site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को कार्यकाल सकियो कि अधिवेशनमात्रै ? सचिवालय भन्छ– यसै हो भन्न सकिएन 

काठमाडौं । कार्यकाल सम्बन्धी व्यापक बहसकाबीच प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले अन्त्य गरिदिएकी छन् । 

राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको जारी अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य हुनेगरी स्थगित गरेका छन् । तर, बहसमा रहेको प्रतिनिधिसभाको कार्यकाल सम्बन्धी प्रश्नको उत्तर भने अझै भेटिएको छैन । त्यसैले संघीय संसद् सचिवालयका अधिकारीहरु पनि प्रतिनिधिसभाको कार्यकाल सकिएको हो वा अधिवेशन मात्र अन्त्य भएको भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् । 

सरकारले कानुन बनाएर, निर्वाचन कार्यतालिका संशोधनका लागि आग्रह गरेर विभिन्न ढंगले प्रतिनिधिसभाको आयु लम्व्याउने प्रयास गरेको थियो । तर, व्यापक विरोधपछि राष्ट्रियसभाबाट पारित भएर आइसकेको प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सम्बन्धी विधेयकको व्यवस्था फिर्ता  लिन बाध्य भयो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता कार्यतालिका संशोधन गरेर प्रतिनिधिसभाको आयु दुईहप्ता बढाउने प्रस्तावलाई पनि निर्वाचन आयोगले अस्वीकार गरेपछि सरकार आफैँले असोज १ गतेदेखि प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरिदियो । 

मन्त्रिपरिषदबाट शुक्रबार नै निर्णय गरेर अधिवेशन अन्त्यका लागि पठाएको सिफारिस राष्ट्रपतिले कार्यान्वयन गरिदिएपछि संसद् अधिवेशन शनिबार मध्यरातदेखि नै अन्त्य भएको छ । 

अधिवेशन अन्त्य भएपछि पनि प्रतिनिधिसभाको कार्यकालसम्बन्धी प्रश्नको जवाफ भने भेटिएको छैन । 

कार्यकाल सकिएको हो वा अधिवेशन मात्र अन्त्य भएको भन्ने विषयमा संघीय संसद्का अधिकारीहरु नै अन्योलमा छन् । 

“सरकारले ल्याएको कार्यकालसम्बन्धी कानुनको विधेयक फिर्ता लिएको छ । संघीय संसद् (प्रतिनिधिसभा)ले आफैँ औपचारिक घोषणा पनि गरेको छैन । त्यसैले यसै हो भन्न सकिएन,” संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बाह्रखरीसँग भने, “कानुन आएको भए त्यसले नै स्पष्ट पारिहाल्थ्यो सरकारले फिर्ता लिएपछि त्यसो हुन सकेन । प्रतिनिधिसभामा पनि सभामुखज्यूले अधिवेशन अन्य भएको जानकारी गराउँदै बैठक स्थगित मात्र गर्नुभएको छ ।” 

उनले विगतको अभ्यास हेर्दा प्रतिनिधिसभा अन्त्य भएको भन्न सकिने भए पनि आधिकारिक रुपमा त्यसो भन्ने आधार पनि बनिनसकेको बताए । 

सत्तारुढ नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले भने संसद्को कार्यकाल समाप्त नभएको बताए । संविधानले संसद्को कार्यकाल पाँच वर्ष हुनेछ भनेर स्पष्ट व्यवस्था गरेको र सर्वोच्चले समेत त्यसको व्याख्या गरिसकेकाले प्रतिनिधिसभाको आयु समाप्त नभएको उनको तर्क छ । 

“संविधानले प्रतिनिधिसभाको आयु पाँच वर्ष हुने भनेर स्पष्ट किटान गरेको छ । त्यसको एकपटक होइन दुई–दुई पटक सम्मानित सर्वोच्च अदालतबाट व्याख्या पनि भइसकेको छ,” सचेतक विश्वकर्माले बाह्रखरीसँग भने, “सामान्य अवस्थामा निर्वाचन अघि प्रतिनिधिसभाको अधिवेशन आह्वान हुँदैन र नयाँ निर्वाचित जनप्रतिनिधिले सपथ लिएसँगै यो प्रतिनिधिसभाको आयु समाप्त हुन्छ । त्उस्तो परिकल्पना त नगरौं तर, कुनै ठूलो विपत्ति आयो, देश चुनावमा जान सकेन र त्यस्तो विपत्तिको व्यवस्थापन गर्नुप¥यो भने संसद्को अधिवेशन आह्वान हुन्छ र यो संसदले आवश्यक काम गर्नसक्छ ।” 

उनले त्यही कारण प्रतिनिधिसभाको कार्यकालका विषयमा कुनै निर्णय नभएको पनि जानकारी दिए । 

शनिबार जारी अधिवेशनको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने प्रतिनिधिसभाको आयु समाप्त भएको औपचारिक घोषणा नगरे पनि उनको सम्बोधनमा कार्यकाल समाप्त भएको छनक देख्न सकिन्थ्यो । उनले प्रतिनिधिसभाको पहिलो कार्यकाल समाप्त हुँदै गरेको भनेर आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए । 

“विभिन्न आरोह अवरोह, उल्लेखनीय मोडहरु पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौं अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न हुँदै छ,” यस्तो सम्बोधनबाट सुरु गरेर अन्त्यतिर सापकोटाले भनेका थिए, “प्रतिनिधि सभाको यस कार्यकाललाई सफल बनाउन सहयोग गर्नु हुने माननीय सदस्यहरु, दलका नेताहरु, कानूनविद्, सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज, संसद सचिवालयका कर्मचारीलगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छु ।” 

उनले यसो भनेर आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष ढंगले सफल बनाउन सबैको योगदान रहनेछ भन्ने विश्वास व्यक्त गरेका थिए । 

स्रोतका अनुसार सभामुख अग्नि सापकोटाले सांसदहरुलाई औपचारिक रुपमा जलपानसहित बिदाइको कार्यक्रमको तयारी गरेका थिए । तर, निर्वाचन आयोगले बीचमै संसद्को आयुका विषयमा बोले पनि गलत नजिर बस्ने भन्दै संसदको कार्यकाल सकिएको कुरा औपचारिक घोषणा नगर्न सुझाव आएको थियो । त्यसैले उनले आयोजना गर्न लागेको बिदाई जलपान रोक्दै औपचारिक रुपमा कार्यकाल सकिएको घोषणा पनि नभएको हो । 

“निर्वाचन आयोग बढी बाठो हुँदा समस्या भयो । संसद्ले नै राय मागेको भए निर्वाचन आयोगले आफ्नो राय दिन सक्थ्यो तर, उहाँले कसैले सोध्दै नसोधी प्रतिनिधिसभाको कार्यकाल तोक्ने काम गर्नुभयो जुन संवैधानिक आयोगको प्रमुखका लागि अनधिकृत र अनैतिक काम थियो,” स्रोतले भन्यो, “त्यसैले सभामुखको बिदाई जलपान र औपचारिक घोषणा दुबै काम रोकिएको हो ।” 

स्रोतका अनुसार आगामी प्रतिनिधिसभाले कानुन बनाउने र नबनाए पनि सपथसँगै कार्यकाल समाप्त हुने नजिर बस्ने आपेक्षा गरिएको जानकारी दियो । 
 


 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १६:५०
प्रतिक्रिया दिनुहोस्