site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चिनियाँ नाकामा सामान लिन गए १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । कोरोना भाइरसका कारण विगत एक महिनादेखि नेपालको चीनसँगको नाका बन्द रहँदै आएको छ । जसका कारण अर्बौं मूल्य बराबरका सामान चिनियाँ नाकामा रोकिएको व्यवसायी बताउँछन् ।

व्यवसायीहरूले चीनतर्फको नाकाबाट सामान ल्याउन दिने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् । यस विषयमा के गर्ने भन्ने विषयमा औपचारिक निर्णय भइसकेको पनि छैन । 

व्यवसायीहरूले ५० अर्ब बराबरको सामान चिनियाँ नाकामा रोकिएको बताउँदै आएका छन् । फलफूल र लसुनको मात्रै करिब ७० करोड रुपैयाँ बराबरको सामान एक महिनादेखि रोकिएको व्यवसायी कुमार पाण्डेले बताए । ती सामान आयात गर्न दिन व्यवस्था मिलाइन सरकारलाई आग्रह गरिरहेको उनले बताए । सरकारले पनि के गर्ने भन्ने विषयमा चिनियाँ पक्षसँग छलफल गरिरहेको जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामान लिन जाने ड्राइभरलाई १४ दिन क्वारेन्टाइनमा राखिने

चीनका अधिकारीहरूले चिनियाँ नाकामा रोकिएका सामान लिन जान सक्ने तर चीनको भूभागमा गएपछि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भनेका छन् । रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले हिजो चिनियाँ अधिकारीसँग भएको छलफलमा उनीहरूले सामान लिन आउने ड्राइभरलाई आफूहरूको जिम्मामा १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै नेपाल आउन दिने बताएको जानकारी दिए । 

उनले भने, “हामीले हिजो मात्रै चिनियाँ अधिकारीसँग रोकिएका सामान ल्याउन के गर्ने भन्ने विषयमा छलफल गरेका थियौं । उनीहरूले सामान लिन आउने ड्राइभरलाई १४ दिन र गाडीलाई पनि न्यूनतम ४८ घण्टा क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन् ।” उनले चिनियाँ अधिकारीसँग भएको छलफलबारे माथिल्लो निकाय र व्यवसायीलाई समेत जानकारी गराइसकेको बताए । 

“चिनियाँ अधिकारीले उनीहरूकै खर्चमा नेपालबाट सामान लिन जानेलाई १४ दिन क्वारेन्टाइनमा राखेपछि मात्रै फर्कन दिने बताएका छन् । यो विषयमा व्यवसायीलाई पनि अवगत गराएका छौं,” उनले भने ।

यता, व्यवसायी भने चिनियाँ पक्षले १४ दिने क्वारेन्टाइनमा राख्ने नभनेको बताउँछन् । व्यवसायी पाण्डेले सामान लिन जाने ड्राइभरलाई चिनियाँ पक्षले सिधै अस्पताल लैजाने र सामान लोड भएपछि तत्कालै नेपाल फिर्ता पठाउने भनेको बताए ।

यस्तै कृषि मन्त्रालयले पनि कृषिजन्य सामग्री आयात गर्दा क्वारेन्टाइन जाँचपास तत्काल नगर्न भनेकाले फलफूल, तरकारीमा चीन, इरान, कोरिया, इटाली र जापानबाट पशु तथा पशुजन्य विरुवा, विरुवाजन्य तथा खाद्य वस्तु आयातको सिफारिस नै रोक्का गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले यी पाँच मुलुकबाट कुनै पनि सामान आयात गर्न प्रतिबद्ध लगाइएको र तत्काल हट्ने सम्भावना नभएको बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १२:५६
प्रतिक्रिया दिनुहोस्