
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै मुलुकभर लकडाउन भएको पनि ७२ दिन भइसकेको छ । लकडाउनका कारण कारोबार चौपट भएको र भोकमरीको अवस्था आउन सक्ने भन्दै सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न विभिन्न क्षेत्रबाट दबाब गइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो सम्बोधनका क्रममा पनि लकडाउनको मोडालिटी परिवर्तन गरिने बताएका थिए । तर, हालसम्म पनि लकडाउनको मोडालिटीमा परिमार्जन नगरिँदा निजी क्षेत्रले लकडाउनको उल्लंघन गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने भन्दै सरकारलाई सचेत गराउँदै आएको छ ।
केही जिल्लाका व्यवसायीहरुले त लकडाउन उल्लंघन गर्ने घोषणा समेत गरिसकेका छन् । यस्तो अवस्थामा अब पनि कोरोना संक्रमण नभएको, संक्रमण देखिए पनि नियन्त्रणमा रहेको र संक्रमण झन् बढ्ने सक्ने ठाउँ पहिचान गरेर लकडाउनलाई खुकुलो बनाउँदै लैजान निजी क्षेत्रले सरकारलाई बारम्बार सुझाव दिँदै आएको छ । लकडाउनलाई खुकुलो बनाउने नाममा जथाभावी नभई अवस्थाको पहिचान गरेर व्यापार व्यवसाय सुचारु गर्न दिन सुझाव दिँदै आएको निजी क्षेत्रले बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले लकडाउनले अर्थतन्त्र धान्नै नसक्ने अवस्थामा पुगेको बताउँछिन् । महासंघले उद्योगका लागि आवश्यक औद्योगिक कच्चापदार्थहरु उद्योगसम्म आउने तथा उत्पादित वस्तुको बजार व्यवस्थाका लागि थोक तथा खुद्रा व्यापारको गन्तव्यसमम आवतजावतका साथै निकासी व्यापारका लागि समेत ढुवानी व्यवस्थालाई स्थानिय प्रशासन, प्रदेश उद्योग वाणिज्य महासंघ, जिल्ला तथा नगर उद्योग वाणिज्य संघको समेत समन्वय तथा सहकार्यमा प्रभावकारी एवं सरलरुपमा व्यवस्था मिलाउन सुझाव दिएको छ । यस्तै लकडाउन पछि घरघरमा गएका श्रमिकलाई उद्योगसम्म आउने व्यवस्थाका लागि यातायात क्षेत्रलाई पनि विस्तारै खोल्दै लैजानुपर्ने सुझाव दिएको अध्यक्ष राणाले बताइन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अबका दिनमा पनि लकडाउन नखुले स्थिती भयाभह हुने बताउँछन् । “यत्तिका दिनसम्म लकडाउन भयो । आर्थिक कारोबार ठप्प छ । यहिबीचका सरकारले कर तिर्न मिति तोकेको छ ।” उनले भने, “संसारका अन्य मुलुकले पनि लकडाउन खोल्दै आएका छन, अब लकडाउनलाई खुकुलो बनाउनुको कुनै विकल्प छैन ।”
उनले लकडाउनलाई खुकुलो बनाउने भन्दैमा जथाभावी गर्न नभनेको समेत बताए । “अहिले कोरोनाको जोखिम हेरेर रेड जोन, एल्लो जोन र ग्रीन जोन हेरेर खोल्न भनेको हो” उनले भने ।
कोरोनाबाट धेरै प्रभावित भएर पनि भारतले आगामी ८ तारिख देखि ३।४ वटा क्षेत्रबाहेक खोल्ने निर्णय गरिसकेको भन्दै उनले नेपालले पनि कोरोना नदेखिएका क्षेत्रमा तत्काल कारोबार सुचारु गर्न दिनुपर्ने बताए । कोरोनाका कारण भन्दा पनि लकडाउनका कारण आत्महत्या गर्नेहरुको संख्या बढ्दो रहेको भन्दै उनले यसतर्फ सरकार निकै गम्भीर हुनुपर्ने बताए । चेम्बरले सरकारलाई कुनकुन व्यापार व्यवसायलाई तत्काल खोल्न दिने र कुन क्षेत्रमा नदिने भनेर लिखित रुपमै सरकारलाई सुझाव समेत दिइसकेको छ । चेम्बरको लकडाउन खुकुलो बनाउन दिएको सुझाव यस्तो छः
यस्तै निर्माण व्यवसायी महासंघलगायत अन्य विभिन्न संघ संस्थाले पनि लकडाउनलाई खुकुलो बनाउन माग गर्दै आएका छन् ।
निर्माण व्यवसायी महासंघले लकडाउनलाई खुकुलो बनाई अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको छ । कोरोनाको संक्रमण लामो समय सम्म रहने हुँदा अब लकडाउनलाई केही खुकुलो बनाउँदै उच्च सतर्कता अपनाई निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने महासंघले जनाएको छ ।
लकडाउनलाई खुकुलो बनाउँदै नलगे लकडाउन उल्लंघन गर्ने चेतावनी केही जिल्लाका उद्योगी व्यवसायीले दिएका छन् भने केही जिल्लामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा व्यापार व्यवसाय खोल्न पनि सुरु गरिसकेका छन् । यता, बैंक तथा वित्तीय संस्थाहरुले पनि लकडाउनको मोडालिटीलाई परिमार्जन गर्न र जोखिम कम भएका क्षेत्र हेरेर लकडाउनलाई खुकुलो बनाउँदै लैजान आग्रह गर्दै आएका छन् ।