
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको भोलि उद्घाटन हुँदैछ । सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।
उद्घाटनका लागि मञ्च व्यवस्थापनसहितका काम धमाधम भइरहेका छन् । तर, अलग अलग प्यानलमा निर्वाचनमा भाग लिन लागेका संस्थापनइतर कसैले पनि उमेदवारको टुंगो लगाउन सकेका छैनन् ।
संस्थापन पक्षले पहिलोचरणमै जित निकाल्न कसैलाई तान्न सकिन्छ कि भनेर पर्खिरहेको छ । उसले अहिलेकै मतले पहिलो चरणमा जीत निकाल्न पर्याप्त नहुने विश्लेषण गर्दै अर्को पक्षको मत तान्न सभापतिबाहेकका महत्वपूर्ण पद दिनसक्ने विकल्प खुल्ला राखेको हो ।
सभापतिमा शेरबहादुर देउवालाई नै दोहोर्याउने निर्णय गर्दै बाँकी पदाधिकारीमा कसको दाबी भन्ने विषयमा छलफल जारी भए पनि निर्णय हुन सकेको छैन ।
बुधबार पनि देउवाले सबैका कुरा सुनेर कसैका बारेमा पनि निर्णय गर्न सकेनन् ।
तर, संस्थापनइतर पक्षको अवस्था भने फरक छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् ।
उनीहरुमध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक एउटै उमेदवार हुने सर्तमा आफू उमेदवारीबाट पछि हट्ने अवस्थामा छन् । तर, पूर्वमहामन्त्री प्रकाशमान र नेता शेखर कोइराला आफू उमेदवार बन्ने अडानमा टसकोमस भएका छैनन् ।
केन्द्रीय सदस्य, जिल्ला सभापति र क्षेत्रीय सभापतिका सुझाव लिएर ‘नेताहरु एक भएर साझा उमेदवार दिन सके चुनाव जितिन्छ’ भन्ने अवस्थामा छन् ।
तर, दुई नेता आफ्नो अडानबाट पछि नहट्दा सहमतिका लागि लागेकाहरु पनि निराश भएका छन् ।
आफू टिमको नेता भएर पनि सहमति हुन्छ भने म आफ्नो दाबी छोडन तयार छु भन्दै आएका वरिष्ठ नेता पौडेल दुई नेताको अडानबाट हैरान छन् । उनले नेता प्रकाशमान र शेखरलाई अनेक ‘अफर’ गर्दा पनि सहमतिका लागि टसकोमस नभएपछि नेताहरुलाई दबाब पर्ने भाषा प्रयोग गरेका छन् ।
पार्टीभित्र न्यायको खोजी गर्दा नभएपछि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोडेको घोषणा स्मरण गर्दै उनले आफूलाई पनि त्यसो गर्न बाध्य नपार्न टिमका नेताहरुलाई आग्रह गरेका छन् ।
“पार्टी नेतृत्वमा गलत व्यक्ति पुग्दा अहिले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको छ । देश र जनताको हितका लागि स्थापित पार्टी धनवाद र डनवादको शिकार बन्ने खतरा बढको छ । यस्तो अवस्थाको अन्त्यका लागि लाग्नुपर्ने तपाईंहरु आफ्नो सर्त बाहेक सुन्न चाहनुहुन्न भने म पार्टी राजनीतिबाट बिदा लिन्छु ।”
उनले यसो भनेर नेताहरुलाई गलाउने अस्त्रको मात्र प्रयोग गरेका छैनन् आफ्नो निराशा पनि प्रकट गरेका छन् ।
नेता रामशरण महत त प्रकाशमान र डा. शेखरको अडानले पार्टी फेरि पनि देउवाकै हातमा पुग्ने भन्दै त्यसले विचार र निष्ठाको राजनीति गर्ने सबैलाई निराश बनाउने बताएका छन् ।
“म हुन्छु भने ठिक छ, हुँदैन भने साझा उमेदवार तय हुँदैन भन्ने अडान उहाँहरुमा देखिन्छ,” महतले भने, “उहाँहरुको अडानले साझा उमेदवार चयन गर्ने सम्भावना देखिएन । यस्तो अडानले अन्ततः शेरबहादुरलाई नै सहयोग पुग्ने हो ।”
उनले पार्टीमा साझा नेता खोज्नु पर्नेमा संस्थापन इतरमा पनि साझा नेता नभेटिनुलाई दुर्भाग्यपूर्ण भनेका छन् ।
प्रदेश नम्बर १को अधिवेशनमा टिम व्यवस्थापनकै समस्याले दुई मतले चुनाव हारेका नेता गुरुराज घिमिरेले नेताहरुबीच असहमतिको खाडल साँघुरिने भन्दा गहिरिने काम भएको बताए ।
“अहिलेसम्म भएका बैठकबाट पनि साझा उमेदवार खोज्न सकिएन, नेताहरुबीच नरम गरम बहसको अवस्था बन्यो,” घिमिरेले सहमतिमा देखिएको जटिलताको संकेत गर्दै भने ।
नेता घिमिरेका अनुसार सभापतिका आकांक्षी बाहेकको बैठक साझा उमेदवारका लागि प्रस्ताव बनाएर आकांक्षी नेताहरु समक्ष राखेपछि उनीहरुले स्वीकार्ने अपेक्षा छ । तर, त्यसलाई स्वीकार गरेनन् भने अवस्था अझ जटिलतार्फ उन्मुख हुन्छ ।
संस्थापन इतरमा विशेष गरी कांग्रेसका १२ युवाले नेताहरुलाई सहमतिका लागि बाध्य पार्ने अठोट सार्वजनिक गरेका थिए ।
त्यसरी धारणा सार्वजनिक गर्नेमध्येका नेता हुन् चन्द्र भण्डारी । उनी पनि बुधबारको बैठकपछि निराश हुँदै चाक्सिबारीबाट बाहिरिएका छन् ।
नेता शेखर कोइरालालाई उमेदवार सुनिश्चित गर्दा उनीसहितका युवाहरुको व्यवस्थापन सहज हुने विश्लेषण गर्दै त्यस अनुरुपकै अभियान चलाइरहेका भण्डारी चाक्सीबारीबाट बाहिरिँदा नेताहरु सहमतिमा पुग्न नसके युवाहरुले आफैँ उमेदवार घोषणा गर्ने भनाई दोहोर्याएका थिए । तर, उनको शब्द त्यस्ता भए पनि उनमा सहमति हुन नसकेका कारण आएको निराशा देख्न सकिन्थ्यो ।
नेता सिंहले बिहीबार बिहान काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो तयारी निकै अघि बढेको संकेत गरेका छन् ।
पछिल्लो हप्ता प्रकाशमान सिंहले कडा अडान राख्दै आएका छन् । पौडेल पक्षमा बसेर पनि हेपिनुपरेको महसुस गरेर आफू सभापति नलडी नछोड्ने अडानमा देखिएका सिंहलाई पौडेल पक्षको व्यवहारले नै आक्रोशित पारेको उनी निकट नेताहरु बताउँछन् ।
सिंहको भनाई उद्धृत गर्दैै बैठकमा सहभागी एक नेता भन्छन्, “सधैँभरि गणेशमान सिंहको परिवारले त्याग गर्नुपर्ने ? कोइराला परिवारले एकपल्ट त्याग गर्न हुँदैन ?”
उनले आफू शेखर कोइरालाभन्दा पार्टीमा सिनियर भएको उल्लेख गर्दै अघिल्लोपटक पनि आफू केन्द्रीय सदस्यमात्रै भएर बसेको जनाएका थिए ।
हुन पनि सिंहको आक्रोश बुझेका पौडेल टिमका नेताहरुले अन्यत्र बैठक गरे सिंह अनुपस्थित हुने जोखिम बुझेर नै उनकै निवासमा नियमित जसो बैठक राखिरहेका छन् । तर, उनले ‘सभापतिमा मेरो अडान कायम छ, तपाईंहरु अन्यथा निर्णय गर्नुहुन्छ भने म सभापति लड्छु, मैले टिमका लागि गर्नुपर्ने सबै त्याग गरिसकेको छु, अब तपाईंहरु सभापति बाहेकका पद सेयर गर्न सक्नुहुन्छ भने पद शेयरिङका प्रयास गर्नुस् होइन भने आफूआफै लडौँ’ भनिसकेका छन् ।
१३औँ महाधिवेशनदेखि लगातार देश दौडाहा गरेर ‘देउवा विरुद्धको जनमत बनाएका’ शेखर कोइराला युवाहरुको आकांक्षा पूरा गर्न आफू उमेदवार बन्ने र चुनाव जित्ने अडानमा छन् ।
दुवै नेताको चट्टानी अडानका कारण निर्णयमा पुग्न कठिनाइ भइरहेको नेताहरुको प्रतिक्रिया छ । युवा नेताहरुले अन्तिमसम्म पनि प्रयास गरेर एकमात्रै उमेदवार बनाउने तयारी गरेका छन् ।