site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
धनकुटा प्रदेश १ नै पाल्न सक्ने क्षमता राख्छ– हामीले सोहीअनुसार काम गर्नुपर्छ 

धनकुटा । धनकुटाका उद्योगी व्यवसायीलगायत सरोकारवालवालाहरूले धनकुटाका सम्भावनालाई उचित प्रयोग गर्दा प्रदेश–१ नै कायपलट हुने बताएका छन् । 

बाह्रखरी मिडियाले धनुकटामा आयोजना गरेको ‘प्रदेश–१ को समृद्धिको बाटो’ विषयक राउण्ड टेबलमा सहभागी उद्योगी व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले यस्तो बताएका हुन् । 

सो क्रममा उनीहरूले प्रदेशसहित समग्र देशकै आर्थिक समृद्धिका लागि धनकुटाको कृषि उत्पादनलाई ध्यान दिन सक्नुपर्ने बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सो क्रममा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा कृषि उत्पादनमूलक जिल्ला भएको बताउँदै यहाँका सम्भावनालाई पहिचान गरी परिचालन गर्दा देशलाई नै पाल्ने बताए । 

सो क्रममा उनले जिल्लाका स्रोतसाधनको उपयोग हुन नसकेको भनी गुनासोसमेत गरे । 

“धनकुटाको काखबाट नदी बगेर गएको छ । हामी एक हुन जरुरी छ । योजनाका साथ हामी अघि बढ्न सके वैदेशिक पलायन हुने युवा रोक्न सकिन्छ । धनकुटाबाट एक लाख युवा बाहिरिएका छन् । हामीसँग पर्यटन क्षेत्रमा काम गर्न सक्ने धेरै आधार छन्,” उनले भने । 

त्यसैगरी, कृषि अभियन्ता जीवनप्रसाद राईले एभोकाडो ब्रान्डिङ, कफी प्रशोधनको ठूलो सम्भावना रहेको बताए । पाख्रीबास कालो जातको बंगुरलाई ब्रान्ड गर्न र चीन एवं भुटान निर्यात गर्न सकिने उनको भनाइ छ । 

“२२ आर्थिक वर्षको बजेटबराबर चीनले एक वर्षमा बंगुरको मासुका लागि लगानी गरिहेको छ । बंगुरको मासुका लागि भुटानमा ठूलो बजार छ । मासु प्रशोधन गरेर बढाउन सके धनकुटाको समृद्धिको आधार बन्न सक्छ,” उनले भने । 

कृषि पर्यटनलाई अगाडि बढाउन सके जिल्लामा समृद्धि हासिल हुन सक्ने बताए । तर, व्यवसाय छनोट गर्नमा समस्या रहेको उनको भनाइ छ । 

सो क्रममा उनले विकासका लागि प्रदेश सरकारभन्दा बढी स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए । 

“प्रदेश सरकार पछि बनेको हो । पहिलो जिम्मेवारी स्थानीय सरकार नै हो । प्रदेशको मन्त्रीलाई गएर भनेट्न कठिन छ । सिंहदरबारमा पुग्न कठिन छ । तसर्थ जनताको पहुँच पुग्ने सरकार नै स्थानीय सरकार हो । तर, स्थाानीय तहमा थोरै बजेट छ । लघु उद्यमसँग कुरा गर्न कठिन छ,” उनले भने । 

नगर सरकारले लगानीका क्षेत्र पहिचान गरी टिम बनाएर बैंकहरूलाई लगानी गराउनुपर्ने उनले बताए । 

कार्यक्रममा धनकुटा नगरपालिका उपमेयर सकुन्तला बस्नेतले धनकुटाको विकासका लागि पाश्र्वचित्र बनाएको बताइन् । 

एभोकार्डोका लागि धनकुटा एसियाको राजधानी भएको जानकारी दिँदै उनले किसानलाई बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक टनेल, गोबरग्यास जडान, मल प्रशोधन गर्ने नयाँनयाँ प्लान्ट प्रदान गरेको जानकारी दिइन् । 

धनकुटा नगरपालिका निकै मितव्ययी बनेर अघि बढेको बताउँदै उनले आफूसँग भएको बजेटको सही सदुपयोग गरेको बताइन् । 

“हामीले अस्पतालका लागि दुईवटा एम्बुलेन्सको व्यवस्था गरेका छौँ । महँगा गाडी किनेका छैनौँ,” सो क्रममा उनले भनिन् । 

उद्योगी र व्यवसायीका कुरा गलत नभएको बताउँदै उनले समस्या समाधानका लागि पहल भइरहेको बताइन् । 

“१० वटै वडामा सडक पुगेको छ । तर, चिल्लो बनाउन सकिएको छैन । डोलीमा बिरामी बोक्नुपर्ने र टाढाबाट पानी बोक्नुपर्नेजस्ता समस्या अन्त्य भएका छन् । हामीलाई माथिबाट आउने बजेट अपुग भएको छ,” उनले भनिन् । 

सरकारले महिला तथा युवा व्यवसायीका लागि सहुलियतपूर्ण ऋण व्यवस्था गरे पनि धितो राखेर ऋण लिनुपर्ने, प्रक्रिया झन्झटिलो भएको र स्थानीय निकायले सहजीकरण नगरेको उनको भनाइ छ । 

राउन्ड टेबलमा सहभागी स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी, युवा तथा महिला व्यवसायी, घरेलु तथा साना उद्योग व्यवसायी, प्रशासकीय अधिकृतलगायतले जिल्लामा भएका अवसर, चुनौती र समस्या एवं समाधानको विषयमा व्यक्त गरेको कुराहरू यस्ता छन् । 
 
युवा उद्यमी : सुनीलकुमार डंगोल 


युवा व्यवसायमा सहभागी हुन चाहन्छन् । सरकारले वैदेशिक रोजगारबाट फिर्ता भएकाहरूलाई सहुलियत ऋणको व्यवस्था गरेको छ । 

विदेशबाट आएका साथीहरू प्रविधिको प्रयोगमा अभ्यस्त हुन्छन् । तर, नेपालमा सम्भव छैन । प्रविधिको विकासमा स्थानीय सरकारहरूले ध्यान दिइरहेका छैनन् ।

ऊर्जाशील व्यक्ति केही गरूँ भनेर स्वदेश आउँछन् । तर, उपयुक्त वातावरण छैन । बैंकमा जाँदा सहज रूपमा ऋण पाउन सक्दैनन् । 

प्लाइ बनाउन धनकुटाबाट उतिस तराईं लगिन्छ । यहीँ प्रशोधन गर्न सके राम्रो हुने थियो । 

परम्परागत रूपमा काम गर्दा उत्पादनमा बढी लागत लाग्ने गरेको छ । हामीले हाम्रा सामग्री बाहिर निर्यात गर्न सकिरहेका छैनौँ । जसका कारण शोधान्तर घाटा बढिरहेको छ । चीनले काठको धुलोको फर्निचर बेचिरहेको छ । 

सरकारले बिलासी बस्तुको आयतलाई रोक्ने भनेको छ । तर, अहिलेसम्म रोकिएको छैन । सरकारले एलसी क्यान्सिल गरेको छ । त्यस्ता बस्तु ल्याउँदा नगद धरौटी राख्नुपर्ने अवस्था छ । 

प्रविधिको प्रयोग गरी वस्तु उत्पादन गर्न सकेमा आयत घटाउन सकिन्छ । 

कोभिडका कारण व्यवसायमा ठूलो असर परेको छ । विनाधितो सहुलियत ऋण प्राप्त गर्नसके ऊर्जावान् उद्यमीले स्वदेशमै काम गर्थे । 

कोभिडका कारण सबै उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । ठेकेदारले समयमा काम सक्दा पनि पैसा आउन सकेको छैन । 

तारा तितुङ, महिला उद्यमी तथा वरिष्ठ उपाध्यक्ष– उद्योग वाणिज्य संघ, धनकुटा 


धनकुटामा महिलाको सक्रियता र लगानीमा उद्यमको संभावना छ । महिलाले निःशुल्क तालिम पाएका छन् । स्थानीय तहमा अहिले पनि उद्यमशील तालिम भइरहेको छ । 

घरेलु र स्थानीय तहले दिएको खुकुरी, ढाका, सजावट सामग्री, बाँसको हाते होजियारी बनाउने तालिमबाट धेरै उद्यमी भएका छन् । तर, त्यसको यकिन तथ्यांक छैन । तामिको प्रभावकारिता कति छ भनी हामीले खोज्नुपर्छ । 

एक जनाले एकभन्दा बढी तालिम लिएको पाइन्छ । यसरी धेरै क्षेत्रमा तालिम लिनुभन्दा एकै विषयमा निपूर्ण हुँदा राम्रो हुन्छ । 

विगतमा सिकेका कुराको प्रदर्शनी हुन्थ्यो । केन्द्रले सम्मान गर्दथ्यो । मैले पनि भाग लिएर राष्ट्रिय पुरस्कार पाएकी थिए । अहिले सीप सिके पनि उत्पादित वस्तु कहाँ देखाउने भन्ने छ । आफूले गरेको कामको प्रदर्शन र मूल्यांकन हुँदा त्यसले प्रोत्साहित गर्छ । 

विगतमा घरेलुले प्रदर्शनी गर्ने गरेको थियो । उत्कृष्ट हुनेहरूलाई उद्योग मन्त्रालयले विदेश भ्रमणमा लैजान्थ्यो । अहिले यी सबै बन्द भएका छन् । 

महिला उद्यमीलाई पाँच लाखदेखि पन्ध्र लाखसम्म बिनाधितो ऋण दिइन्छ । तर, स्किम राम्रो लेख्नेले सुविधा पाएका छन् ।

वास्तविक व्यवसायीले पाइरहेको छैन । महिला उद्यमी स्किम लेख्न सक्दैनन् नियम त पालना गर्नुपर्छ । निकायले आफैँ स्किम लेख्ने व्यवस्था गरिदिनुपर्छ । 

कोभिडका कारण महिला उद्यमी पनि पलायन भए । अहिले उद्यम गर्नेले ऋण र सुविधा पाएका छैनन् । घरेलुबाट ऋण लिँदा ६ प्रतिशत ब्याज थियो । धनकुटाको बजार क्षेत्रमा बैंक छन् । बैंकको शाखा सबैतिर बस्नुपर्छ । 

२०५४ सालमा तालिम लिएपछि मैले एउटा मेसिनबाट प्रशिक्षण केन्द्र खोलेँ । 

डम्बरराज काफ्ले (कोषाध्यक्ष) : होटेल एसोसिएशन जिल्ला धनकुटा 


कोरोनाका कारण  विगत तीन वर्षदेखि होटेल व्यवसायी ठूलो मारमा परेका छन् । व्यवसाय बन्द भएको छ ।  आफ्नो संरचनामा व्यवसाय गर्नेभन्दा पनि भाँडामा र बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरु समस्यामा छन् । 

कोरोना महामारीबाट अधिक प्रभावित हुनेमा होटेल क्षेत्र पनि हो । व्यवसायीले बैंकको ब्याज तिर्न र खर्च धान्न सकिरहेका छैनन् । 

राज्यले होटेल व्यवसायीलाई पनि सहुलियतको व्यवस्था गरेको छ भनेको छ । कसले दिने हो ? राज्यले के गर्न खोजेको हो ।

केही थाहा छैन । बैंक जाँदा धितोको कुरा गर्दै कसरी तिर्छौ ? व्यवसाय चलेको छैन भन्छ ।स्थानीय तहले पनि होटेल व्यवसायलाई वास्ता गर्दैन । 

हरेक वर्ष पर्यटकीस्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा फुड फेस्टिभल हुन्छ । सिधुवाले पनि कार्यक्रम गर्छ । तर, कसरी उठाउने भन्ने नगरपालिकाको देखिएन । 

मानिस आउने क्रम घटेको छ । होटेल व्यवसाय चल्नु भनेको पर्यटन प्रवद्र्धनको आधार हो । आउनेहरुका लागि पनि बास बस्ने, चिया खाने वातावरण छैन । यतिखेर लोकसेवाका कारण मात्रै धनकुटा सदरमुकामका होटेल व्यवसायी बाँचेका छन् । 

होटेल व्यवसायीले नगरपालिकामा प्रस्ताव पेस गर्दा बजेट कोभिडले खायो भन्ने जवाफ आउँछ । होटेल व्यवसायी भनेका भाँडा माझ्ने हुन भन्ने मानसिकता छ । 

व्यवसायीलाई उजागर गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच नीतिगत समझदारी हुन जरुरी छ । 

अर्जुन केसी (अध्यक्ष) : नेपाल निर्माण व्यवसायी संघ, धनकुटा 


निर्माणसँग सम्बन्धित काम भइरहेको छ । उपभोक्ताबाट भएका कतिपय कमजोरीका कारण गुणस्तरको विषयमा प्रश्न उठाइन्छ । 

उपभोक्ता समितिमा बस्ने साथीहरुले इमानदारितापूर्वक काम गरे राम्रो हुने थियो । यो पेसामा म आबद्ध भएको पच्चीस वर्ष भयो । स्टक्टर फेरिएर आउँछन् । 

राजनीतिक कारण देखाएर काममा अवरोध हुन्छ । बिजुलीका पोलजस्ता स–साना समस्या र समयमा भुक्तानी नहुँदा ठेकेदारले समयमा काम गर्न सक्दैनन् । 

अधिकांश योजना हामीले उधारोमा काम गरेका हुन्छौंँ । खल्तीमा पैसा राखेर काम गरिँदैन । सजक भएर काम गर्छौँ । काम छिटो गर्नसके हामीले दश प्रतिशतसम्म बोनस पाउँछौँ । समय तोकेर भुक्तानी भए काम गर्न सहज हुने थियो । 

नगेन्द्र राई (अध्यक्ष) : नेपाल पत्रकार महासंघ, धनकुटा 


मिडिया पढेर राजनीतिक रूपमा विचार निर्माण हुन्छ । तर, आर्थिक समृद्धिका लागि भने यस्तो परिपाटी भएको छैन । मिडियाले सबै सूचना दिन सकेको छैन । मिडियाकर्मी जति सक्षम र विज्ञ हुन्छन् देश निर्माण्मा त्यति नै सहयोग पुग्छ । 

न्यूयोर्क टाइम्सले कुनै विषय कभरेज गर्नु ठूलो कुरा हो । उसले कभरेज गरेको कुनै विषय एकैचोटि एक करोडसमक्ष पुग्छ ।यहाँ एउटा पार्टी सत्तामा पुग्दा अरुलाई अनागरिक भन्ने धारणा छ । सत्तामा दलभन्दा बाहिरका नागरिकको पहुँच हुँदैन । 

देश विकासका लागि राज्यले दायित्व लिनुपर्छ । यदि राज्यले दायित्व नलिए निजी क्षेत्रले लिनुपर्छ । तर, यहाँ निजी क्षेत्रले राज्यलाई आफ्नो अभिभावको रुपमा हेरिरहेको छैन । 

त्यसैगरी, राज्य र मिडिया एकअर्काप्रति उत्तरदायी छैनन् । विचार निर्माण गराउने मिडियाको जिम्मा हो । तर, मिडिया आफ्नो जिम्मेवारी निर्वाह नगरिरहेको हो कि भन्ने देखिन्छ । 

मिडियाले कार्यकारी रूपमा विचार निर्माण गराउनका लागि सन्देश र कन्टेन्ट निर्माण गर्नुपर्छ । कहाँ समस्या छ ? कहाँ लक्ष्य बनाउने र समाचार प्रकाशन गर्ने भन्दा पनि घटनामा केन्द्रित भएको देखिन्छ । 

प्रदेश–१ को समृद्धिका लागि राज्यले पर्यटन, संस्कार, आर्थिक विकास प्रचार–प्रसार गर्न उत्प्रेरणा गराउनुपर्छ । अपुरा कुरामा सरकारले हिट गर्नुपर्छ । 

खगेन्द्र सुवेदी,अध्यक्ष : जिल्ला सहकारी संघ, धनकुटा 


सार्वजनिक, निजी र सहकारी क्षेत्र विकासका संवाहक हुन् । यी तीनवटै क्षेत्रले आ–आफ्नै किसिमले सेवा प्रवाह गर्छन् । सहकारीले जनजाति महिलासम्म पुगेर व्यवसायमार्फत् सेवा प्रदान गर्छ । 

प्रदेश–१ मा तीन सय २४ सहकारी भए पनि एक सय ५० मात्रै क्रियाशील छन् । एक सय ४० कृषि सहकारी छन् । उत्तरी ६ थर, जोरपाटीलगायत स्थानमा दूग्ध र तरकारी उत्पादनमा अधिक योगदान गरेका छन् । 

वचत ऋणका ७० सहकारी छन् । तीमध्ये आधाजति क्रियाशील छन् । यी सहकारीमा ४४ हजार शेयर सदस्य छन् । ६० करोड वचत र ४० करोड शेयर पुँजी छ । लगानीको हिसाबले तरलता अभाव भए पनि ५५ करोड लगानी छ । 

कोभिडका कारण कर्जा उठ्न सकिरहेको छैन । आर्थिक अनुशासनको छैन । बाहनाबाजी गर्छन् । आर्थिक तरलता अभाव छ । सहकारीमा समस्या देखिन्छ । सहकारी स्वनियमनबाट चल्ने संस्था हो । ठूला सहरमा जस्तो भागेर जाने भन्ने समस्या छैन । 

तर, पुँजीबजार क्षेत्रबाट आउने क्रम कम छ । गैरकानुनी हिसाबले कमाएका पैसा सहकारीमा ल्याउनेजस्तो यहाँ छैन । पुँजी कम आएको अवस्थामा जनमुखी बनाउन र आत्मनिर्भर अर्थतन्त्र विकास गर्न पुँजी सहकारीमार्फत् रोजगारी अभिवृद्धि गर्न चुनौती छ । 

सहकारी क्षेत्रलाई उचाइमा लग्न स्थानीय तहले ध्यान दिनुपर्छ । कानुनले दोहोरो सदस्यतालाई रोके पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । 

राजेश्वरबहादुर श्रेष्ठ, अध्यक्ष : घरेलु तथा साना उद्योग महासंघ, धनकुटा 


नेपालमा पछिल्लो समय व्यापार घाटा बढ्दो छ । उत्पादनलाई भन्दा पनि व्यापारलाई प्रवद्र्धन गर्न थालिएको छ । वार्षिक बजेटभन्दा बढी व्यापार घाटा भइरहेको छ । ठूला उद्योगलाई भन्दा घरेलु तथा साना उद्योगलाई प्राथमिकता राख्नुपर्छ । 

नेपालमा उत्पादन भएका वस्तुलाई प्राथमिकतामा राख्नुपर्छ । जर्मनको एडिडास जुत्ता र ब्रिटेनमा बनेको कोट लगाउँदा गौरव र स्थानीय उत्पादन प्रयोग गर्दा हुने हिनताबोधको अन्त्य हुनुपर्छ । 

उत्पादित बस्तुको कच्चापदार्थ र बाहिरबाट आयातित वस्तुको भन्सार दर उही हुँदा यहाँ उत्पादित बस्तुको मूल्य बढी हुने गरेको छ ।

यसको पछाडिको अर्को कारण मजदुर अभाव पनि हो । धेरै वैदेशिक रोजगारका लागि विदेश जाने हुँदा पनि यस्तो अवस्था सिर्जना भएको हो । 

नेपालमा उद्यमी र व्यवसायीलाई मजदुरमारा, सामन्ती ठग दृष्टिकोणले हेरिन्छ । जसका कारण उद्यमीहरु व्यवसाय छाडेर राजनीतिमा लाग्ने प्रवृत्ति बढेको छ । यहाँ बजार प्रवद्र्धनको पनि समस्या छ । २०५५ सालतिर बजार प्रवद्र्धन होस् भनेर धनकुटा नगरपालिकाले कोसेली घर चलाएको थियो । 

अर्जुन गिरी, अध्यक्ष : घरेलु तथा साना उद्योग कार्यालय, धनकुटा 


यो कार्यालयबाट उद्योग र वाणिज्य दर्ता, व्यवसायीलाई सीप विकास तालिम अनुदानका कार्यक्रमजस्ता कार्यक्रम सञ्चालन हुन्छन् । 

धनकुटा जिल्ला कार्यालयमा साना उद्योग कार्यालय उद्योग र वाणिज्य भनेर दुई फर्म दर्ता हुुन्छन् । आर्थिक वर्ष २०७७/७८ सम्म दर्ता भएका संख्या उद्योगतर्फ कृषि तीन हजार तीन सय २१ र वाणिज्यतर्फ एक हजार चार सय ९३ दर्ता भएका छन् । 

दर्ता भएका यी उद्योगमा १७ हजार पाँच सयले रोजगारी पाएका छन् । जसमध्ये ११ हजार पाँच सय पुरुष र ६ हजार महिला छन् । उद्योग र वनजन्य २४ सय उद्योग दर्ता छन् । 

त्यसैगरी, पर्यटन सेवातर्फ पाँच सय, निर्माण र उत्पादनमूलक चार सय २१ उद्योग दर्ता भएका छन् ।  तर, कार्यालयले नियमित अनुगमन नगर्दा दर्ता भएका उद्योगको अवस्था के छ भन्ने यकिन छैन । 

हालसम्म सीप विकास तालिम दुई सयभन्दा बढीलाई दिइएको छ । कृषि, सिलाइ कटाइ आवश्यकताको आधारमा स्थानीय तहसँग समन्वय गरेर दिइने गरेको छ । तालिम लिएकाहरूको निरीक्षण नहुँदा समस्या भएको छ । 

कृषिजन्य उत्पादनलाई बजारको अभाव छ । प्रवद्र्धन गर्न पनि कठिन भएको छ । उत्पादकले थोरै मूल्य लिनुपर्ने बेच्नेलाई धेरै मूल्य चाहिने भन्ने छ । अनुदान ८० प्रतिशत छुटमा एक लाखसम्मको अनुदान दिने गरिएको छ । चालू आवका लागि ३५ जनालाई अनुदान दिने कार्यक्रम छ । 

खगेन्द्रप्रसाद घिमिरे, पूर्वअध्यक्ष : नेपाल पत्रकार महासंघ, धनकुटा 


धनकुटाको भेटेटार पर्यटकीय हबको रूपमा विकास भएको छ । तर, चौबिसे क्षेत्र वा धनकुटा, सहिदभूमि, पाख्रिबासमा पर्यटनसँग सम्बन्धित क्षेत्रका संघसंस्थाले पर्यटकीयस्थल विकासका लागि काम गर्न सकेका छैनन् । 

शिक्षाको क्षेत्रमा पनि सरकारी नीति कमजोर देखिन्छ  शैक्षिक रूपमा अलि सानो कक्षाबाट नै कहाँ जाने, कृषि, स्वास्थ्य, पर्यटन कहाँ जाने भन्ने नीति बनाउन जरुरी छ । पढेर पनि खाडी मुलुकतर्फ पलायन हुने क्रम बढेको छ । 

हरिगोपाल कर्मचार्या, प्रमुख प्रशासकीय अधिकृत : जिल्ला प्रशासन कार्यालय, धनकुटा 


आदर्शका कुराले मात्र जिल्लाको विकास हुँदैन । हामी पर्यटकको कुरा गर्छौँ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हामीले कम्तीमा हप्ताको एक दिन घुमौँ । कृषिका लागि कहलिएको सहिदभूमिमा जाऔँ ।  

हामी सुन्तलाको बगैंचामा गएर फोटो किन नखिच्ने ? रानीतालमा राजारानी गएर डुंगा सयर किन नगर्ने ? नागपार्क किन नजाने ? हामीले शनिबार स्थानीय खाना खान्छु भनी संकल्पन किन नगर्ने ?

बिदाको दिन पारेर म सातै पालिकाकेन्द्र पुगिसकेँ । राज्यले दिएका व्यवस्थालाई अधिक प्रयोग गरेर हामी सबै धनकुटा बनाउन लागौँ ।

रामबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत : धनकुटा नगरपालिका


संघ, प्रदेश र स्थानीय तहका कार्यक्रम एकआपसमा जोडिने भएकाले धनकुटाको विकास हुनु भनेको स्थानीय, प्रदेश र संघीय सरकारको विकास हो । 

प्रदेश–१ को समृद्धिका लागि विकास तलबाट माथिसम्म पुग्ने अवस्था देखिएको छैन । सर्वप्रथम हामी त्यो रूपमा जानुपर्छ । प्रदेश सरकारले आफ्नै योजना र कार्यक्रम बनाउँछ ।

संघले प्रदेशलाई उपलब्ध गराउने बजेट, ससर्तलगायत अनुदान क्रमशः स्वयं संघ, प्रदेश र स्थानीय सरकार हुँदै तलै आउने हुन् । 

प्रदेशले १४ जिल्लाको आवश्यकताबमोजिम काम गर्न सकेको छैन । बरु स्थानीय तहले गर्ने कार्यक्रमभन्दा साना कार्यक्रम लिएर प्रदेश सरकार अघि बढेको छ ।  प्रदेश सरकार प्रदेशकै नाममा आएका कार्यक्रम गर्न नसकेको अवस्थामा छ ।

धनकुटाले वार्षिक ७० करोड बजेट परिचालन गर्छ । 

सुखद जीवन यापनका लागि आर्थिक विकासलगायत अन्य कुराको पनि विकास हुन जरुरी छ । उद्योग प्रवद्र्धनका लागि साना बिस्कुट उद्योग उत्पादकलाई हामीले सहयोग र कृषिमा जोड दिएका छौँ । 

सरकारका नीति योजना र कार्यक्रम के–कति भए तिनको अनुगमन तथा मूल्यांकन हुन सकेको छैन । अनुगमन नहुँदा के–के भइरहेको छ भन्ने पनि थाहा पनि छैन । 

पर्यटकीय प्रवद्र्धन गर्न सकिन्छ कि भनेर संघ प्रदेशसँग मागि रहेका छौं । पर्यटक व्यवसायीलाई पर्यटक आएनन् भन्ने चिन्ता छ । राजनीतिक रुपमा आउनेहरु सीधै विराटगनर जान्छन् । 

जीवनप्रसाद राई, कृषि अभियन्ता


एभोकाडो ब्रान्डिङ, अर्गानिक कफीखेती पाख्रिबास नगर सरकारको महत्वपूर्ण उपलब्धि हो । साथै यो तेह्रथुमसहितका जिल्लालाई छलाङ । 

यहाँ कफी प्रशोधनको संभावना छ । यहाँ बृहत्तर बजार छ र संभावना छ । कफी रोस्टिङमा काम भइरहेको छ ।  धनकुटा नगरपालिकामा ड्रागनफ्रुट भित्राएर ब्रान्डिङको काम भइरहेको छ । 

यो फल भियतनाम निर्यात भइरहेको छ । त्यसैगरी, चीन र भारत पनि निर्यात हुनसक्ने सम्भावना छ । यसका अलावा यहाँ अन्य फलफूलको ब्रान्डिङको काम हुने सम्भावना पनि छ । 

चीनबाट गुन्द्रुक आउँछ । त्यसैगरी, सिन्की पनि बाहिरबाट आउँछ । यसले विदेशी उत्पादनले हाम्रो देशमा उत्पादन हुने वस्तुको बजार लिएको देखाउँछ । 

हामीले पाख्रीबासको कालोजातको बंगुरलाई ब्रान्ड गर्न सक्छौँ । धराने कालोबंगुरको रूपमा बिक्रीवितरण हुने गरेको छ । बंगुरको मासु प्रशोधन गरेर भुटान पठाउनसके धनकुटाको समृद्धिको आधार तयार हुन्छ ।  चीनले २२ वर्षको बजेटबराबर बंगुरमा लगानी गरेको छ । 

यहाँका आसामे मालभोग केरा पनि यहाँको आम्दानीको राम्रो स्रोत बन्न सक्छ । यो केरा तराईका अन्य केराभन्दा भिन्न निकै राम्रो मानिन्छ । 

धनकुटा मेकेडमिया नट कफीको छहारीको लागि पनि सम्भावित जिल्ला हो । यो नफुटाई बिक्री गर्दा पाँच देखि सात सय मूल्य आउँछ । यसलाई चक्लेट तथा कस्मेटिक उद्योगको रुपमा पनि प्रयोग गर्न सकिन्छ । 

त्यसैगरी, यसलाई जारा, मुन्टा,फललगायत एक सय प्रकारका खाद्यान्नको रुपमा प्रयोग गर्न सकिछ ।  यहाँ आठपहरिया, तामाङ, बाहुन, क्षेत्रीको पनि जातीय संस्कारको आधारमा होमस्टे चलाउन सकिन्छ ।

प्रदेश सरकार पछि बनेको हो । स्थानीय तहको विकास गर्ने पहिलो जिम्मेवारी स्थानीय सरकारको हो । प्रदेश सरकार र सिंहदरबारमा पुग्न कठिन छ । जनताको पहुँच पुग्ने भएकाले स्थानीय तहको विकासका लागि स्थानीय तहको भूमिका गहन छ । 

प्रदेशको मन्त्रीलाई गएर भनेट्न कठिन छ । सिंहदरबारमा पुग्न कठिन छ । बजेट स्थानीय तहको थोरै छ । लघु उद्यमसँग कुराहरू गर्न कठिन छ । इच्छाशक्तिले गर्न सकिन्छ । नगर सरकारले बैंकलाई यो क्षेत्रमा लगानी गर्नुहोस भनेर मनाउन सक्नुपर्छ । 

लघुुउद्यम पहिचान गरेर एक्पोजर टिम बनाएर हेरेर सिकाउनुपर्छ । निजी क्षेत्रको उद्योग वाणिज्य संघले गर्नुपर्छ । स्थानीय सरकार अझ जिम्मेवार छ । स्वयं उद्यमी पनि जिम्मेवार हो । यहाँ नगर, वा प्रदेश र संघले गर्छ भनेर बस्नु हुन्न ।

प्रदेश सरकार केन्द्रले जे काम गर्‍यो त्यसैलाई डुब्लीकेसन गर्ने गर्छ । 

विजय सन्तोषी राई (अध्यक्ष) : धनकुटा उद्योग वाणिज्य संघ


“सम्पन्न नेपाल सम्मानित नेपाली” अभियान सफल हुनका लागि आर्थिक समृद्धि आवश्यक छ ।  प्रदेश–१मा संसारकै अग्लो हिमाल र नेपालको होचो भूभाग भएको प्रदेश पर्छ । यो प्रदेशमा कृषि उत्पादनको सम्भावना छ । 

प्रदेश–१ मा भएका पहिचान र सामथ्र्यलाई परिचालन गर्नसके देश विकासको आधार बन्न सक्छ । प्रदेश–१ बाट वर्षेनी अर्बौ रूपैयाँबराबरको तरकारी स्वदेश तथा विदेश निर्यात हुन्छ । 

धनकुटाको काखमा अवस्थित नदीको पानी उपयोग र यहाँको विकासका लागि धनकुटावासी एक हुनुपर्छ । जसका लागि दीर्घकालीन सोच र योजनाको आवश्यक छ । 

हामीले हाम्रा प्राकृति र सांस्कृतिक कुरालाई उपयोग गरी रोजगार सिर्जना गर्न सके धनकुटाबाट बाहिरिने एक लाख युवा यहीँ रोजगार हुन्छन् । 

यहाँ पर्यटकसम्बन्धी काम गर्न सक्ने धेरै आधार छन् । प्रकृतिले दिएको चिज र हामीले उत्पादन गरेका बस्तुको बढी प्रचार गरियो भने मानिस आउँछन् र बजार बढ्छ । 

हाम्रो मुख्या चुनौती राजनीतिक अस्थिरता हो । सरकारले बनाएका नीति नियम कार्यान्वयन सरकार फेरिने र त्यसले ती नीति नै परिवर्तन गर्ने वा सोबमोजिमको काम नगर्ने प्रचलन छ । 

पछिल्लो पटक स्वास्थ्यको समस्या कोभिडका कारण पनि उद्योग व्यवसाय संचालन गर्न कठिनाइ भएको छ । 

प्रक्रियागत र नीतिगत समस्याका कारण पनि लगानी गर्न कठिनाइ छ । यसका बाबजुत उद्योगी व्यवसायी आर्थिक समृद्धिमा सहयोग गरिरहेका छन् । स्थानीय उत्पादनलाई अनिवार्यता गर्न सकिएको छैन । स्थानीय सरकारले स्थानीय उत्पादनलाई अनिवार्य र बजारीकरण गरी सरकारी कार्यालयमा अनिवार्य गरे नागरिकले सो वस्तुको उपयोग गर्थे । 

सकुन्तला बस्नेत, उपप्रमुख : धनकुटा नगरपालिका 


राजनीतिक आन्दोलन सकिएको छ । अब देश विकास गर्नतर्फ लाग्नुपर्छ । धनकुटाको विकासका लागि पाश्र्वचित्र बनाइएको छ । यहाँको जनजीवन अझै असहज छ । अझै पिछडिएका जातजाति छन् । धनकुटामा मात्रै बसोबास गर्दै आएको आठपहरिया जाति शिक्षबाट पिछडिँदा उनीहरुको जनजीवन पनि कष्टकर छ । 

धनकुटा नपाभित्रका असहायक जनतलाई खरको छानोमुक्त अभियान जारी छ । त्यसैगरी आर्थिक उपार्जजनका लागि सीपमूलक शिक्षा दिने काम हुँदै छ । 

हाल ७० प्रतिशत जनता कृषिमा आधारित छन् ।  सुन्तलाबाट आम्दानी लिँदै आएका केही वडाका कृषक रोगका कारण पीडित छन् । धनकुटालाई एभोकार्डोका एसियाकै राजधानी भनी घोषणा गरियो । र, आवश्यक काम पनि गरिएको छ । 

कृषकलाई बेमौसमी तरकारी उत्पादन गर्न प्लाष्टिक टनेल, गोबर ग्यास जडान र मल प्रशोधन गर्ने नयाँ प्लान्ट उपब्ध गराएका छौँ । 

नगरपालिकाकै बजेटबाट एम्बुलेन्स किन्नेलगायत जनस्वास्थ्यका काम भएका छन् ।  हामीले गाडीमा रकम खर्चेका छैनौँ । हामीले उद्यागी व्यवसायीलाई सहयोग गर्न सकेका छैनौँ । 

आर्थिक उपार्जनका लागि दूध उत्पादन पनि एक हो । हामीले गोठ सुधार र गाई खरिदका लागि साठी प्रतिशतसम्म अनुदान र टेम्पो खरिद गर्न सहयोग भएको छ । किसानलाई अनुदान दिएका बीसवटा बाख्रा तीस वटा भएका छन् ।

पर्यटन प्रवद्र्धनका लागि चुलीवन र हिलेमा टावर निर्माण गरिएको छ । फोहोर फ्याँकिएको ठाउँमा फूलबारी निर्माण गरिएको छ । तर, यो पर्याप्त होइन ।  

हामी आउँदा जुन उद्देश्यका साथ आएका थियौँ । यो पौनेपाँच वर्षको अवधिमा इमानदारितापूर्वक काम गरेका छौँ । 

एक/अर्कालाई गाली गर्ने राजनीतिक परिपाटी छ । जो सरकारमा जान्छ उसले आमूल परिवर्तन गर्नुपर्छ भन्नेछ ।  यो प्रवृतिको अन्त्य हुनुपर्छ । एउटा सरकारले एउटा योजना बनाएर ल्याउँछ अर्कोले फेरबदल गरिदिन्छ । जो गए पनि विकास गर्ने हो । हामीले इमानदारिता देखाउन सक्नुपर्छ । 

पछिल्लो समय जिल्लामा जाँडरक्सी पनि विकृतिको रुपमा देखा परेको छ । 

त्यसैगरी, जिल्लामा वैदेशिक रोजगारका कारण परिवारमा समस्या बढ्दै गएका छन् । केही वर्षयता धेरै दिदीबहिनीले अधिकारको दुरूपयोग गरी खाँडीमा श्रीमानले कमाएको सम्पति उडाउने गरेका घटना बढिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्