
काठमाडौं । नेपाली कांग्रसको महाधिवेशन फेरि अन्योलमा परेको छ । विधानानुसार कार्यकाल सकिएको कांग्रेसका समितिहरु संविधानको सहारामा आउँदो भदौ १९ गतेसम्मका लागि कामचलाउ वैधानिकतामा छन् ।
भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन तय गरिएको कांग्रेसको क्रियाशील सदस्यता नै नटुंगिदा महाधिवेशनको पहिलो खुड्किलो वडा अधिवेशन नै प्रभावित हुने भएको छ ।
“हामीले क्रियाशील सदस्यता छानबिन अन्तिम अवस्थामा पुर्याएका छौँ, त्यसलाई अन्तिम रुप दिएर अब बुझाउन मात्र बाँकी छ,” केन्द्रीय सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले बह्रखरीसँग भने, “तर, केही साथीहरुले पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनशन गरिरहनुभएको छ । नेताहरु त्यो समस्या समाधान गर्नेभन्दा धर्नास्थलमै उपस्थित भएर विवादमा मलजल गर्ने काम गरिरहनुभएको छ ।” उनले त्यही कारण केन्द्रीय सदस्यता छानबिन समितिलाई प्रतिवेदन बुझाउन समस्या भएको बताए ।
लेखकले पार्टी कार्यालयको धर्ना र क्रियाशील सदस्यताको विवरण चाँडो टुंग्याएर महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने विषयमा नेताहरुबीच समझदारी निर्माण नहुँदा महाधिवेशन कार्यतालिका पुनः प्रभावित हुने अवस्था आएको बताए ।
“यही अवस्थामा आगामी १२ गतेको वडा अधिवेशन त प्रभावित भई नै सक्यो,” लेखकले भने, “नेताहरुबीच चाँडो समझदारी भएन भने पालिका, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला र केन्द्रको समेत तालिका प्रभावित हुनसक्छ ।”
केन्द्रीय सदस्य तथा सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले भने सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि व्यस्त भएका कारण प्रतिवेदन बुझाउने समय टुंगो नगरेको भन्दै प्रतिवेदन अन्तिम चरणमा पुगिसकेको बताए । अनशन बसिरहेका तथा विवाद कायम राखेर केन्द्रीय कार्यालयमा धर्ना बसिरहेका जिल्ला र क्षेत्रका विषयमा भने छानबिन समितिले छानबिन नै बाँकी राखेर प्रतिवेदन दिन लागेको उनले जानकारी दिए ।
“केन्द्रीय सदस्यता छानबिन समितिले करिब काम सकिसकेको छ, प्रधानमन्त्रीसमेत रहनुभएका सभापतिज्यूको कार्यव्यस्तताले प्रतिवेदन बुझाउन भने समय पाएका छैनौँ,” पौडेलले भने, “पूर्वराष्ट्रपतिका छोरा डा. चन्द्रमोहन यादवसहितका साथीहरु अनशन बस्नुभएको छ । अन्य जिल्लाबाट पनि धर्ना बसिरहेको अवस्था छ । उहाँहरुका विषय नेताहरुबाटै सम्बोधन हुनुपर्ने अवस्था छ ।” उनले केन्द्रीय सदस्यता छानबिन समितिको स्तरबाट मात्र समाधान हुन नसक्ने विषयहरु भएकाले ती जिल्लाका विषय थाती नै राखिएको उनले जानकारी दिए ।
पार्टी कब्जा गर्ने र इमानदार नेता–कार्यकर्तालाई पाखा लगाउने गरी क्रियाशील सदस्यता वितरण भएको भन्दै धनुषाका तीन नेताहरु आमरण अनशनमा छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरासमेत रहेका कांग्रेस धनुषाका नेता डा. चन्द्रमोहन यादवसहित नेताहरु रामपल्टन साह र दिनेश नायक पार्टी केन्द्रीय कार्यालयमा साउन ३ गतेदेखि नै आमरण अनशनमा छन् । उनीहरुले हरेकपटक महाधिवेशनका समयमा क्रियाशील सदस्यता वितरण हुने कुराले पार्टी कब्जा गर्न गलत गतिविधि हुने गरेको, इमानदार कार्यकर्तालाई पाखा लगाउने नियतसहित क्रियाशील सदस्यता वितरण हुने गरेको तथा क्रियाशील सदस्यता वितरणमा विधिलाई कुल्चिएको भन्दै अनशन सुरु गरेका हुन् ।
यस्तै, कांग्रेस बाराका पूर्वसभापतिसमेत रहेका पूर्वसांसद लालबाबुसिंह भूइहारलाई क्रियाशील सदस्यताबाटै वञ्चित गरिएको तथा पूर्वजिविस सभापति तथा जिल्ला कार्यसमितिका सदस्यसमेतलाई क्रियाशील सदस्यताबाट वञ्चित गरिएको भन्दै बाराका नेताहरु लालबाबुसिंह भूइहार, रामअयोध्याप्रसाद यादव तथा १४ जना वडा सभापतिहरु १० दिनदेखि धर्नामा छन् ।
अनशनकारी र धर्नाकारीहरुसँग ऐक्यबद्धता जनाउँदै सर्लाही–४ का सांसदसमेत रहेका कांग्रेस नेता अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । “बीपी कोइरालाले पार्टीमा सुकिलामुकिला हाबी हुन्छन् र इमानदार कार्यकर्ताले कांग्रेस जोगाउन फेरि आन्दोलन गर्नुपर्छ भन्नुभएको थियो, कांग्रेसमा त दलाल, माफिया र गुन्डाहरुले कब्जा नै गर्न लागिसके,” राजीनामापछि नेता सिंहले बाह्रखरीसँग भने, “त्यसैले बीपी जयन्तीकै दिन पारेर सांसद पदबाट राजीनामा दिएर कार्यकर्ताको साथमा जाने निर्णय गरेको हुँ ।”
उनले उपसभापति विमलेन्द्र निधिले पार्टी समायोजनका नाममा विभिन्न पार्टीका नेताहरु देखाएर पार्टी कब्जा गर्न खोजेको भन्दै पार्टीमा पूरा समय दिन आफूले प्रधानमन्त्री समेत रहेका पार्टीका संसदीय दलका नेतासमक्ष राजीनामा दिएको बताए ।
अन्योलमा केन्द्रीय निर्वाचन समिति
केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादव क्रियाशील सदस्यताको विवरण नआइपुगेका कारण निर्वाचन समितिले काम थाल्न नपाएको बताए । उनले अहिलेसम्म क्रियाशील सदस्यताको विवरण नआएपछि यही साउन १२ गतेदेखि हुने भनिएको वडा अधिवेशन सम्भव नभएको बताए ।
“हामीलाई क्रियाशील सदस्यता हस्तान्तरण गरेपछि अधिवेशनको प्रक्रिया सुरु गर्न कम्तीमा १५ दिन समय आवश्यक हुन्छ, त्यसैले अहिलेको कार्यतालिका अनुसार महाधिवेशन नहुने सुनिश्चित भइसकेको छ,” संयोजक यादवले भने, “१० गतेसम्म हामीलाई क्रियाशील सदस्यहरुको अन्तिम नामावली आयो भने हामी २५ गतेदेखि मात्र महाधिवेशनको प्रक्रिया सुरु गर्न सक्छौँ ।” उनले केन्द्रीय नेताहरुले केही दिन ढिला हुने जानकारी दिएको भन्दै त्यसकै आधारमा आफूहरुले प्रतीक्षा गरिरहेको बताए ।
यादवले महाधिवेशनका लागि विधान, नियमावली र निर्देशिका आवश्यक पर्ने भन्दै केन्द्रीय निर्वाचन समिति ती सबै कुरा तयार पारेर बसेको बताए । “महासमिति बैठकले विधान संशोधन गरिसकेको छ, त्यसकै आधारमा कांग्रेसले नियमावली पनि बनाइसकेको छ,” यादवले भने, “तिनै विधान र नियमावलीका आधारमा हामीले निर्देशिका पनि बनाइसकेका छौँ ।” उनले अरु कुरा तयार रहेको भन्दै क्रियाशील सदस्यताको सूची नभएका कारण मात्र महाधिवेशन सुरु गर्ने काम रोकिएको बताए ।
यादवले केन्द्रीय निर्वाचन समितिले ६,७४३ वटै वडा, ७५३ पालिका, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र ७७ जिल्लाका निर्वाचन समितिलाई क्रियाशील सदस्यताको सूची, विधान, नियमावली र निर्देशिका दिएर अधिवेशनका लागि पठाउने जानकारी दिए ।