site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली, देउवा र महन्थ ठाकुर मंसिरमा चुनावको गृहकार्यमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देश दुई ध्रुवमा बाँडिएको थियो । एकथरी प्रतिनिधिसभा पुनःस्थापना र अर्कोथरी प्रधानमन्त्री ओलीले घोषणा गरेको चुनावको पक्षमा थिए ।

त्यस बेला सबैभन्दा अन्योलपूर्ण यात्रामा थियो, नेपाली कांग्रेसको नेतृत्व र पूरै संस्थापन पक्ष । पार्टीको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरिएको थियो । त्यसका विरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवा र संस्थापन पक्ष चुनावमा जानु संवैधानिक हो भन्ने रटान लगाइरहेको थियो ।

अहिले पनि कांग्रेस संस्थापन पक्षका नेता रमेश लेखक कांग्रेसकै भूलका कारण प्रतिनिधिसभा पुनःस्थापनाको वातावरण बनेको बताउँछन् । लेखक भन्छन्, “एकमुष्ट रुपमा निर्वाचनमा जाने निर्णयमा पुग्न नसक्नु कांग्रेसको ऐतिहासिक भूल थियो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गएको फागुन ११ गते सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक घोषणा गर्दै प्रतिनिधिसभा पुनःस्थापित गरिदियो । चुनावको पक्षमा वकालत गर्ने उनै देउवाले संविधानको रक्षा गरिदिएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिदै विज्ञप्ति जारी गरे ।

प्रतिनिधिसभा पुनःस्थापनापछि धेरैको अनुमान थियो, प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा गर्नेछन् । प्रमुख प्रतिपक्षी दलका नेता देउवाले वैकल्पिक सरकार निर्माणको अभ्यास थाल्नेछन् । अनि, प्रतिनिधिसभा विघटन हुँदा त्यसविरुद्ध आन्दोलनमा होमिएका शक्तिहरु वैकल्पिक सरकार निर्माण गरेर संविधान कार्यान्वयनका पक्षमा एकमत हुनेछन् ।

तर, प्रतिनिधिसभा पुनःस्थापनाको एक महिना र हप्ता दिन बितिसक्दा यी सबै अनुमान गलत साबित भएका छन् । राजनीतिक यथार्थ अर्कै देखिएको छ । प्रतिनिधिसभा पुनःस्थापनाका ३७ दिनसम्म प्रधानमन्त्री ओलीको विकल्पको खोजी समेत सुरु भएको छैन । नेकपा एउटै हुँदा समेत आन्दोलन गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चले पार्टी एकता नै भंग गरिदिएर नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । प्रधानमन्त्री ओलीविरुद्ध कडा अभिव्यक्ति दिने जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारको रक्षा कवच बनिरहेको छ । अनि, वैकल्पिक सरकारको नेतृत्व दाबी गर्ने र बाँकी दललाई सहमतिमा ल्याएर गठबन्धन बनाउने अपेक्षा गरिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतृत्व ओलीकै नेतृत्वमा मंसिरमा अर्को चुनाव घोषणाको पक्षमा छ । कांग्रेसको इच्छा पूरा गरिदिने अस्त्रका रुपमा महन्थ ठाकुर नेतृत्वको जसपाले गरिरहेको छ ।

“संसद् विघटन गर्ने वर्तमान प्रधानमन्त्री राजनीतिक, कानुनी र संवैधानिक रुपमा अनैतिक भइसकेका छन् । तर, संसद् भनेको अंकगणित पनि हो । यो संसद्को अंकगणितले वैकल्पिक सरकार बनाउन सक्ने अवस्था छैन,” कांग्रेस नेता लेखकले भने, “यस्तो सबै हिसाबले अनैतिक भएको सरकार संसद्ले हटाउन सक्दैन भने जनमतबाट हटाउनुपर्यो । त्यसका लागि निर्वाचन एक मात्र विकल्प हो ।”

कांग्रेसमा संस्थापनको तयारीप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने सकारात्मक हुनसकिरहेको छैन । त्यसैले उसले आफ्नै नेतृत्वलाई खबरदारी गरिरहेको छ । “हामै पार्टीका साथीहरु पनि मंसिरको चुनाव भन्दै हुनुहुन्छ । संविधानको रक्षाका लागि यो संसद्लाई पूरा समय काम गर्न दिनुपर्छ । संविधान भत्काउनेहरुलाई निरुत्साहित गर्नुपर्छ,” पौडेलले मंगबार ट्रेड युनियन कांग्रेस काठमाडौंले गरेको कार्यक्रममा भने, “व्यवस्था जोगियो भने सत्ता पटक–पटक आउँछ । व्यवस्था भत्कियो भने सत्ताको औचित्य नै समाप्त हुनसक्छ ।” उनले कांग्रेसले संसद् र संविधान भत्काएर गरिने चुनावको पक्षमा नभएर यही संसद्बाट अधिनायकवादीको विकल्प दिनुपर्ने बताएका छन् ।

वर्तमान सरकारलाई हेर्ने दृष्टिणका विषयमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)मा ठ्याक्कै उस्तै अवस्था छ । जसपामा कांग्रेस वरिष्ठ नेताको जस्तै वर्तमान सरकारको विकल्प अनिवार्य भएको भन्दै ओली सरकारसँग सहकार्य गर्न सकिँदैन भन्ने पक्षमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष छ । तर, महन्थ ठाकुर पक्ष ओलीसँग आफ्ना अधिकांश माग हाताहाती पूरा गर्ने त्यसपछि चुनावमा जाने पक्षमा छ । त्यसैले महन्थ पक्ष तत्कालका लागि ओली नेतृत्वको सरकारको सुरक्षाकवचका रुपमा उभिएको छ ।

“जसपा सरकारमा पनि जाँदैन, वैकल्पिक सरकार बन्न पनि दिँदैन,” मधेसबाट चुनाव जितेका सीमितमध्येका कांग्रेस सांसद अमरेश सिंहले भने, “माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि केपी ओली अल्पमतमा पर्छन् । जसपाले समर्थन नगर्दासम्म नयाँ सरकार बन्न सक्दैन । त्यसपछि आगामी मंसिरका लागि चुनाव घोषणा हुन्छ ।” उनले यहाँका निर्णयक शक्तिले घोषणा गर्दैमा चुनाव नहुने भन्दै चुनावको सुनिश्चितता इन्डो–अमेरिकन शक्ति र चिनियाँ शक्तिबाट निर्देशित हुने बताएका छन् ।

जसपाका ठाकुर पक्ष नेताहरुले भने सरकारसँग वार्ता जारी रहेको भन्दै माग सम्बोधन हुने/नहुने सुनिश्चित नभएको र त्यसपछि के हुने भन्ने विषयमा पनि कुनै निर्णय नभएको बताउने गरेका छन् । ठाकुर पक्षले सत्ताको विकल्प खोज्ने जिम्मा प्रमुख प्रतिपक्षीको भएको भन्दै कांग्रेसले गर्ने निर्णय अबका लागि निर्णयक हुने बताएको छ ।

“हामी सरकारसँग वार्ता गरिरहेका छौँ, हाम्रा माग सम्बोधन नहुँदासम्म सरकारमा जाने/नजाने भन्ने विषयमा निर्णयमा पुग्ने कुरै भएन,” जसपाका नेता लक्ष्मणलाल कर्णले भने । उनले माग सम्बोधन हुँदा वा नहुँदा जुनसुकै अवस्थामा चुनावमा जान भने नहिचकिचाउने बताए । “एउटा राजनीतिक दलले विधिसम्मत हुने चुनावमा नजाने भन्ने कुरै आउँदैन,” कर्णले भने ।

सबै दलभित्र अहिलेकै संसद्बाट निकासको मत

सत्तारुढ नेकपा (एमाले)देखि प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादीसम्म वर्तमान संसद्बाटै निकासको खोजीमा छन् । सत्तारुढ एमालेमा खनाल–नेपाल पक्ष वर्तमान संसद्को वैधानिक प्रयोग राम्रोसँग हुनुपर्ने पक्षमा छ । उक्त समूह पार्टी र सत्ता ओलीले अवैधानिक रुपमा कब्जा गरेको भन्दै विद्रोह गरी विधिसम्मत सञ्चालन वा छुट्टै यात्राको विकल्पको गृहकार्यमा जुटिरहेको छ ।

कांग्रेसको वरिष्ठ नेता पौडेल–सिटौला पक्ष वर्तमान संसद्भित्रैबाट राजनीतिक रुपमा ‘अनैतिक’ भएको ओली सरकारको विकल्प खोजी गर्नुपर्ने पक्षमा छ । उक्त पक्षले ओलीको विकल्प संसद्बाट खोजी हुनुपर्ने र त्यसको अगुवाइ कांग्रेसले गर्नुपर्ने निर्णय नै गरिसकेको छ । त्यही निर्णयपछि राखेको प्रस्तावलाई कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्वीकार गरेर सभापति देउवालाई प्रधानमन्त्रीका रुपमा समेत अघि सारिसकेको छ ।

जसपामा दुईमध्ये एक अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तत्काल ओलीको विकल्पका पक्षमा छन् । यादवले त ओली एउटै मञ्चमा भएका बेला ‘प्रधानमन्त्रीलाई बहुमत नपचेको’ भन्दै विकल्पको कुरा राखिसकेका छन् । भट्टराईले ओलीले सत्तामा बस्ने नैतिकता गुमाएपछि पनि कुर्सीमा टाँसिन नछोडेको भन्दै उनलाई तत्काल प्रधानमन्त्रीबाट हटाउन पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

सिंगो पार्टी चुनावसँग डरायो 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता सर्वोच्चको आदेशबाट फागुन २३ मा भंग भएपछि नेकपा (माओवादी केन्द्र) पुनः छुट्टै पार्टी बनेको छ । नेकपा एउटै पार्टी हुँदा ओलीको संसद् विघटनको कदमविरुद्ध देशव्यापी आन्दोलन गरेको प्रचण्ड पक्षले अहिले छुट्टै पार्टी बनिसकेपछि पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । उसले त्यसरी समर्थन फिर्ता नलिने कारण ओलीको समर्थन नभएर फेरि संसद् विघटन हुनसक्ने कुरालाई जोगाएको बताउने गरेको छ ।

“हामी तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ,” माओवादी केन्द्रका नेता देव गुरुङले भने, “हामीले समर्थन फिर्ता लियौँ भने केपी ओलीले फेरि संसद् विघटन गरेर चुनावको घोषणा गर्न सक्छन् । त्यो कुराले वर्तमान व्यवस्थालाई नै जोखिममा लैजानसक्छ ।”

गुरुङले त्यसो भने पनि अध्यक्ष प्रचण्डले भने नागरिक संवादका क्रममा सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुने बताएका छन् । त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन् । तर, देउवा नै चुनावका पक्षमा रहेकाले वैकल्पिक सरकारको पहलका लागि थालेको अभ्यासले ठोस आकार लिनसकेको छैन ।
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १६:२८
प्रतिक्रिया दिनुहोस्