site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्तर्राष्ट्रिय उडानको भाडामा ‘लुट’, प्राधिकरण भन्छ : प्रमाणसहित उजुरी आए कारबाही गर्छौं

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरको प्रकोप बढ्दै गएपछि सरकारले गएको  वैशाख २३ गतेदेखि लागु हुनेगरी अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगायो । नियमित उडानमा प्रतिबन्ध लगाए पनि चार्टर्ड, उद्धार उडान गर्न भने दियो । यस्तै ‘एयर बबल’ सम्झौता अनुसार नेपाल र भारतको नयाँ दिल्ली सातामा एक-एक उडान भने जारी राख्यो ।

तर, अन्य गन्तव्यमा चार्टर्ड उडानको नाममा यात्रुसँग हवाई भाडा धेरै लिएको गुनासो आएको भन्दै सरकारले चीन, कतार र टर्कीका लागि सातामा एउटा उडान गर्न दिने निर्णय गर्‍याे । सरकारको उक्त निर्णयपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्कीस एयरलाइन्स र कतार एयरलाइन्सका लागि सातामा एउटा उडान गर्ने अनुमतीसहितको तालिका सार्वजनिक गर्‍याे ।

चार्टर्ड उडानको नाममा बढी भाडा लिएको गुनासो आएपछि तीन मुलुकका लागि उडान अनुमती दिएपनि यिनै एयरलाइन्सले पनि निकै धेरै भाडा लिएको गुनासो यात्रुहरूले गरेका छन् । विशेषगरी अमेरिका जानेहरूले हवाई भाडामा ‘लुट’ भइरहेको उनीहरूका गुनासो छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिका जानेहरूले टिकटको जोहो गर्न र शुल्कबारे एकले अर्कोलाई जानकारी दिन म्यासेन्सरमा एउटा ग्रुप बनाएका छन् । साेही ग्रुपमा रेश्मा गुरुङले लेखेकी छन् , “जुन १० का लागि एयरलाइन्स कम्पनीले नै १ लाख ७८ हजार र एजेन्टले १ लाख ९० हजार भन्यो । नेपालमा लुट भइरहेको छ । कसलाई दोष लगाउने ? अमेरिका जान ढिलो भइसक्यो ।”

जुन ५ को लागि २ लाख ४० हजार रुपैयाँ भाडा भनिएको पनि उनले भनेकी छन् । यस्तै सोही ग्रुपमा मृदुल भट्टराई भन्छन्, “एक लाख ८० हजार भनियो ।” उनले टिकट पनि नपाएको गुनासो गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न लगाउँदै धेरै नियमित उडान गराउन इमेलमार्फत पर्यटन मन्त्रालय, प्राधिकरणलाई आग्रह पनि गरेका छन् ।

गैरआवासिय नेपाली संघ भर्जिनिया च्याप्टरका अध्यक्ष सुबोध रेग्मीले नेपालबाट अमेरिकामा जानको लागि एकतर्फी भाडा नै १ लाख ६० हजारदेखि माथि भनिएको गुनासो गरे । जबकि नियमित उडानको क्रममा दुईतर्फी भाडा दर नै बढीमा १ लाख थियो ।

उनले नेपालबाट अमेरिका तत्काल फर्कनुपर्नेहरू बढी मारमा परेको बताए । “तत्काल अमेरिका फर्कनपर्नेहरू बढी मारमा परेका छन् । अन्य समयको दुई तर्फी भन्दा बढी एक तर्फी भाडा भनिएको छ” उनले भने, “यो त एयरलाइन्सहरूको नांगो लुट नै भयो ।”

यता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल सामाजिक सञ्जालमा हवाई भाडा धेरै भएको गुनासो गर्ने गरिएको तर मन्त्रालय वा प्राधिकरणलाई उजुरी नदिइएको बताएका छन् । उनले प्रमाणसहित उजुरी गर्ने बढी हवाई भाडा लिने एयरलाइन्सहरूलाई प्राधिकरणले कारबाही गर्ने बताए । “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा नेपाल नागरिक उड्डयन प्राधिकरणमा इमेलबाट प्रमाणसहित उजुरी दिनुहोस् । प्राधिकरणले कारबाही गर्छ,” उनले भने ।

नियामक निकायले सेड्युल उडानको भाडा दर नियन्त्रण गर्न नसक्ने भएपनि अहिलेको अवस्थामा सेड्यूल उडान नभएको अवस्था भएकाले बढी भाडा लिने एयरलाइन्सलाई कारबाही गर्न सक्ने उनले बताए । “सेड्युल उडानको भाडा दर नियन्त्रण गर्न सक्दैनौँ । किनभने दुई पक्षीय हवाई सेवा सम्झौताले नै हवाई भाडाको विषयमा कुनै पनि पक्षले नियन्त्रण गर्ने छैन भनेर बजारलाई नै भाडा दर कायम गर्न छोडिदिएको छ । तर, अहिले बजार छैन । यस्तो बेलामा बढी भाडा लिएको प्रमाणसहित उजुरी गरे सम्बन्धित एयरलाइन्सको अथोरिटीलाई कम्प्लेन गर्न सक्छौँ,” उनले भने ।  

उनले सामाजिक संजालमा भाडा बढी भयो मात्रै भनिएको बताए । “भाडा कति बढी भयो ? कसले बढी लियो ? कहाँबाट टिकट काटेको हो ? प्रमाण त आउनुपर्‍याे नि,” उनले भने, “प्रमाण आयो भने हामी कारबाही गर्छौं ।”  

प्रमाणसहित उजुरी आएको अवस्थामा त्यस्ता एयरलाइन्सको उडान रोक्नेसम्मको कारबाही गर्न उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचना जारी गरेर टिकेटिङमा अनियमितता भए प्रमाणसहित मन्त्रालय वा नागरिक उड्डयन प्राधिकरणलाई इमेलमार्फत उजुरी दिन भनेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्