
काठमाडौं । कोरोना संक्रमणको त्रासले मुलुक लकडाउन भएको आज आठौं दिन भएको छ । लकडाउनका कारण दैनिक अत्यावश्यक वस्तुबाहेक अन्य व्यापार, व्यवसाय, उद्योग कलकारखाना बन्द छन् । यातायातका साधन चलेका छैनन् भने मुलुक ठप्प छ । तर, भारततर्फका भन्सार नाकाहरूबाट भने दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्ति भइरहेको छ ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले कुनै अवरोधबिना दैनिक अत्यावश्यक वस्तुहरू निरन्तर आइरहेको बताए । व्यापार व्यवसाय बन्द भएका कारण अन्य वस्तुहरूको आयात नभए पनि पेट्रोलियम पदार्थ, खाद्यान्न, फलफूल, तरकारी, गेडागुडी एवं दलहन सामग्री, दूधजन्य पदार्थ सहज रूपमा आइरहेको विभागले जनाएको छ ।
औषधिको कच्चा पदार्थ र तयारी औषधिको आयात भने ज्यादै न्यून मात्रामा आयात भएको विभागको तथ्यांक छ । मुलुक लकडाउन भएको गत चैत ११ गतदेखि चैत १७ (हिजो) सम्मको विभागको तथ्यांकअनुसार ९ हजार २ सय ६७ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । यस्तै ३ हजार ३ सय ९६ किलोलिटर डिजेल, ३ हजार २ सय किलोलिटर पेट्रोल आयात भएको छ ।
यस अवधिमा १३ हजार ३ सय ४२ मेट्रिक टन खाद्यान्न, ६ हजार २ सय ८९ मेट्रिक टन तरकारी, ३ हजार ८ सय ५८ मेट्रिक टन गेडागुडी आयात भएको विभागको तथ्यांक छ । यसैगरी ८ सय ७३ मेट्रिक टन फलफूल र ७ मेट्रिक टन दूधजन्य पदार्थ आयात भएको छ । यस अवधिमा ३ करोड ३ लाख रुपैयाँको मात्र औषधिको कच्चा पदार्थ आएको छ भने २६ करोड ४१ लाख रुपैयाँको तयारी औषधि आयात भएको विभागको तथ्यांक छ ।
दैनिक अत्यावश्यक सामग्री निरन्तर रूपमा आएकाले आत्तिनुपर्ने अवस्था नभएको विभागका महानिर्देशक दाहालले बताए । उनले अन्य दिनमा जस्तै सामान्य परिमाणमा अत्यावश्यक सामग्री आइरहेको बताए । “अहिले हामीलाई दैनिक रूपमा अत्यावश्यक जे सामान चाहिएको छ, त्यो नर्मल रूपमा आइरहेको छ ।” उनले भने, “तर, अहिले नचाहिने सामानहरू भने आएका छैनन् ।”
टेलिकमका टावरहरू, जलविद्युत् आयोजनाका सामान, गाडीहरू जुन हाई भ्यालु भएका सामानहरू मात्रै नआएको उनले बताए । उनले भने, “लकडाउनभरि नचाहिने सामानहरू मात्रै नआएका हुन् । त्यसैले आत्तिनुपर्ने अवस्था छैन ।”
यता, चामल, दाल, मैदा, आँटा, तेललगायत दैनिक उपभोग्य खाद्यान्न देशमै स्टक रहेकाले पनि आम उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको उद्योगी व्यवसायी बताउँछन् । दैनिक उपभोग्य खाद्यान्न उत्पादन गर्दै आएको केलएल दुगड गु्रपका प्रबन्ध निर्देशक कुमुद दुगडले आफ्ना १८ टा शाखाबाट आपूर्ति भइरहेको बताउँछन् ।
केही स्थानका उद्योगमा श्रमिक काम गर्न आउन नमानेर समस्या भए पनि सकेसम्म श्रमिकलाई फकाएर भए पनि उत्पादन गरिरहेको उनले बताए । उनले करिब १५ दिनका लागि खाद्यान्नका लागि आत्तिनुपर्ने अवस्था नरहेको बताए । तर, कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने भएकाले कच्चा पदार्थ ल्याउने व्यवस्था भने सरकारले मिलाइदिनुपर्नेमा उनले जोड दिए ।
यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि दैनिक अत्यावश्यक खाद्यान्न स्टक रहेको र आपूर्ति पनि निरन्तर रूपमा भइरहेको जनाएको छ । नुन, चिनी, तेललगायतका खाद्यान्न साल्ट टेड्रि«ङ कर्पोरेसनसँग पनि मौज्दात रहेको जनाएको छ । मन्त्रालयले देशका विभिन्न भागमा मौज्दात रहेका खाद्यान्नको परिणाम पनि सार्वजनिक गर्दै आएको छ भने बिक्री वितरण पनि सार्वजनिक गरेको छ ।
मन्त्रालयले हाल वेयर हाउसमा १ लाख २० हजार ३ सय ९१ मेट्रिक टन नुन मौज्दात रहेको र ४५ हजार मेट्रिक टन आयातको क्रममा ट्रान्जिटमा रहेको जनाएको छ । यस्तै चामल तथा धान गरी २३ हजार १ सय ७९ मेट्रिक टन मौज्दात रहेको जनाइएको छ । ५ सय मेट्रिक टन चामल तथा धान आपूर्तिको क्रममा समेत रहेको जनाएको छ ।
मन्त्रालयले विभिन्न जिल्लामा समेत रहेको मौज्दातले आगामी ३ महिनाका लागि माग धान्ने गरी चामल रहेको पनि जनाएको छ । यस्तै तिते फापर र जुम्लाको सिमी पनि मौज्दात रहको जनाइएको छ ।
सरकारसँग चिनी, नुन, चामल, धानलगायतका अत्यावश्यक खाद्यान्न पर्याप्त रहेको जनाएको छ । मन्त्रालयले चैत्र १४ देखि १६ गतेसम्म ८७ हजार ६ सय ३० सिलिन्डर ग्यास उपभोक्तालाई वितरण गरिएको जनाएको छ । मौज्दातको अवस्था र निरन्तर रूपमा आयात पनि भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सरकारले जनाएको छ ।