site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी सम्मेलनका लागि भोलि तीनवटा विधेयक संसदमा पेश हुँदै, प्रकृयामा गए फागुन २७ सम्ममा टुंगिने

काठमाडौं । लगानी सम्मेलन तयारीका क्रममा रहेको सरकारले वैदेशिक लगानी भित्र्याउने तीनवटा महत्वपूर्ण विधेयक संसदमा पेस गर्ने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना गर्न लागेको लगानी सम्मेलनका लागि वैदेशिक लगानी भित्र्याउने कडीको रुपमा ती विधेयक पेश गर्न लागेको हो ।
मंगलबार १ बजे बस्ने प्रतिनिधि संसदको तेस्रो अधिवेसनको ३३ औं वैठकमा उक्त तीनवटा विधेयक पेश हुन लागेका हुन् ।

मंगलबारको संसद वैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५” प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफ गार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ पेस गर्नेछन् ।

मंगलबारको सांसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्दैछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, फागुन २१ गते नै अधिवेसन सकिने अपेक्षा गरिएपनि हाउस अझै लम्बिने भएको छ । वैदेशिक लगानी आकर्षण गर्न महत्वपूर्ण नियम आउन बाँकी नै रहेका कारण हाउस लम्बिने निश्चित भएको हो ।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फागुन ११ गते सेफ गार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ विधेयक संसदमा दर्ता गरेको थियो । वैदेशिक लगानी आकर्षण गर्ने सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फागुन १४ गते र सोही दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक संसदमा दर्ता गरेको थियो ।

यसैबीच, भोलिमात्रै विधेयक पेस हुने भएका कारण संसद अझै लम्बिन सक्ने संसद सचिवालयले जनाएको छ । सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार विधेयक पेस भएपछि प्रक्रियामा जाने भएकाले संसद लम्बिन सक्नेछ । 

यसो त संसदले फास्टट्र्याक अपनाएर विधेयक पास पर्ने कुरा बाहिर आएको थियो । यसविषयमा बाह्रखरीसँग पाण्डेले भने, “फास्टट्र्याकको कुरा अहिलेसम्म जानकारीमा आएको छैन । भोलि संसद वैठकले त्यसबारे निर्णय गर्नेछ ।”

यसैबीच संसदको कार्य सञ्चालन नियमावलीका केही नियम संशोधन गर्न लागिएको छ । सचिवालय स्रोतका अनुसार सभामुखले आइतबार संसदका पदाधिकारीलाई बोलाएर फास्टट्रयाकमा ऐन पारित गराउने तयारी थाल्न निर्देशन दिएका छन् ।

स्रोतले भन्यो, “फास्टट्र्याकमा गए २१ गते नै र प्रकृयामा गए संसदबाट  फाुगन २७ सम्ममा पूरा हुन सक्नेछ । यसकै लागि संसदको चालू अधिवेशन लम्बिन समेत सक्नेछ ।  तैपनि कति समय लाग्छ यकिन भन्न सकिँदैन ।”

लगानी सम्मेलनका लागि सरकारको तयारी तीब्र छ । यसका लागि अर्थमन्त्री र परराष्ट्रमन्त्री विदेश भ्रमणमा निस्किएर लगानीका लागि आह्वान गरेका छन् भने सरकारले पनि विदेशी कुटनितिक निकायलाई बोलाएर ब्रिफिङकार्य जारी राखेको छ ।

फाइल तस्बिर

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १२:२६
प्रतिक्रिया दिनुहोस्