site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिकता विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा भयो : प्रचण्ड
फाइल तस्बिर ।

मलंगवा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफूले नागरिकताका विषयमा तराई मधेसका जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् ।

उनले भने, “लामो समयदेखि नागरिकताविहीन नागरिकको समस्या समाधान गर्ने विषयमा मैले पटक–पटक प्रतिबद्धता जनाएको थिएँ । अब यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्लाहीको वाग्मती नगरपालिका सोल्टीबजारमा एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार  पारित नागरिकता विधेयक माओवादीकै कारण सम्भव भएको दाबी गरे ।

“तपाईँहरूले माओवादी पार्टीलाई बलियो बनाएर आउने दिनमा यहाँका जनताको हक–अधिकार, पहिचान र विकास समृद्धि र समाजवादका निम्ति योगदान गर्नुहुनेछ,” उनले भने, “नेपालको राष्ट्रिय एकतालाई बलियो पार्नका लागि छिमेकी देश चीन र भारतसँग सन्तुलित राम्रो सम्बन्ध बनाउनुपर्छ ।”

मधेसी जनताको चाहनाअनुरूप माओवादी केन्द्रको अगुवाइमा विकासका काम हुने उनले दाबी गरे । “चीन सरकारको एउटा टोलीसँग र भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्षको निम्तोमा भारतमा गएर सरकारका प्रतिनिधि र पार्टीका प्रतिनिधिसँग स्पष्ट छलफल भएको छ,” पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “नेपालको राष्ट्रिय हितका निम्ति, नेपाली जनताको विकास र समृद्धिका निम्ति दुवै छिमेकीबाट त्रिदेशीय समझदारी बनाउने, दुवैबाट सहयोग जुटाउने कोसिस पार्टीले गरिरहेको छ ।”

अध्यक्ष प्रचण्डले संघीयतालाई बदनाम र कमजोर पार्ने काम भइरहेकाले यहाँका जनता सजग भएर संविधानको रक्षाका निम्ति माओवादी केन्द्रलाई आउँदो चुनावमा मत दिनुपर्ने बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, प्रल्हाद बुढाथोकीलगायत नेताले जनताका बीचमा गएर पार्टी गतिविधिका बारेमा प्रचारप्रसार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । रासस

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्