site stats
बाह्रखरी :: Baahrakhari
देश
अन्नपूर्णको मुहारमा सुर्योदयको सुनौलो गहना (तस्बिरहरु)

नेपालका लागि हिमाल नौलो कुरा होइन । हिमालय पर्वतले संसारमा नेपालको परिचय दिएको छ । तर, नेपालीकै लागि भने हिमाल नजिकै पुग्न त्यत्ति सजिलो छैन । 

मजस्तो तराईमा हुर्केकोले चिसा हिमालमा रहेको न्यानो सुन्दरतालाई कहिल्यै महसुस गर्न सकेको हुँदैन । पहाडमा हुर्केकाले टाढाटाढा देख्न सक्छन् तर हिमालको काखमा पुगेका हुँदैनन् । हिमाली भेगमा हुर्केकालाई भाग्यमानी ठान्नुपर्छ यो विषयमा ।

तातो मौसममा छल्न हिमालको सिरेटो खान मन लागेपनि विविध कारणवश त्यो सम्भव हुन सक्दैन । तर, शरद लागेपछि त्यो सम्भव हुन थाल्छ । पर्यटनका आयामको ‘सिजन’ सुरु हुन्छ । यही समयमै सम्भव हुन्छ, संसारमै चर्चाको विषय बन्ने मनोरम तथा साहशिक पदयात्रा गन्तव्य अन्नपूर्ण आधार शिविर (बेस क्याम्प) सम्म पुग्न ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कास्की जिल्लाको उत्तरपश्चिममा पर्ने अन्नपूर्ण बेस क्याम्प तीन दिनको पदयात्रामा पुग्न सकिन्छ । अन्नपूर्ण बेस क्याम्पबाट संसारकै अग्ला दश हिमालमध्ये तीन धौलागिरी, मनास्लु र अन्नपूर्णमात्र होइन, माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, निलगिरी, हिउँचुली, बाह्रशिखर हिमालहरुको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

यो एउटा यस्तो गन्यव्य हो जुन बाटो हिँडेर पदयात्री कहिल्यै थाक्दैन । किनकी, प्राकृतिक मनोरम, बादलभित्र लुकामारी खेल्ने हिमाल, पाइलैपिच्छे फेरिने उसको रुप, घना जंगल, पशुपन्छिको आवाज, छङछङ निस्किने मोदीखोलाको आवाजले यात्राका क्रममा मानवमस्तिष्क लठ्याउँछ ।

अनुपम प्राकृतिक छटा, अग्लाअग्ला झरना, हिउँ नै बग्ने मोदी खोला, बाटा छेउछेउमा फुल्ने फूलहरु सम्झँदा बाटका नाकै ठोक्किने उकालो बाटो, खुट्टा काँप्ने ओरालाले पैदा बिर्सिइन्छ । पदयात्रा सुरु गर्दा कोशौं टाढा देखिने माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण, हिउँचुली आँखै अगाडी आइपुग्छन् । झनै विशाल बनेर, झनै चिसो बनेर ।

यात्रामा बटुलिने तृप्तपनको सम्झना सिथिल भएको शरिरका लागि आमाको लोरीभन्दा कम हुँदैन । दिनभरीका गतिविधि सम्झँदै तपाईं निद्रादेवीको काखमा लुट्पुटिइसकिइन्छ ।

हो, यस यात्रामा देखिने प्राकृतिक छटाले जोकोही फिरन्ते नेपालबारे परिचित हुन्छ । ४ हजार १ सय ३० मिटरको उचाइमा रहेको आधार शिविरबाट ३ सय ६० डिग्रीमै देखिने हिमश्रृंखलाको बीचमा रहेको उपत्यकामा रहँदा तपाईंलाई ‘यही त हो जिउनु भनेको’ भन्ने भावना मनमा जागृत हुन्छ ।

त्योभन्दा पनि सन्तुष्टिको शिखरमा रहन्छ, माछापुच्छ्रे हिमालमा पर्ने सुर्यास्त र अन्नपूर्ण प्रथम हिमालमा पर्ने सुर्योदयका किरण ।

जसरी अघिल्लो दिन माछापुच्छ्रेलाई स्पर्श गर्दै सूर्यले बिदा लिन्छन् भोलिपल्ट बिहान त्यसरी नै अन्नपूर्ण प्रथम हिमालमा सुन्तले रंग सूर्यकिरण हिर्काउँछन् । उनी न्याना किरणको राप सहन नसकेर हिमालका जुराहरुबाट हिउँका पत्र पतपत उडेका देखिन्छन् ।

सूर्यका किरणले गोरा हिमालका मुहारमा सुनका गहना पहिर्याइदिन्छन् । अघिल्लो दिन बादलभित्र लुकेको हिमाल एकाएक आँखैअगाडि आइपुग्दा अचम्ममात्र होइन डर पनि लाग्छ ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  ११:०७
प्रतिक्रिया दिनुहोस्