site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यकामा थप कडाइ गर्ने तयारी

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम गर्न देशभरको प्रतिवन्धात्मक व्यवस्थामा थप कडाइ गरेको छ । 

जसअनुसार सरकारले माघ १५ गतेसम्म सिनेमा हल, जिम खाना, दोहोरी, पटके हाट, डान्सबार सञ्चालनमा रोक लगाएको छ । यसैगरी धार्मिक स्थलहरूमा स्वास्थ्य प्रोटोकल पालना गरेर मात्र पुजाआजा गर्न पाइने छ । अबदे‍खि सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी प्रवेश गर्न पाउने छैनन् । पार्टी प्यालेसमा कुल क्षमताको एक तिहाइ मानिस मात्रै सहभागी गराउन पाइने छ ।

पछिल्लो एक साता यता काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणदर तीव्र गतिमा फैलिरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले मन्त्रिपरिषद्को निर्णय आइसकेपछि आवश्यकताअनुसार कदम चाल्न तयार रहेको जानकारी दिइन । उनले उपत्यकाको संक्रमण रोकथामबारे प्रजिअहरू छलफलमा जुटिरहेको पनि बताइन् ।

‘‘पछिल्लो समय उपत्यकामा अत्यधिक मात्रामा संक्रमण बढिरहेको छ । यसको रोकथाम गर्न मन्त्रिपरिषद्ले विभिन्न निर्णयहरू गरिसकेको छ । अब उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का सीडीओहरूको बैठक बसेर आवश्यक निर्णय गर्छौं,” ढुंगेलले भनिन् ।

यसअघि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले जिल्लाको अवस्था हेरेर छुट्टाछुट्टै आदेश जारी गरेका थिए । तीनै जिल्लाले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेका थिए ।

उनले मन्त्रिपरिषद्को नयाँ निर्णयअनुसार पहिले जारी गरिएका आदेशमा तत्काल फेरबदल गर्न सकिने बताइन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि संक्रमणदर अत्याधिक फैलिएकाले छिट्टै मन्त्रिपरिषद्का निर्णयहरू कार्यान्वयनमा ल्याउने गृहकार्य भइरहेको जानकारी दिइन् । उनले आफ्नो जिल्लाको अवस्था हेरेर जिल्लैपिच्छे फरक आदेश जारी हुनसक्ने बताइन् । 

‘‘सरकारले पहिले गरेका निर्णयहरू कार्यान्वयनको अवस्थामा छन् । आज पुन: मन्त्रिपरिषदका थप निर्णयहरू सार्वजनिक गरिएको छ । अब पहिले स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएका निर्णयहरू फेरबदल गरिने छ,” उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मन्त्रिपरिषदका निर्यणहरू कार्यान्वयनमा लैजान गृहकार्य गरिरहेको जनाएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उपत्यकाको हकमा तत्काल निर्णयहरू कार्यान्वयन गरिने जानकारी दिए । उनले पनि पहिले जारी भएका आदेश फेरबदलको तयारी थाल्ने बताए । 

‘‘मन्त्रिपरिषदका निर्णयहरू प्रशासनमा आइपुगेको छैन । गएको पुस २७ गते तीन जिल्लाले अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गरेका थियौँ । तत्काल कडा लकडाउन नै जारी गर्ने अवस्थामा पुगेका छैनौँ । सरकारका निर्णयहरू कार्यान्वयन गर्ने प्रक्रियामा छौँ । निर्णयहरू कडाइका साथ पालना गराउनै पर्छ,” उपाध्यायले भने । 

कोभिड सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनको क्रममा प्रशासनको आदेश अवज्ञा भएको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जनाइएको छ । 

यस्तै मन्त्रिपरिषद्ले ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको छ । 

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्