site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेयरमा उमेदवारी दिन सांसदबाट राजीनामा

जनकपुरधाम । मधेस प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा उमेदवारी दिन एक सांसदले राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभा सचिवालयमा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद शेख अवुल कलाम अजादले राजीनामा दिएका हुन् ।

सांसद अजाद स्वतन्त्र निर्वाचित भएपनि पछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए । अब जसपाबाटै गढीमाई नगरपालिकामा मेयरमा उमेदवारी दिने उनले जानकारी दिए । उनकाअनुसार पार्टीबाट उनको नाम मेयरको लागि सिफारिस भइसकेको छ ।

गढीमाईमा गठबन्धन गर्ने प्रयास जारी रहेपनि हालसम्म हुन सकेको छैन । तर, गठबन्धन नभए पनि आफूले उमेदवारी दिने अजादले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्री पनि राजिनामा दिने तयारीमा

मधेस प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पनि सिराहा नगरपालिकामा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । उनी सिराहा निर्वाचन क्षेत्र नम्बर ३ को 'ख' बाट निर्वाचित सांसद हुन् ।

नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री बनेका यादवको नाम मेयर पदका लागि एकल सिफारिस भएको हो । पार्टीले मेयरमा लड्ने निर्णय गरेको भन्दै शनिबारसम्म राजीनामा दिने उनले बताए । सिराहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) गठबन्धन गर्न तयार छन् । 

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद परमेश्वर साह सुडी पनि जनकपुरधाम उपमहानगरपालिकामा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् । पार्टीले टिकटको आधिकारिक निर्णय गरेपछि राजिनामा दिने उनले बताएका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को 'ख' बाट निर्वाचित सांसद साह पार्टीले टिकटको लागि टुङ्गो लगाएपछि राजीनामा दिएर चुनावी मैदानमा जाने जानकारी दिए । लोसाले आज नै महानगर र उपमहानगरको उमेदवार टुङ्गो लगाउने तयारी गरेको छ ।

यस्तै, जनकपुरधाममा जसपाबाट मेयरको उमेदवार अझै टुङ्गो लागेको छैन । जसपाले जनकपुरमा सांसद राम अशिषलाई यादवलाई उठाउने चर्चा भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्