site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डीएलए बहुमत पदाधिकारीको निर्णय : पूर्वअध्यसहितका वरिष्ठ अधिवक्तामाथिको कारबाही फुकुवा

काठमाडौं । नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसन (डीएलए) का बहुमत पदाधिकारीले पूर्वअध्यक्षसहितलाई गरिएको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले औपचारिक बैठक बोलाउन ढिला गरेको भन्दै प्रदेश २ का उपाध्यक्ष राजनप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । 

डीएलएको भरतप्रसाद खरेल संयोजक रहेको अनुशासन समितिले असोज २९ गते  नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का र डीएलकै पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, पूर्वमहासचिव वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र, काठमाडौं जिल्ला बारका पूर्वअध्यक्ष अधिवक्ता श्रीराम दवाडीलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कारबाहीविना आधार र प्रमाण गरिएको भन्दै कारबाहीमा परेका पाँचजनाले मंसिर २ गते अनुशासन समितिको निर्णय बदर गर्न माग गर्दै केन्द्रीय समितिलाई पत्र पठाएका थिए । तर, अध्यक्ष अधिकारीले बैठक नबोलाएकाले बहुमत पदाधिकारीको बैठक बस्नुपरेको बताइएको छ ।

बुधबार ५ उपाध्यक्ष, कोषाध्यक्षसहित १८ जना कार्यसमिति सदस्यको बहुमत पदाधिकारीको बैठक बसेको हो । बैठकले अनुशासनको कारबाही तथ्य र प्रमाणमा आधारित नरहेको निष्कर्ष निकालेको हो । बहुमत पदाधिकारी बैठकको निर्णयमा भनिएको छ, “अनुशासन समितिले गरेको निर्णय र काम कारबाही तथ्य र प्रमाणमा आधारित रहेको देखिएन । तसर्थ, संगठनको हितको प्रतिकूल भएकाले नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको बृहत् एकता कायम राख्न डीएलएको विधान ०४७ को धारा २० (४) बमोजिम उल्लेखित पाँच व्यक्तिउपर गरिएको असोज २९ को केन्द्रीय अनुशासन समितिको निर्णय तथा तत्‌सम्बन्धी भए गरेका सम्पूर्ण काम-कारबाहीसमेत बदर गरिदिएको छ ।” त्यस्तै, अनुशासन समितिको बैठक बदर गरेकाले उनीहरुको डीएलएको सदस्य कायम रहेको जानकारी पनि गराइएको छ ।

डीएलएको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, महिला सचिव, कोषाध्यक्ष र २५ सदस्य गरी ३९ सदस्यीय केन्द्रीय कार्यसमिति छ । जसमा सातमध्ये पाँच उपाध्यक्ष, कोषाध्यक्ष र २५ सदस्य अनुशासन समितिको कारबाहीको विपक्षमा देखिएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्