site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेस माओवादीमा एकै घरबाट ४ जना उमेदवार, महन्थ ठाकुरका सम्धी–सम्धिनी नै सिफारिस

जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरूले सम्भावित उमेदवारहरूको नाम सिफारिस गरिसकेका छन् । क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिमा पुगेका सिफारिसहरू केन्द्रमा पठाउने क्रम जारी छ ।

दलहरूले गरेको सिफारिसअुनसार मधेस प्रदेशमा भने नातावाद र व्यक्तिवाद हाबी भएको देखिन्छ ।

नेकपा (माओवादी केन्द्र)ले महोत्तरीमा निर्वाचन क्षेत्र नम्बर ४ मा एकै परिवारको चारजनाको नाम विभिन्न पदमा उमेदवारको रूपमा सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभातर्फ रज्जी हैदर र भरतप्रसाद साहको नाम सिफारिस भएको छ । सो निर्वाचन क्षेत्रको समानुपातिकतर्फ पनि रज्जी हैदर र उनको छोरी तलहत तहसिमको नाम पनि सिफारिस भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हैदरको भाइ महफुज आलम सोही निर्वाचन क्षेत्रको ‘ख’ बाट प्रदेशसभामा सिफारिस भएका छन् भने हैदरकी भतिजी फरहिन खातुन पनि ‘ख’ बाट सिफारिस भएकी छन् ।

हैदर यसअघिको निर्वाचनमा पनि प्रतिनिधिसभातर्फ उमेदवार बनेका थिए । उनलाई तत्कालीन संघीय समाजवादी फेरम नेपालका उमेदवार डा. सुरेन्द्र यादवले पराजित गरेका थिए ।

मन्त्रीको नाम सबै क्षेत्रबाट 
आइतबार माओवादी केन्द्रका जिल्ला कमिटीले महोत्तरीको चारै निर्वाचन क्षेत्रबाट भरतप्रसाद साहको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ सबै निर्वाचन क्षेत्रबाट उनको नाम सिफारिस भएको जिल्ला इन्चार्ज राजु खड्काले जानकारी दिए ।

तर, उनी निर्वाचन क्षेत्र १ बाट चुनावमा भाग लिन इच्छुक छन् । सो क्षेत्रमा उनको गृह घर पनि छ । यसअघि उनी निर्वाचन क्षेत्र १ को ‘ख’बाट प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । साह मधेस प्रदेश सरकारमा गृह तथा सञ्चारमन्त्री हुन् । उनी माओवादी केन्द्रका पोलि ब्युरो सदस्यसमेत छन् ।

सम्धी–सम्धिनी पनि
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई सन्त नेता भन्ने गरिन्छ । तर, उनी पटकपटक पार्टीभित्र नातावाद दृष्टिकोण राख्ने गरेको सुनिन्छ । यसपटक पनि नेता ठाकुरका सम्धी र सम्धिनी उमेदवारको रूपमा सिफारिस भएका छन् ।

दुवैजना प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारको रूपमा सिफारिस भएका छन् ।

गएको बुधबार जिल्ला समितिले धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट ठाकुरका सम्धी उमाकान्त झाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ भने सम्धिनी इन्दिरा झाको नाम प्रतिनिधिसभा सदस्यको लागि समानुपातिकतर्फ सिफारिस भएको छ ।

यी सिफारिस लोसपा प्रदेश समितिले केन्द्रीय समितिमा पठाइसकेको छ ।

उमाकान्त झा प्रदेश ५ का पूर्वप्रदेश प्रमुखसमेत हुन् । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा उनी ऊर्जामन्त्रीसमेत भएका थिए । त्यसअघि उनी नेपाल सरकारका निजामती कर्मचारी थिए । तत्कालीन तामलोपा प्रवेश गरेर उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  २१:२८
प्रतिक्रिया दिनुहोस्