जानकार बताउँछन् ।

सोही समयमा केही लगानीकर्ताले बजार परिस्थिति ठीक हुँदाहुँदै पनि चलखेल गर्न चाहनेले बजार घटाएको आरोप लगाए । सबै ठीकठाक चलिरहेको बजारमा कारोबार गर्नेको संख्या घट्नु र नेप्से पनि सोही समयमा ओरालो लाग्नुले चलखेल गर्ने हाबी भएको आरोप उनीहरुको छ ।

कारोबार सकिन एक दिनमात्र बाँकी रहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई सेयर बजारका लागि आवश्यक व्यवस्था गर्न निर्देशन दियो । तर, पहिलो दिनदेखि नै घट्न थालेको सेयर बजार घट्ने क्रमलाई उक्त सम्बोधनले पूर्णविराम लगाउन सकेन ।

बोर्डले बैंकलाई ब्रोकरको लाइसेन्स दिने तथा टी+३को राफसाफलाई टी+१मा ल्याउने लगायतका निर्देशन दिए पनि बजारमा कुनै प्रभाव परेन । यही सिलसिलामा बिहीबार अर्थात् लगातार पाँचौं दिन पनि नेप्से घटेर बन्द भयो ।

किन यस्तो भयो ?
अर्थमन्त्रीद्वारा गठित कार्यदलले पुँजीबजार सुधारका लागि दिएको सुझावअनुसार राष्ट्र बैंकले तत्कालका नीतिगत सुधार औजार कार्यान्वयनले उत्साहित भएका लगानीकर्ताको खुसी यससाता देखिएको छैन । यही महिनाभित्र सरकारी ढुकुटीमा भित्रिने करले निम्त्याउने रकम अभाव र ब्याजदर घटाउन भइरहेको आनाकानीले लगानकर्तालाई पिरोलेको छ ।
चालू आवको दोस्रो त्रैमास बित्नै लाग्दा लगानीकर्ताहरुलाई बैंकको साँवा र ब्याज तिर्ने चटारो पनि उस्तै छ । यही कारणले अहिले नयाँ सुधारका व्यवस्था निल्नु न ओकल्नु बनेको छ । किनकी लगानीकर्ता चाहेर पनि लगानी गर्न सकेका छैनन् ।

पुस मसान्तमा करलगायतका रकम सरकारी खातामा जाने गर्छ । यसबेला लगानीकर्तासँग कारोबार गर्ने रकम अभाव हुनु र मनोबल नबढ्ने हुँदा बजारमा प्रभाव पर्ने गरेको छ । जानकारहरुले पनि बजारले गति लिन नसक्नुको कारण यीनै विषय औंल्याएका छन् ।

अर्कोतर्फ पछिल्लो समय बजारमा अल्पकालिन नाफा बटुल्ने लगानीकर्ता हाबी रहेका छन् । केही दिनमै करिब १ सय अंकले बढेको बजारबाट उनीहरुले ‘प्रोफिट बुक’ गर्न खोज्दा बजारमा करेक्सन देखिइरहेको छ ।

नेप्सेले गत मंसिर २३ गतेदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड उपलब्ध गराएको थियो । तर, बैंक इन्ट्रिगेसन थिएन । ब्रोकरले आफ्नो जोखिममा ६ सय जनालाई युजरनेम र पासवर्ड उपलब्ध गराएका थिए । हाल दैनिक १२–१५ जनाले मात्र अनलाइन कारोबार गर्दै आएका छन् ।

के भन्छन् लगानीकर्ता ?
नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्साल बजार सुधारका कारकहरु सबै ठीकठाक भएपनि बजार घटिरहेको बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै उनले एक साताअघि राष्ट्र बैंकको सुधारले परिसूचक बढेपनि अहिले उच्च अंकले घटिनहालेको तर सुस्त रहेको बताए । उनका अनुसार साताभर नेप्से घट्नुको कारण अन्य वर्ष झैं ‘पुस मसान्त’ नै हो ।
दोस्रो त्रैमास सकिन १० दिनमात्र बाँकी रहँदा केही तत्वले बजारमा प्रभाव पारेको उनको भनाइ छ । यो अवधिमा कर्जा लिएर सेयर बजारमा लगानी गर्ने लगानीकर्ता बैंकमा तिर्ने साँवा र ब्याजको जोहो गर्ने गर्छन् । उनले भने, “यसका साथै सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको प्रगति विवरण प्रकाशित हुनै लाग्दा लगानीकर्ता ती कम्पनीको ग्रोथ र उनीहरुले दिने प्रतिफलको आधारमा लगानी गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् ।”

अर्कोतिर राष्ट्र बैंकले जति सुविधा दिए बजारमा तरता टाइट रहेको उनले दाबी गरे । यसका कारण लगानीकर्ताले कर्जा पाउन सकिरहेका छैनन् । यिनै कारण बजारमा गति नदेखिएको उनको भनाइ छ ।

नयाँ व्यवस्था कार्यान्वयनमा आउने समयमा यसरी नै भ्रम सिर्जना हुन गई के होला,कसरी अभ्यस्त हुने भन्ने जस्ता कुरा लगानिकर्तामा परेको सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलको अनुभव छ । “डिम्याट कार्यान्वयन गर्ने समयमा पनि उक्त व्यवस्थालाइ लिएर पनि लगानीकर्ताको मनोवल केही खस्किएको थियो,” बाह्रखरीसँग उनले भने, “नयाँ व्यवस्था सुरक्षित हुने र प्रविधि मैत्रि हुने भएपनि शुरूमा मनोविज्ञानले लगानीकर्तालाई प्रभाव पर्न जान्छ ।”

अनलाइन प्रणालि प्रविधिमैत्री भएको र यसप्रति अभ्यस्त हुनुपर्ने भएकोले यसमा अभ्यस्त हुन केहि समय लाग्ने कारणले आम लगानीकर्तामा आशंका उब्जिएको हो । उनले भने, “यसको कारण लगानीकर्ता स्वयम् वा यससम्बन्धमा सुसूचित बनाउने निकायको कमजोरी पनि हुनसक्छ ।” यसैगरी दोस्रो त्रैमास अन्त्यको प्रभाव पनि बजारमा परेको हुनसक्ने उनको ठम्याइ छ । ‘

'प्यानिक’ नहुन सुझाव 

बजार घटिरहँदा लगानीकर्ता मारमा परेका छन् । तीमध्ये कतिले आफ्नो दुःख देखाउन सकेका छैनन् भने कोही सार्वजनिक रुपमा प्रस्तुत भइसकेका छन् । अनुभवीहरुले भने सबै व्यवस्था ठीकठाक रहेको समयमा नआत्तिन आग्रह गरेका छन् । केही दिनको तलमाथिलाई अहिले घट्छ भनेर भ्रम छर्नु अर्थहीन भएको दावी उनीहको छ ।

फुल्लेल पनि लगानीयोग्य रकम सकिएको हो कि भन्ने शंका लगानीकर्तामा परेको हुनस्क्ने बताउँछन् । फुल्लेलले थपे, “तर, लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था छैन । किनकी सरकारी स्तरबाट सुधारका कदम चाल्न सुरु भइसकेका छन् ।

यस्तो रह्यो साता
कारोबार रकम आधाभन्दा कम, लगानीकर्ताको आर्धा खर्ब ‘चैट्’

साताको पाँचै दिन घट्दा नेप्से परिसूचकमा साताभर ३७ दशमलव १५ अंकको गिरावट देखिएको छ ।

अघिल्लो साताभर कूल १७ अंकले बढेको सेयर बजार पहिलो दिनै ३२ दशमलव २४ अंकले बढेर ११ सय ९८ दशमलव १८ को बिन्दुमा कायम भएको थियो । आइतबारको सुधार पछिल्लो ६ महिनाकै उच्च सुधार हो । 

मंगलबार र बुधबार भने कार्यदलको कार्यान्वयनले दिशा नलिँदा लगानीकर्तामा कन्फिडेन्स कायम हुन सकेन । यद्यपि गत शुक्रबारदेखि बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेका थिए । जसको प्रभाव आइतबारभन्दा पछि पर्न सकेन ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा नेप्से ३ दशमलव शून्य ६ प्रतिशतले घटेर परिसूचक १ हजार १ सय ७८ दशमलव शून्य १ अंकमा पुगेको छ । 
नेप्सेमा गिरावट आउँदा यससाता सेयर बजारमा कारोबार रकम पनि ह्वात्तै घटेको छ । यससाता बजारमा १ अर्ब ६१ करोड रुपैयाँका सेयर किनबेच भएका छन् । कारोबार रकम अघिल्लो साताभन्दा अमधाभन्दा कम (५८ दशमलव ८२) प्रतिशतले कम हो ।

नेप्सेका अनुसार यस साता बजारमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार २१ हजार ३ सय ६२ कारोबार भए । यसक्रममा ४६ लाख ५४ हजार कित्ता सेयर कारेबारमा आए । अघिल्लो साता बजारमा ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए । 

नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ४ प्रतिशतले घटेर २ सय ४९ दशमलव ८६ अंकमा आइपुगेको छ ।

नेप्से बढ्दा घट्दा यससता लगानीकर्ताले ४९ अर्ब रुपैयाँ गुमाएका छन् । अघिल्लो साता ६४ अर्ब फिर्ता पाएर खुसी  भएका लगानीकर्ताको कूल सम्पत्तिमा ४९ अर्ब ३० करोड रुपैयाँ बढेको हो । अघिल्लो साताको अन्तिम दिन १४ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ रहेको कूल बजार पुँजीकरण साताको अन्तिम दिन १४ खर्ब ८ अर्ब १४ करोड रुपैयाँमा कायम भएको छ ।

यससाता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीका साताभर १० करोड १६ लाख ४० हजार रुपैयाँका ९३ हजार कित्ता सेयर किनबेच भए । सेयर संख्याको आधारमा नेपाल बैंक शिर्ष स्थानमा रह्यो । कारोबार संख्यामा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो ।

यससाता नेप्सेमा चौतारी लघुवित्तका १८ लाख ६० हजार कित्ता प्राथमिक सेयर सूचीकृत भए ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १६:३१
प्रतिक्रिया दिनुहोस्