site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केन्द्रमा सहमतिको प्रयास, क्षेत्रमा विद्रोहको चेतावनी

जनकपुरधाम । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै छ । सबै दलले उमेदवार सिफारिस गरिसकेका छन् ।

सिफारिस भएका उमेदवारहरू आन्तिरक रूपमा प्रचारप्रसार पनि गरिरहेका छन् । टिकट पाउन शीर्ष नेतासमक्ष उनीहरूको दौडधुप पनि जारी छ ।

केन्द्रमा पार्टीका शीर्ष नेताहरू गठबन्धनका लागि सिट बाँडफाँट नजिक पुगेका छन् । तर, क्षेत्रमा टिकट नपाए नेताहरू विद्रोह गर्ने मानसिकता तयार गरिरहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धनुषा निर्वाचन क्षेत्र नम्बर २ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले पाउने चर्चा छ । तर, कांग्रेसले स्वीकार गर्न सक्ने अवस्था नरहेको नेपाली कांग्रेसका नेता रामकृष्ण यादव बताउँछन् । स्थानीय निर्वाचनको मत परिणामअनुसार सिट बाँडफाँट हुनुपर्ने उनको सुझाव छ ।

"न्यायोचित निर्णय गर्नुपर्छ । स्थानीय निर्वाचनको मत परिणामअनुसार यहाँ कांग्रेस ठूलो दल छ, कांग्रेसले नै सिट पाउनुपर्छ," उनले भने, "पाँच वर्ष अगाडिको मत परिणामअनुसार सिट बाँडफाँट गर्नु गलत हो । एक दिनमा मान्छेको मन परिर्वतन हुन्छ भने पाँच वर्ष पूरानो कुरालाई अधार बनाउनु हुँदैन ।" 

प्रत्यक्ष रूपमा उनले नभने पनि विद्रोह हुन सक्ने संकेत गरे । यद्यपि, केन्द्रीय नेताले अन्याय नगर्ने उनको विश्वास छ । उनी कांग्रेस नेता शेखर कोइराला समुहका नेता हुन् ।

०७४ को निर्वाचनमा उनलाई तत्कालीन संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगरियाले पराजित गरेका थिए । अरगरिया अहिले नेकपा एमाले प्रवेश गरेका छन् । स्थानीय निर्वाचनमा ४१ वटा वडा रहेको यी क्षेत्रमा १९ वटा वडामा नेपाली कांग्रेसले जितेका छन् ।  

कांग्रेसले यहाँ २१ हजार दुई सय ३२ मत ल्याएर ठूलाे दल बनेको छ । जसपाले १३ हजार आठ सय ८९, एमालेले ११ हजार पाँच सय ८३, माओवादी केन्द्रले १० हजार सात सय ९४, एकीकृत समाजवादीले आठ हजार नाै सय ९७ र लाेकतान्तिक समाजवादी पार्टीले ६ हजार सात सय मत पाएका छन् । 

यी क्षेत्रबाट कांग्रेसले रामकृष्ण यादव र मोक्ता यादवको नाम उमेदवारको लागि सिफारिस गरेकाे छ ।

लोसपाबाट एकल सिफारिस भएका नेता एमाले प्रवेश गरेका छन् भने एमालेबाट सिफारिस भएका नेता गंगाराम यादवले पनि पार्टी त्याग गरेको घोषणा गरिससकेका छन् । यादव बिहीबार जसपा प्रवेश गर्ने तयारी छ । जसपाबाट उमेदवार बन्ने समभावना छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट सम्भावित उमेदवारको रूपमा रामचन्द्र झाको नाम सिफारिस भएको छ र नेकपा (माओवादी केन्द्र)बाट योगकुमार बरबरिया यादव (श्रवण) सिफारिस भएका छन् । लोसपाले अर्को उमेदवार अगाडि सारेका छैन । 

पर्सामा पनि विद्रोह हुन सक्ने सम्भावना देखिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले तीन र कांग्रेसले मात्र एक सिट पाउने सम्भावना देखिएको छ । जसकारण कांग्रेस नेताहरू विद्रोह गर्न रणनीति बनाइरहेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १, २ र ३ जसपा र क्षेत्र नम्बर ४ कांग्रेसलाई दिने लगभग निश्चित जस्तै छ । पर्सा क्षेत्र नम्बर १ बाट वन तथा वातावरण मन्त्री प्रदीप यादव, क्षेत्र नम्बर २ बाट सुरेन्द्र कुर्मि र क्षेत्र ३ बाट निलम्बित सांसद् हरिनारायण रौनियारकी छोरी डा. मधु गुप्तालाई उमेदवार बनाउने जसपाको तयारी छ । 

नेपाली कांग्रेसको भागमा परेको क्षेत्र नम्बर ४ बाट रमेश रिजाल उमेदवार हुने सम्भावना बढी छ । तर, कांग्रेसले सन्तोषजनक सिट नपाएको भन्दै अन्य क्षेत्रका अकांक्षीहरूले विद्रोह गर्ने तयारी थालेको हुन् ।

पर्साका सभापति जनार्दनसिंह क्षेत्रीले कांग्रेस कुनै पनि हालतमा यस्ता निर्णय स्वीकार नगर्ने बताए । उनले पनि स्थानीय निर्वाचनको मत परिणामअनुसार सिट बाँडफाँट हुनुपर्नेमा जोड दिए । "बाहिर आएका सबै कुरा गलत हुन् । ग्राउण्ड रियालिटीलाई स्वीकार गरेर निर्णय हुनुपर्छ," उनले भने, "जसपाका अधिकांस नेता एमले प्रवेश गरिसकेका छन् ।" कांग्रेस स्थानीय निर्वाचन अनुसार बलियो दल रहेको भन्दै सबै सिटमा आफ्नै उमेदवार उठाउनुपर्ने उनको भनाइ छ । 

सप्तरी निर्वाचन क्षेत्र १ बाट जसपा नेता डा. सुर्य नारायण यादव निर्वाचित सांसद हुन् । याे क्षेत्रबाट यादव र नवल किसोर साहले अकांक्षा देखाएका छन् । तर, कांग्रेसले जसपालाई निर्वाचन क्षेत्र २ र ३ नम्बर मात्र दिन तयार रहेको देखिएको छ । क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव उमेदवारी दिने तयारी गरेका छन् ।

सिरहामा पनि क्षेत्र नम्बर २, ३ र ४ का लागि विवाद देखिएको छ । क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि जसपाका नेता एवं पूर्वमन्त्री राजकिशोर यादव प्रत्याशी छन् । त्यसमा कांग्रेसले दाबी नगरे पनि माओवादीले दाबी छाडेको छैन ।

धनुषामा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ मा जसपाकाे माओवादीसँग विवाद छ । माओवादीले नेता मातृका यादवलाई उमेदवार बनाउन चाहेको छ । तर, जसपाले टिकट नदिए स्वतन्त्र भएर चुनाव लड्ने घोषणा दीपक कार्कीले सार्वजनिक रूपमा नै गरिसकेका छन् । उनी २०७४ को चुनावमा यादवसित पराजित भएका थिए । कार्की चुनावी प्रचारमा जुटिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्