site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलोपटक ‘ग्लोबल क्वालिफायर’ खेल्ने महिला क्रिकेट टोलीको विश्वास
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेकेको ढेड दशक समय बितिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मञ्चको सबैभन्दा ठुलो प्रतियोगिता हो– विश्वकप । सुरुआती दिनमा आशालाग्दो प्रदर्शन गरे पनि विश्वकप यात्रामा नेपाली महिला टोलीले अहिलेसम्म एसियाली छनोट प्रतियोगितामा पार गर्न सकेको छैन । 

आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको पछिल्लो संस्करणमा नेपालको यात्रा थाइल्यान्ड तगारो बनेको थियो । थाइल्यान्डमा सम्पन्न एसियाली छनोट प्रतियोगितामा नेपाल थाइल्यान्डसँग ५७ रनले पराजित भएको थियो । उक्त हारसँगै नेपाल राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो स्थानमा रहेपछि विश्वकप यात्रा टुंगिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, यसपटक एसियाली छनोटमा थाइल्यान्ड छैन । थाइल्यान्डले सिधै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ । त्यसकारण पनि यसपटक नेपाललाई पहिलोपटक ग्लोबल छनोटमा स्थान बनाउने मौका छ । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षण सम्हालेका जगत टमाटा पनि त्यसमा विश्वस्त देखिन्छ ।

“यसपटक हाम्रो टिम राम्रो बनेको छ । हामीले प्रतिस्पर्धी टिमलाई कमजोर आँकेका छैनौँ । हाम्रो लक्ष्य उत्कृष्ट प्रदर्शन गर्नु हो । राम्रो क्रिकेट खेल्यौँ भने नतिजा पनि राम्रो आउछ,” नेपाली क्रिकेट टोलीको पनि प्रशिक्षण सम्हालिसकेका टमाटाले भने, “त्यसका लागि हामी तयार छौँ । हामी लामो समय लिएर टिम तयार बनाएका छौँ । त्यसकारण पनि यस टिमबाट राम्रो नतिजाको अपेक्षा गरेको छु ।” 

युनाइटेड अरब इमिरेट्स (यूएई) मा मंसिर ६ देखि १२ गतेसम्म हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ देशसँग प्रतिस्पर्धा गर्नेछ । 

राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ । ग्लोबल क्वालिफायर प्रतियोगिताबाट शीर्ष दुईले २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछन् । 

त्यसकारण विगतको प्रदर्शन हेर्दा एसियाली छनोटमा नेपाललाई बलियो दाबेदार मानिएको छ । यसपटक थाइल्यान्ड र चीन नभएका कारण पनि नेपालको सम्भावना बलियो देखिएको छ । 

यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले भदौ ६ गते २४ जनालाई बन्द प्रशिक्षणमा बोलाएर तयारी थालेको थियो । २४ जनाबाट दश खेलाडीलाई बाहिर राख्दै प्रशिक्षक टमाटाले गत बुधबार १४ सदस्यीय टोली घोषणा गरेका छन् । 

टिममा नयाँ खेलाडीको जोस र पुराना खेलाडीको अनुभवको मिश्रण छ । त्यसकारण पनि टोली सन्तुलित बनेको प्रशिक्षक टमाटा बताउँछन् । 

“युवा खेलाडीको प्रदर्शनबाट म सन्तुष्ट छु । उनीहरूमा नयाँ जोस छ । अहिले हाम्रो ब्याटिङ राम्रो छ । बलिङमा केही सुधार आवश्यक छ,” प्रशिक्षक टमाटाले भने, “नेपाली टोलीको खेल्ने तरिकामा धेरै परिवर्तन भएको छ । हामीले यो टोलीबाट राम्रो नतिजाको अपेक्षा गरेका छौँ ।”

प्रशिक्षक टमाटाले थपे, “टिममा पहिलोपटक परेकी कविता जोशी हार्ड हिटर हुन् । डोली भट्टले पनि आफ्नो कौसलाता देखाइरहेकी छन् । रुविना श्रेत्री, सिता रानामगर, कजल श्रेष्ठ र ज्योती पाण्डेयाजस्ता अनुभवी खेलाडी पनि टोलीमा छन् । टिम मिलेको छ । हाम्रो लक्ष्य ग्लोबल छनोट प्रतियोगितामा स्थान बनाउने हो ।” 

सुदूरपश्चिमकी कविता जोशीले दाङमा सम्पन्न प्रधानमन्त्री कप र काठमाडौंमै सम्पन्न ललितपुर मेयर्स कपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । कविताको आगमनले टिम थप मजबुद बनेको उप–कप्तान सीता रानामगर बताउँछिन् । 

“युवा खेलाडीमा राम्रो जोस देखिन्छ । नयाँ अनुहार कविताले प्रशिक्षणमा गरको प्रदर्शनले टिमलाई उत्कृष्ट प्रदर्शन गर्नमा केही राहत मिल्छ भन्ने लागेको छ,” उपकप्तान सीताले भनिन् । 

नेपाली टोली :
रुविना क्षेत्री (कप्तान), डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु वर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगिता राई 

नेपालको खेल तालिका
नोभेम्बर २२ – हङकङविरुद्ध नेपाल
नोभेम्बर २३ – भुटानविरुद्ध नेपाल
नोभेम्बर २५ – कुवेतविरुद्ध नेपाल
नोभेम्बर २६ – मलेसियाविरुद्ध नेपाल 
नोभेम्बर २८ – युएईविरुद्ध नेपाल

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्