
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दोस्रोपटक पठाएको नागरिकता विधेयक रोकेर संविधान र आफ्नो पदीय जिम्मेवारीलाई नै चुनौती राजनीतिक वृत्तमा टिकाटिप्पणी भइरहेको छ ।
राष्ट्रपतिको कदमपछि सत्ता गठबन्धनदेखि नागरिक तहमा हलचल आएको छ । तर, विधिको शासनको पक्षमा संसद्मा भरपुर प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अहिलेसम्म प्रतिक्रियाविहीन छ ।
हुन त राष्ट्रपतिले नागरिकता विधेयक जारी नगर्नुलाई पनि एमालेको राजनीतिसँग जोडेर व्याख्या भइरहेको छ । तर, एमाले आफैँले भने राष्ट्रपतिको कदमको स्वागत वा विरोध गरेको छैन ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउँदा ‘एमालेमाथि ढुंगा प्रहार गरेको’ संज्ञा दिने नेताहरुले पनि सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया दिएका छैनन् । फोनमार्फत प्रतिक्रिया माग्दासमेत नेताहरु पन्छने गरेका छन् ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने नागरिकता विधेयकमा एमालेको सरोकार राष्ट्रपतिले संवोधन गरिदिएको अप्रत्यक्ष स्वीकार गरे । उनले आफूहरु विधेयकको विपक्षमा हिजोदेखि नै रहेको भन्दै राष्ट्रपतिले प्रमाणित नगरिदिएकोमा कुनै प्रतिक्रिया नरहेको बताए ।
“हामी दुवैपटक नागरिकता विधेयकको विपक्षमा थियौँ । दुवै सदनमा हामीले यसको विरोध गरेका हौँ । अहिले पनि हामी यो विधेयकको सशक्त विपक्षमा छौँ,” रिजालले बाह्रखरीसँग भने, “राष्ट्रपति संविधानको संरक्षक पनि हो । संविधान, यहाँको राष्ट्र, राष्ट्रियता सबैको जगेर्ना गर्ने राष्ट्रपतिले हो । अब सोची विचारी नै राष्ट्रपतिले निर्णय लिनुभएको होला ।”
एमाले विधेयकको पक्ष/विपक्षमा रहेको यसअघि नै संसद्मा उसका प्रस्तुतिले जगजाहेर भएको कुरा हो । तर, राष्ट्रपतिको कदम संवैधानिक हो कि होइन ? भन्ने प्रश्नमा रिजालले पुरानै कुरा दाहोर्याउँदै प्रतिक्रिया नजनाउने बताए ।
“राष्ट्रपतिले संविधानको पालनकर्ता र संरक्षक भएको हुनाले सोचीविचारी नै यो निर्णय लिनुभएको होला । हामी सुरुदेखि नै यो विधेयकको विपक्षमा थियौँ,” रिजालले भने, “यसमा हाम्रो कुनै प्रतिक्रिया छैन ।”
संविधानसभाको पहिलो बैठकदेखि संविधान जारी रहँदासम्म लागातार संविधानसभाको नेतृत्व गरेका सुवास नेम्वाङ अहिले एमालेको उपाध्यक्ष र संसदीय दलको उपनेतासमेत छन् । संविधानका व्यवस्थाका विषयमा पत्रकारलाई प्रशिक्षण दिनेदेखि यो संविधानका पक्षमा सबैभन्दा धेरै वकालत गरेका उनी ओलीको संसद् विघटनयता संविधानका विषय सकेसम्म टार्ने गर्छन् । बुधबार भने नेम्वाङले बिरामी भएको जानकारी दिए ।
“तपाईले गर्न खोजेको कुरा बुझेँ । तर, मेरो स्वास्थ्य अवस्था ठिक छैन । तीन दिनदेखि ज्वरो आएकाले चेकअप गराउन जाने तयारीमा छु,” फोनमा परिचय खुलाउनासाथ नेम्वाङले भने, “यो विषयमा म अहिले प्रतिक्रिया दिन सक्ने अवस्थामा छैन ।”
एमाले उपाध्यक्ष विष्णु पौडेललाई फोन गर्दा उनले सुरुमा परिचय मागे र प्रयोजन पनि सोधे । तर, प्रतिक्रिया दिनुपर्ने कुरा बुझेपछि उनले टार्ने प्रयास गरे ।
“अहिले म मिटिङमा छु, यसबारेको प्रतिक्रियाका लागि पछि कुरा गरौँ न है,” कति समयपछि कुरा गर्न सकिन्छ भन्ने प्रश्न गर्दा उनले भने, “बैठक कति समय चल्छ भन्न सकिन्न ।”
एमालेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रवक्ताको भूमिकामा छन् । बाह्रखरीको सम्पर्क प्रयासमा उनले दिनभर नै फोन रिसिभ नगर्ने वा काट्ने गरिरहे ।