site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
होटेल क्वारेन्टिनका लागि पाँचतारेसहित ७० होटेल थपियाे

काठमाडौं । सरकारले विदेशबाट आउने यात्रुका लागि थप ७० वटा होटेललाई क्वारेन्टिनका लागि सूचीकृत गरेको छ । होटेलहरूकै सिफारिसमा पर्यटन विभागले पाँचवटा पाँचतारेसहित थप ७० वटा होटललाई क्वारेन्टिन होटलका रूपमा सूचीकृत हो । भारतबाट आउनेहरूका लागि यसअघि नै ८ वटा होटेल क्वारेन्टिज होटेलको रूपमा सूचीकृत छन् । 

विभागका महानिर्देशक रुद्रसिंह तामाङले सरकारले थप तीनवटा मुलुकबाट यात्रु आउन दिने निर्णयपछि क्वारेन्टिन होटेलको संख्या थप गरेको बताए । होटेल संघ नेपाललगायत होटेल व्यवसायीहरूको सिफारिसअनुसार नै यी होटेललाई क्वारेन्टिन होटेल तोकिएको उनले बताए ।

सरकारले पछिल्लोपटक चीन, कतार र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको थियो । यी तीन मुलुकमा सातामा एक दिन नियमति उडान गर्न दिने निर्णय सरकारले गरेको हो । यी मुलुकबाट ७२ घन्टाभित्रको पीसीआर रिपोर्ट लिएर आउने यात्रु अनिवार्य १० दिन होटेल क्वारेन्टिनमा बस्नुपर्छ । कोरोनाविरुद्धको एक मात्रा खोप लगाएको भए ३ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने छ । यी मुलुकबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी तीन मुलुकबाट आउने यात्रुलाई लक्षित गरी सरकारले थप ७० वटा होटेललाई क्वारेन्टिनका लागि सूचीकृत गरेको होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । तारे होटेलबाहेक अन्य होटेलका लागि क्वारेन्टिन शूल्क ३ हजार रुपैयाँ तोकिएको छ भने तारे होटेलको हकमा आपसी सहमतीमा भनिएको छ । भारतबाट आउने यात्रुले ३ हजार शूल्क तिरिरहेका छन् ।

विभागले होेटेलसँगै मापदण्ड पनि तोकेको छ । कम्तीमा २० वटा कोठा भएका होटललाई क्वारेन्टिन तोकिएको छ । होटेल क्वारेन्टिनका लागि पाँच तारे होटेलमा सांग्रिला, होटेल ‍र्‍याडिसन, होटेल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटेल र एभरेस्ट होटेल रहेका छन् । होटेल क्वारेन्टिनका लागि यी होेटेलहरूले ५० भन्दा बढी कोठा छुट्याएका छन् ।

यस्तै चारतारे होटेलहरू शंकर र होटेल हिमालय र ग्राण्ड होेटेल पनि क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् । तीनतारे स्तरका समिट, अमादब्लम, साम्बाला, हिमालय, होटेल प्लाटिनम, होटेल ट्रेडिसनल कम्फर्ट र होटल ल्यान्डमार्क रहेका छन् । यी होटेलहरूले २० भन्दा बढी कोठा छुट्याएका छन् ।

दुईवटा रिसोर्ट पार्क भिलेज र गोकर्ण फरेस्ट रिसोर्टसहित पर्यटनस्तरका ५१ होटेल पनि क्वारेन्टिन होेटेलमा सूचीकृत भएका छन् ।

 
यस्ता हुनुपर्छ सुविधा:

१. कम्तीमा २० कोठा भएको ।

२. स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला ठाउँ र बगँैचा भएको । 

३. होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न (खाना, पानी, अन्य लजिष्टिक सपोर्ट) र स्वाव परीक्षणको नमूना संकलनको लागि पर्याप्त खुला ठाउँ भएको ।

४. होटलको कोठामा टीभी, वाईफाई अनिवार्य भएको ।

५. होटलको कोठामा अट्याच ट्वाइलेट र नुहाउन तथा पिउन तातो पानीको व्यवस्था भएको ।

६. होटलमा खाना र अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्ने व्यवस्था भएको । 

७. होटलको प्रत्येक प्रस्थान कक्षमा साबुनपानीले हात धुने व्यवस्थाका साथै सेनिटाइजरको व्यवस्था भएको । 

८. होटलले प्रदान गर्ने सेवाहरू सामूहिक रूपमा खाना खाने स्थल, बुफे, जिम, साउना, इन्डोर तथा आउटटडोर गेम पूर्ण रूपमा बन्द गरेको ।

९. प्रत्येक कोठामा एक हप्ता पुग्नेगरी साबुन, टुथपेष्ट, ब्रस, हेन्डवास र टावेल राखिएको ।

१०. नेपाली तथा विदेशी नागरिकहरू विदेशबाट नेपाल आउँदा पालन गर्नुपर्ने मापदण्ड, २०७८ मा तोकिएको क्षेत्रमा रहेको होटल हुनुपर्ने ।

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्