site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा पौडेलको दर्जन प्रश्न : प्रधानमन्त्रीज्यू संविधानको मर्म किन बुझ्नु भएन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागि थिए । बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा पनि पौडेल ओलीप्रति कडा रुपमा प्रस्तुत भए । तनहुँमा आफूलाई प्रहरीले नियन्त्रणमा लिएपछि ओलीसँग रिसाएका पौडेलले बालुवाटार बैठकमा पनि ओलीसँग आफू पक्राउको जवाफ खोजे । 

अहिले सडकमा भएको प्रदर्शनतर्फ लक्षित गर्दै पौडेलले सरकारले नैतिक शक्ति गुमाउँदाको उपज भएको बताए । संसद अधिवेशन चाँडै समाप्त गरेर अध्यादेशले देश चलाउन खोजेको पनि आरोप लगाए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले प्रधानमन्त्री ओलीलाई दर्जन प्रश्न अघि सार्दै सडकमा देखिएको असन्तुष्टिको कारण राजाकोजस्तै राष्ट्रपतिको तामझाव भएको पनि बताए । “राजा जे कारणले हटाइयो त्यसलाई विर्सेर राष्ट्रपतिको जुन तामझाम देखिएको छ । त्यसले आजको परिस्थिती ल्याउन प्रभाव पारेको छ,” बैठकमा पौडेलले भने । पौडेलले प्रधानमन्त्री ओलीले संविधानको मर्म नबुझेको भन्दै आफन्त र आफ्ना मन्त्रीहरुको भ्रष्टाचार काण्डको बचाउ गरेकोमा पनि आलोचना गरे । “मन्त्रीहरुको भ्रष्टाचारको ढाकछोप आफैं अघि सरेर गर्नुभयो । देशमा भ्रष्टाचारको बिगबिगी छ । तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको छ । अदालत पनि प्रभावमा पारिएको जस्तो देखिन्छ,” उनले बैठकमा भने । 

कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीको भूमिका समन्वयकारी नभएको, संवैधानिक आयोगमा ३९ पद रिक्त राखेको, स्वतन्त्रता विरोधी आम सञ्चार विधेयक ल्याएको र आफूलाई मंसिर १७ गते दमौलीमा किन पक्राउ गराएको भन्दै प्रश्न गरेका थिए । त्यस्तै उनले प्रधानमन्त्री ओलीले भारतलाई चिढ्याएको बताउँदै भने, “अयोध्या माडीमा पर्छ जस्ता कुरा भनेर भारतलाई चिढ्याउन कुरा किन गर्नुभयो ? त्यस्ता कुरालाई थुमथुम्याउन फेरि के कस्तो तहमा ओर्लेर मेहनत गर्नुपर्यो ? त्यसले हाम्रो गरिमा कति बढाउने घटाउने गर्यो ?”

नेता पौडेलले संसद बैठक छिटो बलाउन माग गर्दै संसदबाटै प्रतिगामीहरुको धज्जी उडाउने बताएका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १५:१९
प्रतिक्रिया दिनुहोस्