site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महन्थ ठाकुरले गरे चार खुलासा
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले राजनीतिक भविष्यका विषयमा विशेष खुलासा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफलमा रहेका ठाकुरले यस्तो खुलासा गरेका हुन् ।

ठाकुरले वर्तमान संसद् पाँच वर्ष नटिक्ने, प्रधानमन्त्री ओलीले २०७८ भित्रै चुनाव (अर्ली इलेक्सन) गराउने, संविधान संशोधन आयोग गठन हुनेसहितका विशेष खुलासा गरेका छन् । मधेसका मुद्दा सम्बोधनका लागि सत्ता पक्षसँग निरन्तर वार्तामा रहेका ठाकुरले बाह्रखरीसँगको विशेष कुराकानीमा संविधान संशोधन र संघीयताको सिमाङ्कनसहित हेरफेरका लागि आयोग गठन हुन लागेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो संविधान संशोधन र संघीयताको सिमाङ्कनसहितका विषयमा सुझावका लागि कमिसन (आयोग) बन्दै छ,” ठाकुरले बाह्रखरीसँगको अन्तवार्तमा भने, “त्यो आयोगका सुझावका आधारमा संविधान संशोधन प्रस्ताव जान्छ । विगतमा पनि बहुमत संशोधनका पक्षमा भएर पनि दुइतिहाई पुगेन । यसपटक हेर्नुछ, संसदभित्र के हुन्छ ?”

ठाकुरले प्रधानमन्त्री ओली फागुनभित्र संघीय संसद्को निर्वाचन गराउने तयारीमा रहेको पनि खुलासा गरे । “प्रधानमन्त्री जसरी पनि स्थानीय तह निर्वाचनअघि संघीय चुनाव गराउने पक्षमा हुनुहुन्छ,” ठाकुरले भने, “त्यसकारण यो संसद्ले पूरा कार्यकाल काम गर्न पाउँछ भन्ने मलाई लाग्दैन ।” उनले वर्तमान संसद्को शक्ति सन्तुलनले स्थिरता दिन नसक्ने अवस्था देखिएकाले निर्वाचन एक मात्र विकल्प भएको पनि बताए ।

ठाकुरले मधेस तथा थरूहट आन्दोलनमा लगाइएका झुटा तथा राजनीतिक मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ताको रिपोर्ट केही दिनभित्रै सरकारले बुझ्ने जानकारी दिए ।

“विभिन्न प्रकारका मुद्दाहरु लगाइएका छन् । ती कुनै फैसला भइसकेर फरार अभियुक्तका रूपमा राखिएका छन् । कुनै निर्दोषले जेल सजाय भोगिरहेका अवस्थाका र कुनै जरिवाना गरेर फरार सूचीमा राखिएका छन्,” ठाकुरले भने, “सम्भवतः आइतबार वा सोमबारभित्र महान्यायाधिवक्ताबाट रिपोर्ट जानेछ । त्यसपछि सरकारले मन्त्रिपरिषद्बाट कैद तथा जरिवाना मिनाहाका लागि प्रस्ताव पारित हुनेछ ।” उनले सबै मुद्दा फिर्ता गर्न सक्ने चरणमा नभएको भन्दै रेशम चौधरीसहितका केही मुद्दा अदालतकै फैसलाबाट टुंगिनुपर्ने बताए ।
(ठाकुरसँगको विस्तृत कुराकानी केही बेरमा प्रकाशित हुनेछ ।) 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्