site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राजस्वमा बियर उद्योगको अर्बौं योगदान, तर सरकारले उपेक्षा गर्‍यो

काठमाडौं । देशभर करिब एक दर्जन बियर उद्योग छन् । यी उद्योगले ५० भन्दा बढी ब्रान्डमा स्वदेशी बियर उत्पादन मात्र गरेका छैनन्, सरकारलाई वार्षिक अर्बौं रुपैयाँ राजस्व पनि बुझाउँदै आएका छन् । बियर उद्योगीका अनुसार यस उद्योगले समग्रमा वार्षिक ३५ अर्ब बढी राजस्व बुझाउने गरेका छन् । आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार पनि बियर उद्योगले आर्थिक वर्ष ०७५/७६ मा अन्त शुल्कबाट मात्रै १५ अर्ब ६२ करोड बुझाएको छ ।

पछिल्ला वर्षमा बियरको माग बढ्दै जाँदा राजस्वमा यसको योगदान पनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष ०७२/७३ मा ६ अर्ब ८६ करोड अन्त शुल्क बुझाएको यो उद्योगले आर्थिक वर्ष ०७३/७४ मा ८ अर्ब २९ करोड अन्त शुल्क बुझाएको देखिन्छ । यस्तै आर्थिक वर्ष ०७४/७५ मा ११ अर्ब १९ करोड बुझाएकामा गत आर्थिक वर्षमा बढेर १५ अर्ब ६२ करोड रुपैयाँ अन्त शुल्क बुझाएको छ । यो आर्थिक वर्षमा प्राप्त कुल अन्त शुल्कमा २५ प्रतिशत योगदान बियर उद्योग मात्रै रहेको देखिन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राज्यलाई अर्बौं रुपैयाँ राजस्व बुझाए पनि अन्य उद्योगसरह व्यवहार नगरेको दुखेसो बियर उद्योगीको छ । लकडाउनका कारण अन्यजस्तै बियर उद्योग पनि धरासायी भए पनि राज्यले अन्य व्यवसायलाई जस्तै गरी नहेरेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी बताउँछन् । “कोभिड १९ ले सबै उद्योगी व्यवसायीलाई असर पारेको हो । सबैको समस्या एउटै हो । कोरोनाको असर पनि सबैलाई एउटै छ तर राज्यले दिने सुविधा भने फरक–फरक रह्यो,” उनले भने । 

शेर्पा ब्रुअरीका प्रमुख कार्यकारी अधिकृत फुर्वा शेर्पा पनि मदिराजन्य व्यवसायीलाई ‘नेगेटिभ एटिच्युट’को व्यवसाय भनेर त्यहीअनुसारको मूल्याङ्कन गर्ने गरिएको बताउँछन् । राजस्व र रोजगारीका क्षेत्रमा यो उद्योगले धेरै योगदान पुर्‍याउँदै आए पनि राज्यले भने केही नगरिदिएको गुनासो उनको छ । “नेगेटिभ एटिच्युटको बिजनेस भएकाले अन्य व्यवसायलाई सहुलियत दिँदा हामीलाई यो भएन र त्यो भएन भनेर गुनासो गर्दैनौं,” उनले भने, “तर लगानीको कुरा हुन्छ, राष्ट्रको अर्थतन्त्रलाई पुर्‍याएको टेवाको कुराहरूलाई हेर्दा हामीलाई पनि राज्यले केही हेरिदिए हुन्थ्यो भन्ने लाग्छ ।”

रोजगारी सिर्जना र धेरै राजस्व बुझाउने बियर उद्योगलाई राज्यले बुझेर वा नबुझेरै उपेक्षा गरेको टाइगर बु्रअरीका अध्यक्ष तेजेन्द्र खड्काको भनाइ छ । “राज्यले नबुझेर पनि कसरी भन्ने कोभिड १९ प्रभावित क्षेत्र यो उद्योग पनि हो,” उनले भने, “यसलाई पनि अन्य व्यवसायसँगै अगाडि लिएर जानुपर्छ भन्नुपथ्र्याे, तर राज्यले अति आवश्यक व्यवसायमा नपर्ने भनेर बियर उद्योग चलाउन दिएन । यसले राजस्वका रूपमा राज्यलाई पनि ठूलो क्षति भयो ।” 

राज्यले भूमिका खेलिदिने हो भने अर्बौं रुपैयाँबराबरको बियर भारत निर्यात गर्न सकिने उनको भनाइ छ । व्यवसायीका अनुसार बियर उद्योगले प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा करिब एक लाख जनालाई रोजगारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:२७
प्रतिक्रिया दिनुहोस्