site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘पार्टीले चाह्यो भने महाधिवेशन हुन्छ, हामी जसरी पनि गराउँछौँ’
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आगामी साउन १२ देखि सुरु हुने महाधिवेशनका लागि तयारीको काम तीव्र पारेको छ । पार्टी विधान र नेपालको संविधान अनुरूप पार्टी संरचनालाई लैजान समितिले धमाधम महाधिवेशन निर्देशिका बनाइरहेको छ । 

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले राजीनामा दिँदा कांग्रेसका तीन जिल्ला सिन्धुपाल्चोक, सप्तरी र बारामा पार्टी समायोजन हुन सकेको थिएन । अधिकारी नेतृत्वको निर्वाचन समितिले सबै काम गरेर प्रतिवेदन बुझाएपनि कांग्रेसका केन्द्रीय नेताहरूकै ‘इन्ट्रेस्ट’ हाबी हुँदा विवाद कायम भएपनि अधिकारी राजीनामा दिएर निर्वाचन समितिबाट बाहिरिएका थिए । त्यसपछि अहिले वरिष्ठ अधिवक्ता महादेव यादव निर्वाचन समितिको संयोजक भएका छन् । 

तीन जिल्लाको विवाद मिलाउँदै समायोजनको काम टुङ्गिएपछि निर्वाचन समिति अहिले महाधिवेशन निर्देशिका बनाइरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विगतमा संघीय नभएको संरचनामा महाधिवेशन भएको थियो । अहिले संघीय संरचना अनुरूप महाधिवेशन गराउनु छ । त्यसैले महाधिवेशन निर्देशिका पनि पूरै परिवर्तन गर्नुपरेको छ,” नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले भने, “महाधिवेशन निर्देशिका बनाइरहेका छौँ । केन्द्रीय सदस्यता छानबिन समितिले क्रियाशील सदस्यता टुङ्ग्याउँदासम्म महाधिवेशन थाल्न तयार भएर बस्दैछौँ ।”

कांग्रेसको विधानले सभापतिको नेतृत्वमा दुई महामन्त्री रहेको समितिले केन्द्रीय सदस्यता विवाद टुङ्ग्याउने व्यवस्था गरेको छ  । तर, नेताहरूको व्यस्तता र प्राविधिक जिम्मेवारीप्रतिको अरुचीका कारण सभापति र दुई महामन्त्रीको अधिकार प्रत्यायोजनसहित केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्यता छानबिन समिति गठन भएको छ । समितिले सदस्यता जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट अपडेट हुँदादेखि नै परिपत्र जारी गर्दै काम गरिरहेको छ । 

अहिलेसम्म विदेशस्थित नेपाली जनसम्पर्क समितिबाहेकका आठ लाख २० हजारको क्रियाशील सदस्यता अपडेट भएको छ । १३ औँ महाधिवेशनमा ४ लाख ७२ हजार रहेको क्रियाशील सदस्यता दोब्बर बनाउने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो । जस अनुसार ९ लाख ४४ हजार क्रियाशील सदस्य हुनुपर्ने हो । तर, अहिलेसम्म आठ लाख २० हजार क्रियाशील सदस्यतामात्र अपडेट भएको मुख्य सचिव कृ्णप्रसाद पौडेलले जानकारी दिए । 

“कांग्रेसप्रति जनताको ठूलो आकर्षण देखियो । क्रियाशील सदस्यता झण्डै दोब्बर बनाउँदा पनि पुगेन भन्ने देखि मैले सदस्यता पाइन भन्ने गुनासो आइरहेको छ,” मुख्यसचिव पौडेलले भने, “पुराना क्रियाशील सदस्यको नवीकरण छुटाइएको भनेर गुनासो पनि आइरहेकै छ ।”

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाली कांग्रेसको महाधिवेशन एसियाकै राजनीतिक पार्टीमा सबैभन्दा लोकतान्त्रिक प्रक्रिया भन्दै यसमा जटिलता आउनु स्वभाविक भएको बताउँछन् ।
 
“जनप्रतिनिधिमुलक लोकतन्त्रको अभ्यासमा कांग्रेसको महाधिवेशन पद्धति एसियाका पार्टीहरूमै सबैभन्दा लोकतान्त्रिक छ,” सदस्य घिमिरेले भने, “त्यसैले यसमा जटिलताहरू आउँछन् । धेरैका चित्त बुझाउँदै काम गर्न जटिल भएपनि पार्टी लोकतान्त्रिकरणको प्रक्रियामा काम गर्दा उत्साह मिल्ने गर्छ ।” 

उनले केन्द्रीय सदस्यता छानबिन समितिले काम सकेर केन्द्रीय समितिले विवरण हस्तान्तरण गरेपछि केन्द्रीय समिति नै निर्वाचन समिति भएर काम गर्ने बताए । १२ औँ महाधिवेशनदेखि लगातार निर्वाचन समितिमा बसेर काम गरेका उनले केन्द्रीय समितिबाट हस्तान्तरण भएपनि केन्द्रीय समितिको रोज निर्वाचन समितिका बाधा फुकाउने र निर्वाचन समितिलाई सहयोग गर्दै महाधिवेशनको वातावरण बनाइनुपर्ने बताए । 

केन्द्रीय सदस्यता छानबिन समितिले करिब साढे आठ लाख सदस्यता छानबिन असार मसान्तभित्र सकेर बुझाउने प्रतिबद्धता जनाएको छ । त्यसैले सदस्यता छानबिन समिति दिनरात नेपाल–भारत मैत्री धर्मशालामा रहेको तिलगंगास्थित होटलमा बसेर काम गरिरहेको छ । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत बाढीपहिरो र कोरोना महामारी मात्र कांग्रेस महाधिवेशनका लागि बाधव बन्ने जोखिम रहेको भन्दै भदौ १६ मा महाधिवेशन गर्न अब विधिको मात्र बहस बाँकी रहेको बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १८:५६
प्रतिक्रिया दिनुहोस्