site stats
बाह्रखरी :: Baahrakhari
खेल
सेमिफाइनलमा टिसी स्पोर्टसविरुद्ध खेल्न मनाङ तयार 

काठमाडौं । बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको पहिलो सेमिफाइनलमा सोमबार नेपालको लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबले माल्दिभ्सको टिसी स्पोर्टस्को सामना गर्दैछ । 

नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टिसी स्पोर्टस र मनाङबीचको पहिलो सेमिफाइनल नेपाली समयअनुसार साँझ ६ः१५ बजेपछि चितगोङस्थित मोहम्मद अजिज रंगशालामा सुरु हुनेछ । मनाङ प्रतियोगिताको बलियो मानिएको टिसी स्पोर्टसलाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ  ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“टिम शारीरिक र मानसिक रूपमा टिसीविरुद्ध खेल्न तयार छ । हामी नियमित समयमै जित निकाल्ने लक्ष्यका साथ मैदान ओर्लनेछौं,” आइतबार चिगोङमा भएको प्रि म्याच कन्फरेन्समा मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने, “हामीले यसअघि समूह चरणमा पनि राम्रै खेलेका थियौं । तर, हामीले सेमिफाइनल प्रवेशका लागि अर्काे खेलको नतिजा कुर्नुपर्यो । दुवै टोली समान रहेकाले मौकालाई सदुपयोग गर्न सक्ने टिम नै अघिल्लो चरणमा प्रवेश गर्छ ।”  त्यस्तै, प्रशिक्षक गुरुङले माल्दिभ्सको टिसी स्पोर्टस् क्लब केही विदेशी खेलाडीहरुको साथले राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए । 

प्रतियोगिताको समूह बी मा रहेको मनाङ उपविजेता तथा टिसी स्पोर्टस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । एक खेलमा जित, एक हार र एक बराबरी खेलेको मनाङले हेड टु हेडमा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पारेको थियो । मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेनलाई २–० ले पराजित गरेको थियो ।

दोस्रो खेलमा अफगानिस्तानको शाहिन आस्मायीसँग ३–१ ले पराजित भएको मनाङ समूह चरणको अन्तिम खेलमा आयोजक चितगोङ अवहनी लिमिटेडसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । माल्दिभ्सको टिसी स्पोर्टसले पहिलो खेलमा ढाका अवहनी लिमिटेडलाई १–० ले तथा दोस्रो खेलमा किर्गिस्तानको एफसी आल्गालाई २–१ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने टिसी स्पोर्टस् दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । 

टिसी स्पोर्टससँगको खेलअघि मनाङका कप्तान अनिल गुरुङ खेलाडीले आफ्नो मेहनत देखाए टोलीको जित निश्चित रहेको बताउँछन् । टिसी स्पोर्टस उत्कृष्ट टिम रहेकाले सोमबारको खेल प्रतिस्पर्धात्मक हुने बताउँदै कप्तान गुरुङले भने, “हामीसँग आठ जना राष्ट्रिय खेलाडी, तीन विदेशी र केही युवा खेलाडीको समिश्रण छ । पक्कै पनि टिम राम्रो बनेको छ,” कप्तान गुरुङले थपे,  “खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे टिम फाइनलमा पुग्न सक्छ ।” यस्तै अनिलले अघिल्लो वर्ष भारतमा भएको साग गेम्समा माल्दिभ्सलाई हराएको स्मरण गर्दै यसपटक मनाङको टिममा टिमवर्क राम्रो भएकोले जित्न सकिने बताए । 

प्रतियोगिता अन्तर्गत नै सोमबार दोस्रो सेमिफाइनलमा मंगलबार समूह ‘बी’ को विजेता चितगोङ र समूह ‘ए’ को उपविजेता दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल मार्च ३ मा हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार अमेरिकी डलर तथा उपविजेताले १५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
तस्बिर : एनएसजेएफ
 

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  १५:३२
प्रतिक्रिया दिनुहोस्