site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवा–पौडेल सम्बन्ध : ५६ वर्ष पुरानो तर शोकसभादेखि मञ्चसम्म सधैँ झगडा !

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मञ्चमै भनाभन भयो ।

कर्मचारी युनियनको राष्ट्रिय भेलाको उद्घाटनसत्रमा भएको भनाभन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसरी भाइरल भएको भिडियोमा देउवा–पौडेलबीच भएको विवादको अडियो भने सार्वजनिक भएको छैन ।

नजिक बसेकाहरुका अनुसार पौडेलले प्रमुख अतिथिअघि मञ्चमा बोल्दा प्रयोग गरेको भाषाशैली र शब्दले देउवालाई क्षुब्ध बनाएको रहेछ । त्यही आक्रोश पौडेल फर्केर आसनमा नपुग्दै देउवाले पोखेपछि पौडेल थप कड्किएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पार्टीको विधानअनुरुप महाधिवेशन हुन सकिरहेको छैन । यस्तो अवस्थामा चुनाव–चुनाव–चुनाव भन्दै हुनुुहुुन्छ, यस्तो अवस्थाले कहाँ पुर्‍याउँछ ?,” पौडेलले नेतृत्वलाई प्रश्न गर्दै मञ्चबाट भनेका थिए, “आज हामी सोचौँ, लोकतन्त्र कसले बचाउने ? लोकतन्त्र बचाउनका लागि हामी बलियो हुन आवश्यक छ । सोसाइटीलाई लोकतान्त्रीकरण गर्नका लागि हाम्रो लोकतान्त्रीकरण अवश्यक छ ।” उनले कांग्रेसको नेतृत्व आफूलाई लोकतान्त्रीकरण गर्न तयार छ कि छैन भन्ने आजको अहम् प्रश्न भएको बताए ।

पौडेलले यति भनिसकेर आसनमा फर्कँदै गर्दा देउवा पौडेलसँग आक्रोशित भइसकेका थिए । उनले पौडेल आसनमा नपुग्दै आक्रोश पोखे । नजिकै रहेका कर्मचारी युनियनका प्रतिनिधिका अनुसार देउवाको आक्रोश यस्तो थियो– “कहिले सरकारमा जानु हुँदैन भन्ने, कहिले सरकारमा जानैपर्छ भन्ने ?,” ती कर्मचारीले देउवाको भनाइ उद्धृत गर्दै भने, “सरकार तपाईं नै बनाउनुस्, बनाउने हो ? पार्टीको महाधिवेशन मैले रोकेको हो ?” भन्दै पौडेललाई प्रश्नसमेत गरेका थिए ।

“तपाईं नेतृत्वमा हुनुहुन्छ, त्यसो भए कसले रोकेको ?,” पौडेलले प्रतिप्रश्न गरेका ती कर्मचारीले बताए । “तपाईं नेतृत्वमा बस्ने, समयमा महाधिवेशन नगर्ने अनि कसले रोकेको ? मैले महाधिवेशन रोकेको हुँ ?,” पौडेलको भनाइ उद्धृत गर्दै ती कर्मचारीले भने, “सरकार मैले बनाउने हो ? संसद्मा रहेकाहरु बोल्न नसक्ने, आवश्यक पहल गर्न नसक्ने अनि सरकारले जे जे गर्छ, सही थाप्दै जाने ?”

पौडेलले त्यति भनेर आफ्नो बायाँतर्फ रहेका विमलेन्द्र निधिलाई “तपाईंको सभापति के भएको ? अब मैले सरकार बनाउनु रे !,” भन्दै प्रश्न राखेका थिए । त्यसो भन्दा हाँसेका निधिले थप प्रतिक्रिया भने दिएको देखिँदैन ।

पौडेल त्यतिमा पनि सीमित नभएर आक्रोशित भएको देखेपछि देउवा आफैँले हात थुम्थुम्याउँदै ‘कति प्यार प्यार गर्नुहुन्छ यार, अब त चुप लाग्नुस्’ भनेको सँगै रहेको एक कर्मचारीले बाह्रखरीलाई जानकारी दिए ।

पौडेलले भाषणमा आन्तरिक लोकतन्त्रको प्रश्न उठाउँदादेखि नै ताली पिटेको दर्शकदीर्घामा दुई नेताको भनाभनले हाँसोको फोहोरा छुटेको थियो ।

त्यसपछि पालो आयो, उद्घोषकको । “साथीहरु संयमित भएर बसिदिनुहोस्, नेताहरुबीच सल्लाह हुँदै छ ।” उनले त्यसो भनेपछि थप हाँसो फैलियो । उद्घोषकले प्रमुख अतिथि देउवालाई मञ्चमा बोलाए, तत्कालको आक्रोश साम्य देखियो ।

शृङ्खलाबद्ध विवाद

देउवा र पौडेलबीचको भनाभन शुक्रबारलाई साम्य देखिए पनि त्यो यसअघि पनि थियो  ।

यसअघि, गएको पुस २५ गते प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बूढानीलकण्ठमा यस्तै भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मै प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै दोस्रो चरणको कार्यक्रम घोषणासमेत गरिसकेका थियो । तर, देउवा भने प्रतिनिधिसभा विघटन गरेर चुनाव गर्ने प्रधानमन्त्री ओलीको कदमलाई सहयोग पुग्ने गरी भाषण गरिदिँदै थिए । त्यसको प्रतिवाद पौडेलले देउवा निवासमै समाजको पुस्तक विमोचनका क्रममा गरे ।

“हामी जीवित छँदाछँदै लोकतन्त्रलाई आघात पुर्‍याउने कुरा मान्य छैन,” पौडेलले भनेका थिए, “हामीले तत्कालको सत्ता हेरेर निर्णय गर्नु हुँदैन । लोकतन्त्र र संविधानको अभ्यास हेरेर निर्णय लिनुपर्छ ।” उनले त्यसो भन्नासाथ देउवा आक्रोशित हुँदै पौडेलको प्रतिवादमा उत्रिएका थिए ।

“हामी पनि जीवित नै छौँ, निर्वाचनमा जाने कुरा कसरी अलोकतान्त्रिक हुनसक्छ ?,” देउवाले भनेका थिए, “रामचन्द्रजीले प्रश्न उठाइसकेपछि म जवाफ दिन बाध्य भएँ, सर्वोच्चभन्दा ठूला न्यायाधीश जनता हुन् ।” 

उनले त्यसो भनिसक्दा पौडेल थप आक्रोशित हुँदै जस्तोसुकै चुनाव लोकतान्त्रिक नहुने भन्दै संवैधानिक बाटोबाट हुने चुनावले मात्र लोकतन्त्रको रक्षा हुने बताएका थिए ।

शोकसभामा पनि झगडा !

एउटै मञ्चमा बस्न तयार हुने तर एकका तर्क अर्कोले स्वीकार गर्नै नसक्ने र असहिष्णु हुने दुई नेताहरुबीच चितवनमा पूर्वसांसद एकनाथ रानाभाटको शोकसभामा पनि यस्तै अवस्था आएको थियो ।

“सत्तास्वार्थमा लागेर असंवैधानिक कदमलाई समर्थन गर्न सकिँदैन । कांग्रेसले अहिले सत्ता ताक्ने होइन, लोकतन्त्रको रक्षा गर्ने हो,” पौडेलले भनेका थिए, “सत्तामा जान पाइन्छ भन्दैमा लोकतन्त्र र संविधानका उपलब्धि दाउमा राख्न सकिन्न । कांग्रेसले अहिले सत्तामा जाने होइन ।” पौडेलले बोल्दै गर्दा नै आसनमै आक्रोशित देखिएका देउवाले मञ्चमा पुगेपछि अन्य विषय छोडेर सुरुमै पौडेललाई जवाफ फर्काए ।

“हामी सत्तामा जानका लागि लालायित छैनौँ । तर, जिम्मेवारी आउँछ भने भाग्न मिल्दैन,” देउवाले शोकसमेत प्रकट नगरी भने, “रामचन्द्रजीले प्रश्न उठाउनुभयो, जवाफ दिनैपर्‍यो । उहाँ (रामचन्द्र) मबाहेक जोसुकै प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ ।” पौडेललाई उनले लोकतन्त्र रक्षाका विषयमा उठेका प्रश्नलाई त्यसरी जवाफ दिन नै खोजेनन् । “पौडेलजी मन त्यति साँघुरो नपार्नुहोस्,” देउवाले भनेका थिए ।

पुरानो सम्बन्ध तर सधैँ झगडा 

कांग्रेस सभापति भएका देउवा र उनीसँगकै प्रतिस्पर्धामा दोस्रो चरणमा सभापतिमा पराजित भएका पौडेल वि.सं. २०२१ सालदेखिका साथी हुन् ।

उनीहरुको ५६ वर्ष पुरानो सम्बन्धमा थुप्रै उतार–चढाव छन् । २७ सालसम्म पार्टीका नेताहरुसँग थुप्रै उठबस गरिसकेका पौडेल देउवाभन्दा सिनियर मानिन्थे । २०१६ सालदेखि नै पार्टीमा लागेका उनी २०२७ सालमा नेविसंघ गठन हुँदा नेविसंघको झन्डा निर्माण गर्नेमध्येका एक हुन् ।

त्यसबेला संस्थापक सभापति विपीन कोइराला हुँदा पौडेल विद्यार्थी संघको संस्कृत विश्वविद्यालयबाट प्रतिनिधित्व गर्ने सचिव बनेका थिए । २०२८ सालमा नेविसंघको तदर्थ समिति हटेर कार्यसमिति गठन भयो । त्यसमा देउवा सभापति भए, पौडेल पाखामा परे । त्यस बेलादेखि नै दुई नेताबीच व्यक्तित्वको द्वन्द्व सुरु भएको थियो ।

पछि रामचन्द्र, शैलजा आचार्य र शेरबहादुरले नेताहरुबीच द्वन्द्व बढ्दा विश्वास निर्माण गर्ने आरएसएस समूहको पहिचान बनाएको थियो । त्यस बेला शैलजाले समन्वय गरे पनि दुई नेताबीच राम्रो सम्बन्ध बन्न सकेको थिएन । ०४८ सालमा देउवा गिरिजाप्रसाद कोइरालाको विश्वासपात्र भएर गृहमन्त्री भए भने पौडेल किशुनजीको विश्वास लिएर कृषिमन्त्री । त्यो सम्बन्धमा ०५१ सालमा आइपुग्दा पुनः बदलाव आयो । मध्यावधिपछि पौडेल सभामुख भए भने देउवा गिरिजाप्रसादको विश्वासमा प्रधानमन्त्री बने । त्यसपछि दुवैबीच शक्तिको टकराव सुरु भयो । शक्तिको टकरावमा देउवा हावी हुँदै गए ।

०५६ सालसम्म पुग्दा देउवा किसुनजीको क्याम्पमा पुगे भने पौडेल कोइराला क्याम्प । कोेइरालाले पौडेललाई सँगै राखेर पनि किसुनजी क्याम्पकै व्यवहार गरिरहे । पौडेलका लागि गोविन्दराज जोशीदेखि अनेक पात्रबाट परीक्षण गरिरहे । तर, देउवा किसुनजीको विश्वास लिएर पुनः प्रधानमन्त्री बने । कांग्रेस विभाजित भयो, पौडेल गिरिजाप्रसादसँगको सल्लाहमै देउवा क्याम्प जाने चर्चा भयो । देउवाले पौडेललाई नै फुटेपछि बनेको नयाँ पार्टीको सभापति बनाउने चर्चा भयो । तर, पौडेल कोइराला समूहमै बसे । पाँच वर्षपछि पार्टी एकता भयो, गिरिजाप्रसादपछिको दोस्रो हैसियत वरिष्ठ नेताका नाममा देउवाले पाए । कांग्रेसका उपसभापतिका रुपमा तेस्रो हैसियतमा रहेका  पौडेल चौथो हैसियतमा पुगे । व्यक्तित्वको टकराव अझ बढेर गयो ।

१२औँ महाधिवेशनमा पौडेल सुशील कोइरालालाई सभापति बनाउन लागिपरे देउवा विपक्षमा चुनाव लडे । देउवा पराजित भए । तर, उनले नै वरिष्ठ नेताका रुपमा दोस्रो हैसियत पाए ।

१३औँ महाधिवेशनमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भयो । पहिलो चरणमा पौडेले बढी मत ल्याए । तर, विधानको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान नपुगेपछि पुनः मतदान भयो । पहिलो चरणमा तेस्रो भएका कृष्ण सिटौलाले देउवालाई समर्थन गरे । देउवा कांग्रेसको १३औँ महासिधवेशनबाट कांग्रेसको सभापति बने ।

प्रश्न सैद्धान्तिक, अन्त्यमा भागबन्डा 

त्यसयता पौडेलले देउवासँगको सैद्धान्तिक प्रश्न उठाएर हरेकपटक द्वन्द्व गरिरहेकै छन् । पौडेलले उठाउने प्रश्नलाई देउवाले भने व्यावहारिक रुपमा चुकाइदिने गरेका छन् । नेपाल विद्यार्थी संघको अधिवेशन समयमा हुन नसक्दा पौडेलले निर्वाचित पद्धतिबाटै नेविसंघ नेतृत्व हस्तान्तरण हुनुपर्ने आवाज उठाउँदै आएका थिए । तर, देउवाले नेतैपिच्छे महामन्त्रीको भाग लगाएर पौडेलले उठाएका प्रश्न निस्क्रिय पारिदए । त्यसपछि सैद्धान्तिक प्रश्न उठाउँदै आएका पौडेल आफ्नैबाट गिज्याइने पात्र बन्न पुगेका थिए ।
प्रश्न उठाउने तर, नेतृत्वलाई बाध्य पार्न नसक्ने शैलीले पौडेलको ‘आश गरिएका तर भर पर्न नसकिने पात्र’को पहिचान बनेको नेविसंघकै नेताहरुको टिप्पणी छ ।

हल्का रूपमा लिन्छन् देउवा ?

पौडेलले गम्भीर प्रश्न उठाउँदा तत्काल आक्रोशित हुने देउवाले त्यसको प्रतिउत्तर भने सांगठानिक रुपमा दिने गरेका छन् । पौडेलले उठाउने प्रश्नमा तत्काल आक्रोशित भए पनि देउवा कहिले पौडेलकै निवासमा पुग्ने त कहिले आफ्नै निवासमा डाकेर भेट्ने अनि आफ्ना स्वार्थका निर्णयमा सहमत गराउने गरेको एक कांग्रेस नेता बताउँछन् ।

प्रतिनिधिसभा पुनःस्थापना भएपछि पौडेल वर्तमान प्रधानमन्त्रीको सत्ता अनैतिक भइसकेको भन्दै अनैतिक सत्ताले देशलाई भड्खालोमा हाल्ने नयाँ तर्कमा छन् ।

विगतमा सरकारमा जान नहुने बताउँदै आएका उनी अहिले अनैतिक सत्ताको विस्थापन अनिवार्य भएको भन्दै आफ्नै सभापतिलाई अघि बढ्न आग्रह गरिरहेका छन् ।

फागुन २८ मा महामन्त्री शशांक कोइराला निवासमा पौडेलले डाकेको पौडेल–सिटौला भेलाले देउवालाई सत्ताको विकल्पका लागि अघि बढ्न आग्रह गर्‍यो । त्यही दिन देउवा निवासमा पदाधिकारी र पूर्वपदाधिकारीले पौडेल–सिटौला समूहको प्रस्ताव अनुमोदन पनि गर्‍यो । तर, पौडेल–देउवा सम्बन्धका उतार–चढाव रोकिएको छैन ।

देउवाले पौडेलले उठाएका हरेक गम्भीर सवाललाई महाधिवेशनसँग जोडेर निस्तेज पारिदिने गरेका छन् । “महाधिवेशन आइरहेको छ, मलाई बदनाम गरेर सभापतिमा हराउन सकिन्छ भन्ने रणनीति उनको देखिन्छ,” आफूनिकटसँग देउवाले भन्ने गरेका छन्, “म प्रधानमन्त्री भएँ भने पार्टी पनि कब्जा गर्छ भन्ने डर रामचन्द्रजीमा देखिन्छ ।”

देउवाले त्यसो भनिरहँदा अहिले पौडेल देउवा प्रधानमन्त्री बन्नुपर्छ भन्ने अडानमा छन् । तर, देउवा भने प्रधानमन्त्री बन्ने आधार नभएको भन्दै महाधिवेशनको तयारी गरिरहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्