site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्वोच्चको अन्तरिम आदेशविपरीत राष्ट्रपतिले उद्घाटन गरिन् काष्ठमण्डप 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको आदेशविपरीत काष्ठमण्डप उद्घाटन गरेकी छन् । काष्ठमण्डप पुनःनिर्माण समितिले आयोजना गरेको कार्यक्रममा पुगेर राष्ट्रपति भण्डारीले आज उद्घाटन गरेकी हुन् । 

हनुमानढोका दरबार क्षेत्र बसन्तपुरस्थित काष्ठमण्डपमा राखिएका ऐतिहासिक पुरातात्विक महत्वका चार गणेश र गोरखनाथको मूर्ति परिवर्तनगरी नयाँ मूर्ति स्थापना गरिएको थियो । नयाँ मूर्तिले धार्मिक आस्था घट्ने र विश्व सम्पदाको अस्तित्व संकटमा पर्नेभन्दै अधिवक्ता सञ्जय अधिकारीले गएको पुस २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही रिटमा गत माघ ३ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एव पुरातात्विक महत्व रहेका मूर्तिहरु विस्थापित गर्नेलगायत काम  नगरी प्रस्तुत रिट निवेदन अन्तिम किनारा नलागेसम्मम यथास्थितिमा राख्न आदेश दिएको थियो । सोही समयदेखि काष्ठमण्डप पुननिर्माण समितिले सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै आएको थियो । आइतबार पत्रकार सम्मेलन गरेर उद्घाटनको मिति तय गरेको थियो । 

सर्वोच्चको आदेश अन्तिम किनारा नलाग्दै उद्घाटन गर्न लागिएको कुरा थाहा पाएपछि अधिवक्ता संञ्जय अधिकारीले आइतबार अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, हनुमान ढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दिप खनाल, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र काठमाडौं महानगरपालिका वडा नम्बर २० विरुद्ध हदैसम्मको सजाय मागदाबीसहित मुद्दा दायर गरेका छन् । 

सर्वोच्चको आदेश विपरित उद्घाटन गर्न लागिएको भन्दै मेयर  शाक्य, समितिका अध्यक्ष शाक्य, अड्डाका कार्यकारी निर्देशक खनाल र पुरातत्व विभागका महानिर्देशक गौतमलाई सर्वोच्चमै बोलाएर स्पष्टिकरण र कानुनबमोजिम १० हजार रुपैयाँ जरिबाना मागदाबी गरिएको छ ।


यो विवादमा स्थानीय र सम्पदा संरक्षणकर्मीहरूले असन्तुष्टि जनाएका छन् । संविधान, कानुनको रक्षा गर्ने राष्ट्रपतिले आदेश उल्लङघन गर्नु गलत रहेको सम्पदा संरक्षणकर्मीहरूले बताएका छन् । 

राष्ट्रपति आफैंले आफ्नो गरिमा विपरित काम गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । राष्ट्रपतिले आफ्नो गरिमा जोगाउन नसकेको संम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले बताए । उनी भन्छन्, ‘‘हामिले सम्माननीय राष्ट्रपतिको गरिमामा आँच आउन सक्ने भएकाले सचेत गराउन खोजेका थियौँ । सम्बन्धित नम्बर २० वडाले पनि जानकारी गराएको थियो । तर, उहाँ आफैं आफ्नो पदको गरिमालाई विवादमा मुछ्न आउनुभयो । यो गलत नजिर पनि हो । उहाँले पहिलो अन्तरिम आदेशको सम्मान गर्नु र गराउन लगाउनुपथ्र्यो ।”

काष्ठमण्डप काठमाडौं महानगरपालिका २० नम्बर वडामा पर्छ । वडाले पनि आइतबार सर्वोच्चको आदेश किनारा नलाग्दै तत्काल उद्घाटनको काम रोक्न माग गर्दै पत्राचार गरेको थियो । वडाका अध्यक्ष राजेन्द्र मानन्धरले पुनःनिर्माण समितिलाई पत्र लेख्दै पुरानै मूर्ति स्थापित गर्ने सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्नसमेत पत्राचार गरेका थिए ।


 
यस विषयमा समिति अध्यक्ष राजेश शाक्य भने भ्रम सिर्जना गर्न विरोध भइरहेको बताउँछन् । उनले समितिले राम्रो काम गरेको र पुजारीसँगको परामर्शमा चोइटिएका मूर्ति पूजा गर्न नहुने मान्यतामा टेकेर नयाँ मूर्ति स्थापित गरेको दाबी गर्दै आएका छन् । 
पूजा गर्न नहुनेगरी मूर्ति टुटफुट नभएको भन्दै स्थानीय आक्रोशित छन् । धार्मिक आस्था बोकेका पुराना ऐतिहासिक, पुरातात्विक महत्वका मूर्ति अध्यारो कोठामा थन्काएर राखिएका छन् । यसअघि पुरातत्व विभाग र हेरचाह अड्डाले पनि पुरानै मूर्ति राख्न पटक–पटक पत्राचार गरिसकेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि उद्घाटनमा सहभागी छन् । २०७२ सालको भूकम्पमा क्षति पुगेको काष्ठमण्डप पुरानै ऐतिहासिक शैलिमा बनेको छ ।  

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

सर्वोच्चको आदेशविपरीत काष्ठमण्डप लोकार्पण गर्न लागेको भन्दै अवहेलना मुद्दा दर्ता

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्