site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सरकारले खुलाए पनि आन्तरिक हवाई सेवा चलेनन्

काठमाडौं । सरकारले आज (असोज १) देखि आन्तरिक हवाई सेवा खुला गरेपनि निजी वायुसेवा सञ्‍चालकहरुले भने जहाज उडाएका छैनन् । सरकारले ५० प्रतिशत क्षमतामा मात्रै सेवा सुचारु गर्न भनेपछि व्यवसायीले जहाज नउडाएका हुन् ।

“५ महिना २० दिनपछि सरकारले हवाई सेवा खुला गरेको छ । तर, ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न भनेको छ । हामीले घाटा खाएर सेवा सञ्‍चालन गर्न सक्दैनौं । त्यसैले उडान नगरेका हौं,” वायुसेवा सञ्‍चालक संघका प्रवक्ता योगराज कँडेलले भने ।

विमान हेरेर न्यूनतम ७० प्रतिशत क्षमतामा सञ्‍चालन भए मात्र बल्न खर्च धान्न सक्ने व्यवसायीको भनाइ छ । ५० प्रतिशत क्षमतामा उडान गर्दा घाटै हुने भएकाले कुनै पनि हालतमा उडान गर्न नसक्ने कँडेल बताउँछन् । “हामीले विमान भाडा बढाउन भनेका छौं । सिट क्षमता बढाउन मात्रै भनेका हौं । ५० प्रतिशत क्षमतामा कसरी सञ्‍चालन गर्ने ? घाटै खाएर त सेवा कसरी दिन सकिन्छ ?” उनले भने । घाटा सरकारले पूर्ती गरिदिने भए मात्र सेवा सञ्‍चालन गर्ने व्यवसायीको भनाइ छ । चाडपर्व नजिकिएको बेलामा जहाज भाडा बढाउनुपर्ने माग व्यवसायीको नभएको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

व्यवसायीको माग सीसीएमसीमा पठाइँदै
सिट क्षमता बढाउनुपर्ने मागसहित व्यवसायीहरुले हवाई सेवा सुचारु नगरेपछि उनीहरुको माग सीसीएमसीमा लैजाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । ५० प्रतिशत क्षमतामा सञ्‍चालन गर्न मन्त्रिपषिद्ले भनेकाले एक सातासम्म मात्र भए पनि सेवा सुचारु गर्न र त्यसपछि घाटै भए पुनः विचार गर्न सकिने आश्वासन मन्त्रालयले व्यवसायीलाई दिएको थियो । मन्त्रालयमा बुधबार भएको छलफलमा अधिकारीहरुले यस्तो आश्वासन व्यवसायीलाई दिएका थिए । तर, व्यवसायीहरु त्यसरी नहुने भन्दै सेवा सुचारु गर्न तयार नभएका हुन् ।

मन्त्रालयका प्रवक्ता सुरेश आचार्यले व्यवसायीहरुले अकुपेन्सी बढाउनुपर्ने भन्दै विमान नचलाउने जानकारी आएको बताए । व्यवसायीहरुले औपचारिक पत्र मन्त्रालयमा पठाए त्यसको जानकारी सीसीएमसीलाई गरिने उनले बताए । “हामीले सरकारको निर्णयअनुसार सेवा दिन आग्रह गरेका छौं । उहाँहरु मान्नुभएको छैन । औपचारिक पत्र आएपछि सीसीएमसीलाई जानकारी गराउँछौं,” उनले भने ।

सरकारको निर्णयअनुसार ५० प्रतिशत क्षमतामा सञ्‍चालन गर्दा सरकारले तोकेको भाडामा ५० प्रतिशत बढी शुल्क लिन सक्ने पनि मन्त्रालयले जनाएको छ । तर, व्यवसायी भने सिटअनुसारै विमान उडान पाउनुपर्ने माग गर्दै आएका छन् ।

लामो दूरीका यातायात चले
करिब ६ महिनापछि लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्‍चालनमा आएका छन् । सरकारले लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गर्दै ५० प्रतिशत क्षमतामा मात्रै सञ्‍चालन गर्न पाइने भएको छ । 

त्यसरी सञ्‍चालन गर्दा सरकारले तोकेको भाडामा थप ५० प्रतिशत बढी लिन पाइनेछ । ५० प्रतिशत क्षमतामा लामो दूरीका गाडी सञ्‍चालनमा आएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।

पर्ख र हेरको अवस्थामा पोखराका होटेल व्यवसायी

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै गाडी सञ्चालन गर्न पाइनेछ । आज विश्वकर्मा पूजाको अवसरमा पूजा सकेर गाडीहरु चल्न थालेका हुन् । 

साथै यात्रु तथा सार्वजनिक गाडीका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । स्वास्थ्य सावधानीका उपाय पालना गरे/नगरेको अनुगमन गर्न ठाउँ-ठाउँमा चेकिङको व्यवस्था मिलाइएको छ । यदि पालना नगरेको पाइए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । लामो तथा मध्यम दूरीका यात्रुलाई खाजा तथा खाना स्थानीय प्रशासन र व्यवसायी संघले नै समन्वय गरेर खुवाउनुपर्नेछ । 

साथै लामो दूरीका गाडीहरुलाई बीच बाटोमा यात्रु चढाउन वा अनावश्यक काममा रोकिन बन्देज लगाइएको छ । 

उपत्यकामा जोर-बिजोर कायमै
उपत्यकाभित्र चल्ने यातायातको हकमा जोर-बिजोर प्रणाली लागु हुनेछ । अर्को आदेश नभएसम्मका लागि जोर-बिजोर प्रणाली लागु हुने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका हुन् ।

यातायात खुलेसँगै उपत्यकाभित्र आउजाउमा सहज

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १२:४५
प्रतिक्रिया दिनुहोस्