site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योगी र कर्मचारीमा बढ्दो त्रास, सुरक्षित रहनुको विकल्प छैन

काठमाडौं । कोभिड १९ को संक्रमण थप फैलिँदै जाँदा त्रास र भय बढ्दो छ । संक्रमितको संख्या बढ्दै जाँदा सरकारले औपचारिक रुपमा लकडाउन नभने पनि लकडाउनको जस्तै स्थिति देखिएको उद्योग व्यवसायी बताउँछन् । प्रदेश २ मा लकडाउन नै घोषणा गरिएको छ भने प्रदेश १ को विराटनगरलगातय ठाउँमा पनि लकडाउन घोषणा गरिएको छ । वाग्मती प्रदेशको नुवाकोटको केही क्षेत्रमा लकडाउन घोषणा गरेर सेना नै परिचालन गरिएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा उत्पादन गरिरहेका उद्योगीसहित कर्मचारी त्रसित छन् । कतिपय उद्योगमा कार्यरत कर्मचारी एवं श्रमिकमा कोरोना संक्रमण पुष्टि भएकाले पनि भय र त्रास बढेको उद्योगी व्यवसायी बताउँछन् । उद्योगी पशुपति मुरारका निश्चित उद्योगी व्यवसायी मात्रै नभई सबैमा भय र त्रासको वातावरण सिजर्ना भएको बताउँछन् । “सबैलाई भय र त्रासको वातावरण छ । भय र त्रासको वातावरणमा काम गर्न पनि गाह्रो छ,” उनले भने, “यस्तो अवस्था कुनै निश्चित उद्योगमा मात्रै होइन सबै क्षेत्रमा यही अवस्था छ ।” अहिलेको बेलामा डर मान्‍नु पनि स्वभाविक हो ।” डरकै कारण धेरैजसो कार्यालयमा ५० प्रतिशतभन्दा कम कर्मचारी आउने गरेका छन् । कतिपय उद्योगमा भारतबाट कामदार आउनुपर्नेमा डरकै कारण नआएको उनले बताए ।

सुरक्षित रहनुको छैन विकल्प
उद्योगी मुरारका भय र त्रासका बीचमा सुरक्षित रही उद्योग सञ्‍चालनको विकल्प नभएको बताउँछन् । “उद्योग नचलाउँ कसरी नचलाउने, चलाउँ कसरी चलाउने ?” उनले भने, “उद्योग चलाउँदा स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल पालना गरेका छौं । कतिपय ठाउँमा पूरा गर्न पनि गाह्रो पर्छ ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 

 

एउटा कुनै उद्योगमा कोरोना देखियो भने अन्य उद्योगमा झन् त्रास बढ्ने गर्छ साथै थप सुरक्षित तरिकाले चलाउनुपर्छ भन्‍ने पनि बनाउने गरेको उनले बताए । जति डर र त्रास भए पनि उद्योग बन्द गर्न नमिल्ने उद्योगी बताउँछन् । “सप्लाई चेनका लागि पनि उद्योग बन्द गर्न मिल्दैन, स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर उद्योग संचालन गर्नुपर्छ । तर, परिस्थितिले झन्-झन् गाह्रो बन्दै गएको छ,” उनले भने ।  

अर्का उद्योगी राजेशकुमार अग्रवाल लकडाउन समस्याको समाधान नभएको भन्दै पीसीआर परीक्षण बढाउनुपर्ने बताउँछन् । अहिलेको आवश्यकता लकडाउन भन्दा पनि ट्रेसिङ र ट्रिटमेन्टको भएको उनले बताए । “थ्री सी अर्थात् टेस्टिङ, ट्रेसिङ र ट्रिटमेन्ट बढाउनुपर्ने अहिलेको आवश्यकता हो,” उनले भने । उनले अहिलेको अवस्थामा सरकारले व्यापारको मर्म नबुझेको गुनासो पनि गरे ।

 

 

“बजार नभएपछि उत्पादन मात्रै गरेर के गर्ने ? उत्पादन मात्रै गरेर उद्योगमा सामान कतिदिन राख्‍ने ? पहिलो कुरा त उत्पादन भएको सामान विक्न पर्‍यो,” उनले भने, “बिक्नका लागि बजार पनि खुलेको हुनुपर्‍यो । पैसा आउनु पर्‍यो । यो सबै व्यवहार मिलाउनुपर्ने हुन्छ । तर सरकारले व्यापारको मर्म नबुझेको हो कि जस्तो लाग्छ ।” सरकारले लकडाउन नभनेपछि एक किसिमको लकडाउन नै रहेको उद्योगी व्यवसायीको बुझाइ छ । उत्पादन गर्ने तर बजार नखुल्ने स्थितिका कारण सरकारले लकडाउन नै घोषणा गरे हुनेसम्मको अवस्था पुगेको व्यवसायी बताउँछन् । “अहिलेको स्थिति हेर्दा त उद्योग बन्द गर्नु नै राम्रोजस्तो भएको छ,” अग्रवालले भने ।

उत्पादन छ, माग छैन
अर्घाखाँची सिमेन्ट उद्योगका सञ्‍चालकसमेत रहेको मुरारका उत्पादन भए पनि माग भने नरहेको बताउँछन् । “कोरोनाका कारणले माग कम भएको हो,” उनले भने, “उत्पादन एउटा पाटो हो अर्को माग छैन । त्यसले गर्दा समस्या आएको छ ।” श्री स्टीलका सञ्‍चालक अग्रवाल समग्रमा माग ५० प्रतिशतले घटेको बताउँछन् । “हरेक चिजको ५० देखि ६० प्रतिशत माग घटेको देखिन्छ । माग नभएपछि उत्पादन हुँदैन । उत्पादन गरेर मात्रै बजार छैन भने कति दिन सामान उद्योगमै राख्‍ने ?” उनी भन्छन् ।

मुस्किलले ४० प्रतिशत क्षमतामा चलेका छन् उद्योग, चलेकाले पाएनन् बजार

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १५:३८
प्रतिक्रिया दिनुहोस्