site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भ्रमण वर्ष स्थगित, वैशाखमा सचिवालय विघटन 

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० औपचारिक रूपमै स्थगित गरेको छ । अघिल्लो मन्त्रिपरिषद्को बैठकले भ्रमण वर्ष स्थगित गर्ने र सचिवालय विघटन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

उनले ट्विट गर्दै कार्यक्रम स्थगित भएको र सचिवालय विघटनको निर्णय भएको जनाएका छन् । कोरोनाका कारण भ्रमण वर्ष कार्यक्रमलाई अगाडि बढाउन नसकिने भएकाले अघिल्लो मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको उनले बताए । “अरू कारणले भ्रमण वर्ष स्थगित गरिएको होइन” उनले भने, कोरोनाका कारणले नै स्थगित गरिएको हो ।” यसअघि सरकारले अप्रिलसम्मका लागि मात्र स्थगित भएको बताएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आगामी वैशाख १ गतेदेखि भ्रमण वर्ष सचिवालय पनि विघटन हुने बताए ।

सचिवालयको नेतृत्व सुरज वैद्यले गरिरहेका छन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी औपचारिक रूपमा उद्घाटन समेत गरेको थियो । सन् २०१९ को डिसेम्बरबाटै चीनमा देखा परेको कोरोनाले राष्ट्रि«य अभियान नै प्रभावित बनेको छ । 

सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि नेपालको पर्यटन क्षेत्रमा लगानी समेत बढेको थियो । विशेष गरी धेरै होटलहरू थपिएका छन् । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै भएको छ । होटल क्षेत्रले मात्रै मासिक २ अर्ब नोक्सानी व्यहोर्नु परेको नेपाल होटल संघकी अध्यक्ष सिजर्ना राणाले बताएन् । 

भ्रमण दशक मनाइने
भ्रमण वर्ष स्थगित गर्ने औपचारिक तयारी सरकारले गरेपछि पर्यटन मन्त्री योगेश भट्टराईले अब कुनै एक वर्षलाई मात्रै भ्रमण वर्ष मनाउनुभन्दा एक दशकलाई नै भ्रमण दशका रूपमा मनाउनुपर्ने बताएका थिए । उनले दशक भ्रमण वर्ष मनाउँदा चाहिने पूर्वाधार पनि बन्ने र पर्यटन उद्योगबाट रोजगारी बढ्ने एवं कुल गार्हस्थ उत्पादनमा पनि यसको योगदान बढ्ने उनले बताएका थिए । 

सचिवालयलाई छैन जानकारी
अघिल्लो मन्त्रिरिषद्बाटै भ्रमण वर्ष स्थगित गर्ने र सचिवालय विघटन गर्ने निर्णय गरेको सरकारले सचिवालयलाई भने अझैसम्म औपचारिक जानकारी दिएको छैन । नेपाल भ्रमण वर्षका संयोजक सुरज वैद्यले यसबारेमा औपचारिक जानकारी नआएको बताए । उनले यो विषयमा सचिवालयसँग छलफल पनि नभएको बताए । उनले भने, “भ्रमण वर्ष स्थगित र सचिवालय विघटनको कुरा मैले पनि सुनें तर हामीलाई औपचारिक रूपमा जानकारी आइसकेको छैन ।”
 

प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १६:३१
प्रतिक्रिया दिनुहोस्