site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महाधिवेशनपछि कांग्रेसका कम्तिमा ४० नेता ‘रिङ आउट’ हुन सक्छन् !
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुँदैछ । 

महाधिवेशनको कार्यतालिका प्रभावित भए पनि तयारी भने जारी छ । क्रियाशील सदस्यता टुंग्याउने अवधि फागुन मसान्तभित्र तोकिएको थियो । तर, त्यो तालिकामात्र प्रभावित भएको छैन, थप एक महिना अर्थात् चैत मसान्तमा समेत नभएपछि फेरि कार्यतालिका संशोधनको गृहकार्य जारी छ । 

तालिका अहिलेदेखि नै प्रभावित भए पनि कांग्रेस महाधिवेशनको अन्तिम मितिका लागि भने थप १२ दिन मात्र तलमाथि गर्न सकिन्छ । अर्थात् कांग्रेसले जुनसुकै अवस्थामा पनि भदौ १९ भन्दा पछि धकेल्ने वैधानिक र संवैधानिक बाटो छैन । किनभने विधानअनुसार अधिवेशन गर्न नसकेर संविधानको सहारामा म्याद थपेको कांग्रेसले भदौ १९ सम्म पनि महाधिवेशन गर्न नसके उसले वैधानिक हैसियत गुमाउने छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसको विगतको तुलनामा यसपटकको महाधिवेशन फरक ढंगले हुँदैछ । ८५ सदस्य हुने केन्द्रीय समितिमा ६४ सदस्यको निर्वाचन गर्दै आएको कांग्रेसले अहिले कार्यसमितिमा ६४ सदस्य थपेर १६९ पुर्‍याएको छ । त्यसमध्ये समावेशी प्रतिनिधित्वका आधारमा ३३ जना मनोनीत हुनेछन् भने एक सय ३६ जना निर्वाचित हुने छन् । 

तर, त्यो निर्वाचित समूहमा कांग्रेसका वरिष्ठमध्येका कम्तिमा ४० जना भने ‘रिङ आउट’ हुने जोखिम देखिएको कांग्रेसकै नेताहरु बताउँछन् ।

केन्द्रीय समितिबाट बाहिरिने नेताले कम्तिमा ५ वर्षका लागि पार्टी जिम्मेवारीबाट बिदा लिनुपर्ने हुन सक्छ ।

“कांग्रेसको अहिलेकै विधानअनुसार महाधिवेशन भयो भने वरिष्ठहरू जति कांग्रेसबाट बिदा हुने अवस्था छ,” कांग्रेसले कारबाही गरेका एक नेता गोविन्दराज जोशी भन्छन्, “मलाई त साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्नुभएको छ । तर यो विधान कायम भयो भने मलाई कारवाही गर्नेहरु मध्ये पनि केही मात्र कार्यसमितिमा बाँकी रहने देखिन्छ ।”

कांग्रेसले परिणामबारे पर्याप्त छलफल नै नगरी विधान संशोधन गरेको भन्दै वरिष्ठहरुको बिदाईले पार्टीलाई सकारात्मक वा नकारात्मक कस्तो असर गर्छ भन्ने बहस आवश्यक देखिएको उनले बताए । 

“पदाधिकारीमा वरिष्ठहरुले नै प्रतिस्पर्धा गर्ने हुन् । तर, सबै पदाधिकारी निर्वाचित हुने व्यवस्थाले पदाधिकारीमा हार्नेहरुले पार्टीबाट बिदा लिनुपर्ने हुन सक्छ,” जोशीले भने, “जम्मा ३३ जना मनोनीत गर्ने व्यवस्था छ, त्यो पनि समावेशी प्रतिनिधित्व हुनेगरी । त्यो मनोनयन त हार्नेहरुका लागि भनेर राखिएको पक्कै होइन होला ।” 

एक पटकमा ४० भन्दा माथि प्रभावशाली नेताहरु बिदा हुने अवस्था आयो भने पार्टी कहाँ पुग्छ भन्नेबारेमा कुनै छलफल नभएको उनको बुझाइ छ ।

कांग्रेस ‘मास वेस्ड’ पार्टी भएको भन्दै जोशीले अहिले १६९ सदस्यीय जम्बो टोली बनाउने अनि धेरै क्याडरहरुलाई व्यवस्थापन गर्ने शैलीको संरचनाले कांग्रेसलाई फाइदा नपुर्‍याउने बताउँछन् । 

तर राजनीतिक विश्लेषक डा. विष्णु दाहाल वरिष्ठहरुको बिदाइले कांग्रेसलाई फाइदा पुग्ने भन्दै विधानको व्यवस्था सकारात्मक भएको बताउँछन् । 

“नेतृत्वमा ७० नाघेकाहरुले ओगटेर बस्दा कांग्रेसलाई नै बुढाहरुको पार्टी बनाउने काम गरेको छ,” डा. दाहालले भने, “वरिष्ठ भनिएकाहरु बिदा हुन्छन्, नयाँ पुस्ताले ठाउँ पाउँछन् । यो कांग्रेसका लागि मात्र होइन नेपालकै राजनीतिका लागि सकारात्मक कुरा बन्न सक्छ ।” 

तर, दाहाल कांग्रेसजस्तो ‘मास बेस्ड’ पार्टीका लागि धेरै ठूलो केन्द्रीय समिति, ठूलठूला संख्यामा भ्रातृ तथा शुभेच्छुक कार्यसमिति उपयुक्त नहुने बताउँछन् ।

दाहालको बुझाइमा कांग्रेससले यस्तो जम्बो कार्यसमिति निर्माणतर्फ लाग्नुमा कम्युनिष्टहरुबाट आएको प्रभाव हो । 

“यहाँ को कम्युनिष्ट को डेमोक्र्याट भनेर छुट्टाउन नै गाह्रो हुने अवस्था छ,” दाहालले भने, “कम्युनिष्ट पार्टीमा कम्युनिष्ट अनुसारका अभ्यास छैनन् । कांग्रेसको संगठन कम्युनिष्ट जस्तो हुँदै गएको छ ।” कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारी निर्वाचित हुने व्यवस्था संशोधित विधानले गरेको छ । 

अहिले नै सभापतिमा १२ आकांक्षी देखिएका छन् । महाधिवेशनसम्म पुग्दा आकांक्षीहरु उपसभापति, महामन्त्रीसहितका पदमा पनि त्यतिकै देखिने हुँदा सभापतिका आकांक्षीकोे संख्या केही घट्ने अवस्था रहन्छ । 

तर, सभापतिमा दुईजना मात्र सीमित हुने अवस्था भने देखिँदैन । कम्तिमा ४ जना सभापतिमा प्रतिस्पर्धा गरेभने तीनजना बाहिरिने निश्चित छ ।

बाहिरिएका तीनजनालाई मनोनीत गर्ने कोटा नहुने नेताहरुको तर्क छ । त्यस्तो अवस्थामा सभापतिमा पराजित हुनेहरु कार्यकालभरि बाहिरै बस्नुपर्ने अवस्था आउन सक्छ । 

यस्तै प्रत्येक पदमा कम्तिमा चारजना प्रतिष्पर्धी भएमा उपसभापतिका प्रतिष्पर्धी मध्येबाट ६ र महामन्त्रीबाट ६ जना बाहिरिने छन् भने ८ सहमहामन्त्रीका लागि हुने प्रतिष्पर्धामा कम्तिमा चारजनाका दरले उमेदवार भए पनि प्रत्यासीमध्येबाट २४ जना बाहिरिन सक्ने अवस्था आउन सक्छ । 

त्यसो हुँदा सहमहामन्त्रीका प्रतिस्पर्धी २४, महामन्त्रीका ६, उपसभापतिका ६ र सभापतिका ३ गरी ३९ प्रतिस्पर्धीहरु निर्वाचनमा पारजित हुने अवस्था छ ।

पदाधिकारीमा प्रतिस्पर्धा गर्नेहरु कांग्रेसका प्रभावशाली नेताहरु नै हुनेछन् । त्यसो हुँदा ३९ जना प्रभावशाली नेताहरु महाधिवेशनबाट बाहिरिन सक्ने देखिन्छ ।
 

 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्