site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
क्लिन फिड : सामाजिक सञ्जाल र यथार्थ

काठमाडौं । केवल टेलिभिजनवालाहरुले सरकारको विरोधस्वरुप २४ घण्टा विदेशी विज्ञापन प्रशारण हुने विदेशी च्यानल प्रशारण भएनन् । सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागु गर्ने भएपछि २४ घण्टा नेपालीको टेलिभिजन ब्ल्याकआउटझैं बनेको हो ।

विदेशी च्यानल नआउँदा मनोरञ्जनप्रेमी नेपाली दर्शक रिमोट हातमा लिएर ‘कुन कुन च्यानल आउँदो रहेछ’ भनेर चेक गरे । कार्टुन मन पराउने बालबच्चा केही खिन्न भए, खेल मन पराउने युवापुस्ताले मोबाइलमा स्कोर चेक गरे, विदेशी संगीत पारखी यूट्युबमा रमाए ।

कारण, इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रनु ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र विज्ञापनरहित विदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागु गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका वितरकले २४ घण्टा विदेशी च्यानल बन्द गरिदिए र भने, “यो सांकेतिक विरोध हो । उपभोक्तालाई क्लिन फिड कस्तो हुन्छ भनेर डेमो देखाएका हौं ।”

तर, आम नेपालीलाई यसरी एकदिनको लागि च्यानल काट्ने कुरा पटक्कै मन परेको छैन । किनकि अग्रिम भुक्तानी गरेर च्यानल हेनुपर्ने बाध्यतामाथि वितरकले अर्को बोझ थपेका छन् ।

हुन पनि करोडौं रुपैयाँ अग्रिम भुक्तानी असुल गरेका उनीहरुले उपभोक्तालाई अन्याय गरेको उपभोक्ताको आरोप सत्य हो । यो अवस्थामा प्रश्न उठेको छ, “एक दिन च्यानल काटेकोमा केवल टीभी वितरकले उपभोक्तालाई अर्को एक दिन निःशूल्क उपलब्ध गराउला त ?”

किनकि सेवा प्रदायकले उपभोक्तसँग टीभी हेर्ने शूल्क अग्रिममा उठाउँछन्, घुर्की देखाउँछन् र च्यानल काटिदिन्छन् । र, भन्छन्, “एक दिन टीभी हेर्न नपाउँदा उपभोक्ताले सरकारलाई साथ दिँदैनन् ।” तर, आम सर्वसाधारणलाई क्लिन फिड मन परेको छ । सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपूर्व यसरी टीभी काटिँदा शूल्क तिरेर पनि टीभी हेर्न पाएनन् उनीहरुले ।

क्लिन फिड आएपछि जेसुकै होस् तर, त्योभन्दा अघि शूल्क लिएर पनि सुविधाबाट बञ्चित हुने उपभोक्ताको माग छ, “त्यसो भए २४ घण्टा टीभी काटेपछि सेवा प्रदायकले अर्को २४ घण्टा निःशूल्क टीभी हेर्न दिन्छन् त ?” 
यसैगरी सामाजिक सञ्जालमा पनि क्लिन फिडका बारेमा फरक मत देखिएका छन् ।

“केवल टीभीवालाले क्लिन फिडको विरोध गर्नुका कारण एक दिनका लागि मज्जासँग नेपाली च्यानल हेरियो, कतिपयले त बन्दै गरे होलान् ।”, “नेपाली टेलिभिजन पनि रमाइला हुने रहेछन् ।” यी शब्दहरु गत २४ घण्टामा समाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिका केही प्रतिनिधि हुन् ।

सामाजिक सञ्जालमा धेरैजसोले सरकारको यो नीतिलाई साथ दिएका छन् । उनीहरुले नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु विज्ञापनरहित हुनु हाम्रो लागि राम्रो भएको टिप्पणी गरेका छन् । यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको हित हुने उनीहरुको बुझाइ छ ।

क्लिन फिडलाई स्वदेशी सञ्चार माध्यमको नाफाको बिषय मात्रै नभएको उनीहरुको बुझाइ छ ।

यो राष्ट्रियता र स्वाभिमानको विषय पनि रहेको सामाजिक सञ्जाल प्रयोगकर्ताको बुझाइ छ । क्लिन फिड लागु भएपछि बहुराष्ट्रिय कम्पनीहरू आफ्नो विज्ञापन नेपालमै निर्माण गर्नेछन् । विज्ञापन निर्माणमा नेपाली कलाकार सहित सबै नेपालको प्रयोग हुनेछ ।

यसले विश्वबजारमा नेपाली मौलिकता र कलाकारको ‘ब्रान्डिङ’ समेत हुनेछ । त्यसलै टेलिभिजन वितरकको आन्दोलन राष्ट्रियताविरुद्धको आन्दोलन रहेको टिप्पणी उनीहरुको छ । राजेश राजले फेसबुकमा लेखेका छन्, “माटो विरोधी आन्दोलनको प्रतिरोध गरौं । माटोलाई माया गर्नेहरुले यो नीतिको दृढतापूर्वक समर्थन गरौं !”
क्लिन फिडको समर्थनमा फेसबुक र ट्वीटरमा सेयर भएको ट्रोल र मिमको संख्या पनि उल्लेख्य छ ।

सबैले एउटै कुरो इंगित गरेका छन्, “नेपालीलाई क्लिन फिड स्वीकार्य छ ।”

यद्यपी केहीले भने टेलिभिजन हेर्न नपाएको गुनासो सामाजिक सञ्जालमा पोखेका छन् । केहीले भने खुल्ला बजारमा प्रतिस्पर्धा गर्न स्वदेशी र विदेशी उत्पादनले बिनाकुनै रोकतोक विज्ञापन गर्न पाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

क्लिन फिड के हो ? विदेशी च्यानल क्लिन फिड भए के हुन्छ ?
नेपालमा क्लिन फिडको कुरा उठेको १० वर्षभन्दा बढी भइसकेको छ । क्लिन फिड भनेको विदेशी टेलिभिजन च्यानलमा विज्ञापन नआउनु हो । सरकारले ल्याएको नयाँ प्रावधानमा विदेशी विज्ञापन प्रशारण हुने विदेशी च्यानल नेपालमा विज्ञापनरहित प्रशारण हुनुपर्दछ । हाल नेपालमा विदेशी च्यानलमा विज्ञापन बज्दा विज्ञापन बजाएको शूल्क सरकारले पाएको छैन । यसको अर्थ उनीहरुले भारतीय टीभीमा गरेको विज्ञापन बिना कुनै खर्च नेपाली उपभोक्ता माझ पुग्दछ ।

सरकारले ल्याएको क्लिन फिडको अवधारणाअनुसार अब ती विदेशी विज्ञापन नेपालमा बज्ने छैन । यदी उनीहरुले विज्ञापन प्रशारण गर्न चाहेको अवस्थामा नेपालमै उत्पादन हुने विज्ञापन बजाउनुपर्ने छ । वा ती च्यानलको प्रशारण रोकिने छ । अर्थात् ठूला मल्टि नेसनल कम्पनीहरुले नेपालमा विज्ञापन गर्न छुट्टै बजेट छुट्याउनुपर्नेछ । वा कस्टुमाइज्ड विज्ञापन बजाउनुपर्नेछ । यसले नेपाली विज्ञापन बजारलाई टेवा पुग्नुका साथै विज्ञापन बजारको गुणस्तर बढ्छ ।

यसका साथै नेपाली स्थानीय कलाकारको उपस्थिति, स्थानीय स्रोतको अभावमा प्रविधिको आयात भइ विज्ञापनको गुणस्तर पनि बढ्नेछ । यसले नेपाली सम्पूर्ण अर्थतन्त्र र सांस्कृतिक आक्रमणलाइ नै रोक्न मद्दत पनि गर्दछ । अहिले विदेशी विज्ञापनसँग नेपाली सामानका विज्ञापन प्रतिस्पर्धा हुन नसक्दा नेपाली उत्पादन स्थानीय बजारमा बिक्न छाडेका छन् । यसको अर्थ नेपालमा उत्पादित सामग्री यहीँ खपत हुन सहज हुनेछ ।

नेपालमा क्लिन फिडको प्रावधान लागु हुनेवित्तिकै विदेशी टेलिभिजन च्यानलले आफ्नो कार्यक्रम नेपालको लागि छुट्टै बिना विज्ञापनसहित (वा विज्ञापनरहित) स्याटलाइटमार्फत् पठाउनुपर्छ । त्यसलाई नेपालका केबल टेलिभिजनहरुले किनेर यता प्रशारण गर्नुपर्छ । यसो गर्दा नेपालकै प्राविधिक र कलाकारले काम पाउँछन् । तर, क्लिन फिड आउपछि नेपाली टेलिभिजन च्यानललाई स्तरीय कार्यक्रम र विज्ञापन बनाउनुपर्ने चुनौती भने हुनेछ ।

तर, अहिले प्रशारण हुँदै आएको विदेशी च्यानल बन्द हुँदा तत्काल उपलब्ध हुँदै आएका खेलकुदलगायतका केही च्यानलमा भने असर पर्न सक्ने भन्दै केहीले असन्तुष्टि जनाएका छन् । यसको प्रभाव नेपाली युवापुस्तामा परेपनि नेपाली सेवा प्रदायकले ती सामग्रीको प्रसारण अनुमति खरिद गरेपछि सहज हुनेछ । यसका लागि केही समय भने लाग्न सक्छ ।

के भन्छन् नेपालका डिजिटल सेवा प्रदायकहरु ?

तर, नेपालका डिजिटल सेवा प्रदायक कम्पनीहरुले भने क्लिन फिड कुनै पनि दृष्टिकोणबाट सही नभएको बताउँदै आएका छन् । सरकारले राष्ट्रिय प्रशारणसम्बन्धी व्यवस्थामा राखिनुपर्ने प्रावधान विज्ञापन सम्बन्धी विधेयकमा राखेको र त्यसबारे सरोकारवालाई जानकारी नै नदिइएको उनीहरुको आरोप छ ।

केवल टेलिभिजनवालाहरुलाई केही विदेशी च्यानले आफूहरुले क्लिन फिड उपलब्ध गराउन नसक्ने जानकारी गराइसकेका छन् । यसअनुसार क्लिन फिड कार्यान्वयनमा आए ती च्यानल बन्द हुनेछन् ।

व्यवसायीले क्लिन फिडका कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने भएकाले खुल्ला सिमानाको फाइदा उठाउने, विदेशी डीटीएचको बजार बढ्ने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने अवस्था सिर्जना हुन सक्ने बताएका छन् ।
हाल नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ ।

 

 

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०७:३४
प्रतिक्रिया दिनुहोस्