site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
 कोरोना असर : कति सम्भव छ उद्योगभित्रै क्‍वारेन्टिन ?

काठमाडौं । कोभिड १९ को संक्रमण फैलिदै गए पनि खाद्यान्न, सिमेन्ट, स्टील, पानीलगायतका उद्योग संचालनमा छन् । तर, संक्रमणको जोखिम यसरी बढेको छ की अब उद्योग कसरी चलाउने भन्ने दोधारमा उद्योगी व्यवसायी छन् । संक्रमण बढ्दै गएपनि उद्योग नै नचलाउने निष्कर्षमा भने उद्योगी छैनन् । तर, थप सुरक्षाका उपाय अपनाउनुपर्नेमा उनीहरु पनि सहमत छन् ।

सरकारले पनि उद्योग नचलाउने भनिसकेको छैन । तर, सुरक्षामा ध्यान दिन भने आग्रह गर्दै आएको छ । सुरक्षित तरिका उद्योग सञ्‍चालन गर्न सरकारले उद्योगभित्रै क्वारेन्टिन बनाउन र कामदारलाई बाहिर जान-आउन नदिन आग्रह गरेको छ । 

सरकारको उक्त आग्रह अहिलेको अवस्थामा सही भए पनि कतिपय उद्योगले उद्योगभित्रै क्वारेन्टिन बनाउन सक्ने अवस्थामा समेत नरहेका बताउँछन्, उद्योगी पशुपति मुरारका । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“क्वारेन्टिन बनाएरै उद्योग चलाउनुपर्ने भन्‍ने सरकारको निर्णय छ । यो निर्णय सही हो तर कत्तिको व्यवहारिक हुन्छ भन्‍ने कुरा विचार गर्नुपर्ने हुन्छ” उनले भने, “कतिपय उद्योगमा क्वारेन्टिन बनाउने ठाउँ होला तर कतिपय उद्योगमा नहुन सक्छ ।” 

सरकारको उक्त निर्णय भने सही रहेको उनले बताए । “अहिलेको समयमा गर्नुपर्ने त्यही हो तर सम्भव छ की छैन हेर्नुपर्ने हुन्छ । उद्योगी मुरारकाले ‘वर्क फ्रम होम’ को कुरा सबैलाई लागु हुन नसक्ने बताउँछन् । कप्युटरमा बसेर काम गर्नेलाई त घरबाटै काम गर्न लगाउन सकिन्छ तर बजारमा जाने कर्मचारीलाई भने गाह्रो रहेको उनले बताए । “उद्योगभित्रै क्वारेन्टिन बनाएर उत्पादन गर्नुपर्ने भन्‍ने सरकारको निर्णय सही हो । हुनुपर्ने पनि त्यही हो तर कति व्यवहारिक छ ?” उनले भने ।

कतिपय उद्योगले भने उद्योगलाई नै क्वारेन्टिन बनाएर उत्पादन गरिरहेका होलान् तर सबै उद्योगले त्यो गर्न नसक्ने उनले बताए । केही उद्योगीले उद्योगभित्रै क्वारेन्टिन बनाएर उत्पादन पनि गरिरहेका छन् । 

श्री स्टिलका सञ्‍चालक राजेशकुमार अग्रवालले आफ्नो करिब २ सय जना कर्मचारीलाई उद्योगभित्रै राखेर उत्पादन गरिरहेको बताउँछन् । तर, उनले यस्तो व्यवस्था कोरोनापछि गरेका भने होइनन् । उनका अनुसार उद्योग सञ्‍चालन गर्नुपूर्व नै कर्मचारीहरुका लागि भित्रै बस्‍ने पूर्वाधार बनाइएको थियो । जसको उपयोग अहिले उद्योगले गरिरहेको छ । 

“हामीले उद्योग सञ्‍चालन गर्नुपूर्व नै उद्योगमा काम गर्नेका लागि उद्योगभित्रै खाने, बस्ने व्यवस्था गरिदिनुपर्छ भनेर नै पूर्वाधार बनाएका थियौं,” उनले भने, “त्यो अहिले वरदान सावित भएको छ ।” 

उनले उद्योगभित्रै करिब २ सय जना कर्मचारी खाने, बस्‍ने गर्छन । बाहिरका मान्छेसँग नजिक हुँदैनन् । “जतिजना मान्छे छन्, उद्योगभित्रै बसिरहेका छन् । पहिले देखि नै यस्तो पूर्वाधार बनाएकाले हामीलाई धेरै सहज भयो”, अग्रवाल भन्छन् । यस्तो परिस्थिती आउँछ भनेर सोचेर पूर्वाधार नबनाएको भएपनि कर्मचारीलाई उद्योगभित्रै राख्ने व्यवस्था गर्दा उत्पादनशिलता बढी हुन्छ भन्ने सोंचले पूर्वाधार बनाइएको उनले बताए ।

उद्योगभित्रै कर्मचारीलाई राखेर उत्पादन गरिरहे पनि उत्पादित वस्तुले भने बजार नपाएको उनले बताए । क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको उनले बताए । “बजार नभएपछि उत्पादन मात्रै गरेर के गर्ने ? उत्पादन मात्रै गरेर उद्योगमा सामान कतिदिन राख्ने ?”
फाइल तस्बिर 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  ०८:०१
प्रतिक्रिया दिनुहोस्