
काठमाडौं । ल्हासामा सुन छ कान मेरो बुच्चै ! यो कुनै नयाँ उखान होइन । आम नेपालीको मुखमै बसेको यो उखान अहिले वास्तवमै व्यवहारमा उत्रिएको छ । सुनको भाउले आकाश छुँदा आम नेपालीका लागि सुन जोड्न एकपल्ट सोच्नुपर्ने भएको हो ।
हरेक दिन छापा, अनलाइन तथा टेलिभिजनमा सुनको मूल्य बढेको समाचारले आम उपभोक्तालाई सुन किन्न निरुत्साहित नै पारेको छ । तर, अफसिजनको वृद्धिका कारण उपभोक्तालाई निकै ठूलो असर भने परेको छैन । कारण, पछिल्लो तीन साता सुनको मूल्यमा अस्वभाविक वृद्धि भइरहँदा सुन बजार ठप्पप्रायः छ । र, आवश्यकतामा मात्र खरिद गरिने बहमूल्य धातुमा मूल्य बढेकै कारण आम नेपालीका आकर्षण नहुँदा व्यवसायी भने अहिले मलिन छन् ।
सुनको भाउ बढ्नु नेपालका लागि नयाँ भने होइन । एक दशकअघि केही हजार प्रतितोलामा पाउने सुन केही वर्ष अघिमात्र आधा लाख पुगेको हो । गत एक वर्षजस्तो ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य पछिल्लो तीन सातामा अस्वभाविक वृद्धि देखिन थालेको हो । अहिले बजारमा सुनको मूल्य पौने १ लाखको हाराहारीमा पुगेको छ ।
साउन २ गते प्रतितोला ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन साउन मसान्तमा साढे ६ हजार रुपैयाँ बढिसकेको छ । पहिलो दुई साता स्थिर देखिँदा पछिल्लो दुई सातामा भने सुनको मूल्य अस्वभाविक रुपमा बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिँदा नेपालजस्तो सानो बजारमा त्यसको प्रभाव पर्ने नै भयो । अमेरिकाको अन्य देशसँग बिग्रदो सम्बन्ध तथा त्यसले गिराएको अमेरिकी डलरको मूल्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढाएको छ ।
अमेरिकी डलर घट्दा अमेरिकाको फेडेरल रिजर्भ बैंकले निक्षेपको ब्याजदर ०.२५ प्रतिशतले घटाएको छ, सेयर मूल्य पनि खस्कँदो क्रममा छ । फलस्वरुपः लगानीकर्ताको आकर्षण सुनतर्फ छ । बढ्दो मागसँगै सुनको मूल्य चुलिएको हो । अमेरिका–इरान तनाव पनि उत्कर्शमा छ । चीन र अमेरिकाबीच व्यावसायिक द्वन्द्व छ । उत्तर कोरिया पनि केही टाढिएको छ ।
मंगलबार ७१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएर रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार घटेपनि बिहीबार पुनः वृद्धि भएर अर्को रेकर्ड बनायो । बिहीबार ७१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार हुँदैछ ।
सुनको तुलनामा शुक्रबार अमेरिकी डलरको विनिमय दर केही बढेको छ । सोही कारण सुनको मूल्य बढेन ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यले दिनैपिच्छे जस्तो नयाँ रेकर्ड कायम गरेको छ । यही साउन ३ गते प्रतिऔंस १४५२.६० डलर रहेको सुनको मूल्य त्यसयता निरन्तर बढेर शुक्रबार १५२१.१० डलर प्रतिऔंस पुगेको छ । हिजोमात्र प्रतिऔंस १५ सय २२ डलरमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो छ वर्षको उच्च हो ।
लगानीकर्ता सुनको लगानी गर्न थालेपछि सुनको मूल्य सन् २०१३ मेयता सबैभन्दा उच्च बिन्दुमा पुगेको हो ।
यसैकारण अहिले नेपाली बजारमा सुनको बिक्री ठप्पप्रायः भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन विश्वकर्मा बताउँछन् । बाह्रखरीसँग उनले भने, “बजार निकै स्लो छ । सुनको भाउ बढ्नु एउटा कारण हो । यो समय सुन व्यापारको लागि सिजन पनि मानिँदैन ।”
यो समय चाडपर्व पनि होइन । विवाहको लगन पनि खासै छैन । “सुनको भाउ पनि बढेकाले उपभोक्ताहरु सुन किन्न आउनै छाडे,” विश्वकर्माले सुनाए ।
यसो त भदौमा तीज छ । यसअघि सुन किन्न चाहने दिदीबहिनी बढेको मूल्यमा सुन किन्न कतिको इच्छुक देखिन्छन् त्यो हेर्न बाँकी नै छ ।
तर, माथि उल्लेखित समस्या समाधान भए सुनको मूल्य केही घट्न सक्ने विश्वकर्मा बताउँछन् । तर, दशैंसम्म केही भन्न सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय घटनाक्रमले तलमाथि भइरहने भएका कारण पनि अनुमान गर्न सक्ने अवस्था छैन ।