site stats
बाह्रखरी :: Baahrakhari
विशेष
लकडाउनका बेलामै भए ८२ वटा अन्तर्राष्ट्रिय उडान

काठमाडौं । मुलुकमा लकडाउनको समयमा पनि ८२ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । गत चैत्र १० गतेदेखि भएको लकडाउनका कारण नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान नभए पनि रेस्क्यु, कार्गो उडान भने हुँदै आएको छ ।

रेस्क्यु तथा कार्गो उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति प्राप्त गरेपछि मात्रै उडान हुन सक्छ । चैत्र १० देखि हालसम्म २३ वटा कार्गोसहित ८२ वटा अन्तर्राष्ट्रिय उडान भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

यसअवधिमा सबैभन्दा धेरै उडान गर्ने विमान कम्पनीमा नेपाल वायुसेवा निगम रहेको छ । यसअवधिमा निगमले २२ वटा उडान गरेको छ । लकडाउनको समयमै निगमले अष्ट्रेलियाको ब्रिसवेन, सिड्नमा समेत सिधा उडान गर्‍यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निगमपछि नेपालमा सबैभन्दै धेरै उडान गर्ने विदेशी विमान कम्पनीमा कतार एयरवेज रहेको छ । कतार एयरवेजले यसअवधिमा १४ वटा चार्टर उडानबाट यात्रु विभिन्न मुलुकमा लगेको छ ।

यस्तै हिमालयन एयरलाइन्सले पनि १३ वटा उडान गरेको प्राधिकरणले जनाएको छ । हालसम्म बुद्ध एयरले चार, टाइटन, एयर अरेविया, श्री एयरलाइन्सले ३।३ उडान गरेका छन् । यसैगरी ड्रुक एयर, इतिहाद, कोरियन एयरले २।२ वटा उडान गरेका छन् ।

लकडाउनको समयमा नेपालमा चार्टर उडान गर्ने अन्य विमान कम्पनीहरुमा कोरियन, चेक, मालिन्दो, मलेसियन, रोयल फ्लाइन्ट एयरलाइन्स मस्को, जर्ने एभियसन अमेरिका, श्रीलंकन एयरलाइन्स, थाइ लायन, एयर चाइना, चाइना साउर्थन, पाकिस्तानी एयरलाइन्स, चाइना एयर फोर्स, फ्लाइ दुबई, एयर इन्डिया, स्पाइसजेट र टर्किस एयरलाइन्सले पनि नेपालमा चार्टर उडान गरेका छन् ।

बेलायतीदेखि अमेरिकी विमान कम्पनीको नेपाल उडान

लकडाउनकै समयमा अमेरिकाको जर्नी एभियसनले डिप्लोमेटिक सहयोगका लागि नेपालमा चार्टर उडान गर्‍यो भने बेलायतको टाइटन एयरवेजले पनि नेपालमा तीन वटा चार्टर उडान गर्‍यो । यस्तै मस्कोको रोयल फ्लाइट एयरलाइन्सले पनि नेपालमा चार्टर उडान गरेको प्राधिकरणले जनाएको छ ।

श्री र बुद्धको अन्तर्राष्ट्रिय चार्टर उडान

आन्तरिक हवाई सेवा दिँदै आएको श्री एयरलाइन्सले लकडाउनकै समयमा अन्तर्राष्ट्रिय चार्टर उडान गर्‍यो । श्रीले सुडान, ट्युनिसिया र सिंगापुर उडान गरेको थियो । यस्तै बुद्ध एयरले पनि ढाका र दिल्लीमा चार उडान गरेका छन् ।

कोरियन एयरले लग्यो नेपाली कामदार

कोरियन एयरले नेपाली कामदारलाई कोरिया लगेको छ । नेपाल सरकारले रोजगारीमा नेपाल आएका नेपाली श्रमिकलाई कोरियान जान दिने व्यवस्था गरेपछि सोमबार कोरियन एयरले नेपाली श्रमिकलाई कोरिया लगेको हो ।

आज दुईवटा फ्लाइट

मंगलबार दुई वटा चार्टर उडान भएका छन् । हिमालयन एयरलाइन्सले स्वास्थ्य उपकरण दिन चीनको चान्चामा उडान गरेको छ भने टर्किस एयरलाइन्सले यात्रु दिएर स्तानबुल उडेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १३:२९
प्रतिक्रिया दिनुहोस्