
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले युवा नेताहरूलाई नेतृत्व फेर्ने पक्षमा भए आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । १३ औँ महाधिवेशन पछि नेतृत्व हस्तान्तरण प्रतिबद्धता जनाएका देउवाले आफैँ दोहोरिने प्रस्ताव शनिबारको भेटमा सुनाएपछि केही आक्रोशित भएका निधिले सोमबार युवा नेताहरूको टोलीसँग भेट गरेका हुन् ।
देउवाले नेतृत्व हस्तान्तरणमा इच्छा नदेखाएपछि आफूले सहयोग गर्न नसक्ने र विगतका प्रतिबद्धता सम्झाएर बाहिरिएका निधिले देउवा उठ्दा वा नउठ्दा दुवै अवस्थामा सभापतिको उम्मेदवार बन्ने भन्दै भेटघाट बढाउँदै सहयोगको आग्रह गर्न थालेका हुन् ।
सोमबार दिउँसो कांग्रेस संस्थापक बीपी कोइराला र गणेशमान सिंहपुत्रसमेत रहेका कांंग्रेस महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहलाई घरैमा डाकेर लन्च मिटिङ गरेका निधिले साँझ युवा नेताहरूको निमन्त्रणामा अनुपम फुडल्यान्ड पुगेका थिए । त्यहाँ उनले देउवालाई एकपटकका लागि भनेर विगतकाे चुनावमा जिताउन भूमिका खेलेको भन्दै अहिले आफू सकेसम्म देउवाको सहयोग लिने नसके छुट्टै चुनाव लड्ने बताए ।
‘‘देउवाजीले प्रधानमन्त्री पनि भएँ, प्रजातान्त्रिक कांग्रेसको सभापति पनि भएँ, अब एकीकृत कांग्रेसको सभापति हुन्छु, सहयोग गर्नुस् भनेपछि विगतमा त्याग गरेर सहयोग गरेको हुँ,’’ निधिको भनाइ उद्धृत गर्दै एक युवा नेताले भने, ‘‘उहाँ गणतन्त्र नेपालको प्रधानमन्त्री पनि भइसक्नुभएको छ । सभापति पनि भइसक्नुभएको छ । तर, दोहोर्याउनुहुन्छ भने मेरो समर्थन रहँदैन ।’’
ती नेताका अनुसार निधिले विद्यार्थी संघमा काम गर्दादेखिको सहकार्यका आधारमा आफूलाई देउवासँग सहयोग माग्ने आधार र अधिकार भएको बताएका थिए । देउवाले सहयोग गर्न नचाहेपनि आफू पछि नहट्ने निधिको भनाइ रहेको ती युवा नेताले बताए ।
‘‘त्यसकारण तपाईँहरू पनि नेतृत्व परिवर्तन चाहनुहुन्छ भने मलाई साथ र सहयोग दिनुहोस्,’’ निधिको भनाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘‘देशभर जति हिँडे मैले साथिहरूमा नेतृत्व परिवर्तनको माग सुनेको छु ।’’
कांग्रेस युवा नेता प्रदीप पौडेलले तयारी हेर्दा निधि सभापतिको उम्मेदवारीबाट पछि नहट्ने देखिएका बताए । ‘‘तयारी र उहाँको मुड हेर्दा सभापतिको उम्मेदवारीबाट देउवा लडेपनि नलडेपनि पछि नहट्ने देखियो,’’ भेटवार्ताबाट बाहिरिने क्रममा पौडेलले भने, ‘‘नेतृत्व परिवर्तनका लागि उहाँले देखाएको सक्रियता सकारात्मक छ ।’’ उनले कांग्रेसका नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै दोस्रो पुस्ताबाट नेतृत्वमा दाबी हुने कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताए ।
कांग्रेस नेतृ सरिता प्रसाईंले दोस्रो पुस्ताबाट नेतृत्वमा गरेको दाबीले युवाहरूलाई ऊर्जा दिने बताइन् । ‘‘विमलेन्द्र दाइले म सभापति लड्दैछु भनेर सबैसँग छलफल गर्न चाहनुभएको रहेछ,’’ भेटमा सहभागी प्रर्साईं ले भनिन्, ‘‘हामीले दोस्रो पुस्ताबाट लिडरसिपमा आउने कुरा सकारात्मक हो, यसले कांग्रेसमा नयाँ ऊर्जा र इनर्जी प्रदान गर्छ भनेका छौँ ।’’ उनले दोस्रो पुस्ताको नेतृत्व दाबी सकारात्मक भएपनि दोस्रो पुस्तामा पनि सहमतिको खोजी हुनुपर्ने बताइन् । उनले सकेसम्म पहिलो पुस्तालाई पनि साथमा ल्याउनुपर्नेमा जाेड दिइन् ।
युवाहरूको चुनौती पनि छ
युवापुस्तासँग नेताहरूको भेटको संयोजन गरिरहेका नेता चन्द्र भण्डारीले भने विश्वमै साघुरिएको कम्युनिस्ट व्यवस्था नेपालमा फस्टाउनुमा कांग्रेसमा देखिएको नेतृत्व अभाव पनि कारण भएको बताए । ‘‘विश्वमा लोकतान्त्रिक व्यवस्था फस्टाउँदै गएको र कम्युनिस्ट व्यवस्था कमजोर हुँदै गएपनि नेपालमा भने कम्युनिस्टकै बाहुल्यता छ र लोकतन्त्रवादीहरू अल्पमतमा छन्,’’ भण्डारीले भने, ’’यसो हुनुको कारण नेतृत्वले जनभावना अनुरूप काम गर्न नसकेर हो । त्यसकारण परिवर्तनलाई हाक्न सक्ने, जनताको भावना बुझ्न सक्ने र राष्ट्रिय अडानमा अड्न सक्ने नेतृत्व आवश्यक छ ।’’ आफूले निधिलाई दोस्रो पुस्तामा पनि मिलेर आउन सुझाव दिएको उनले बताए ।
‘‘तपाईंहरू नेतापुत्र पनि हो, अहिलेको नेता पनि हो । तपाईंहरू मिलेर आउन सक्नुहुन्छ आउनुस् हामी तपाईहरूका सहयोगी बन्न तयार छौँ,’’ भेटवार्तापछि भण्डारीले भने, ‘‘तपाईंहरू मिल्नसक्नुहुन्न भने हामी आफू पनि अघि बढ्न तयार छौँ । सद्भाव, सहकार्य र सोलिडारिटी (ऐक्यबद्धता)मा जाँउ यसले देश पनि बन्छ, पार्टी पनि बन्छ भनेका छौँ ।’’ निधिले अत्यन्त आत्मियताका साथ कुरा राखेको भन्दै उनले प्रजातान्त्रिक चरित्र देखाएको बताए ।