site stats
बाह्रखरी :: Baahrakhari
देश
खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन प्रक्रिया सुरू, विवाद कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन डीपीआर प्रक्रिया सुरु गरेको छ । महानगर क्षेत्रभित्र हुने सवारी जामलाई मध्यनजर गर्दै ट्रिपल अन्डरग्राउन्ड पार्किङ निर्माणका लागि डीपीआर प्रक्रिया अघि बढाएको हो ।

महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले वृहत् ट्रिपल अन्डरग्राउन्ड पार्किङका लागि डीपीआर प्रक्रिया सुरु गरिएको बताए । लम्सालका अनुसार पब्लिक प्राइभेट पाट्नर्सिप प्रोग्रामअन्तर्गत काम अघि बढेको छ । 

महानगरले सरोकारवाला निकायसँग समन्वय गरेर खुलामञ्चमा वृहत् अन्डरग्राउन्ड पार्किङ बनाउने तयारी गरेको जनाएको छ । “सिटी प्लानिङ कमिसनमार्फत काम अघि बढेको छ । खुलामञ्चमा ५ हजार गाडी अट्ने अन्डरग्राउन्ड पार्किङ बनाउन लागिएको हो,” लम्सालले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत कार्तिक २९ गते मंगलबार महानगरका मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा राष्ट्रिय सभागृहमा बसेको १०औँ कार्यपालिका बैठकले अन्डरग्राउन्ड पार्किङ बनाउने प्रस्ताव पारित गरेको थियो । 

काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ मा रहेको खुलामञ्चमा नगर विकास कोषको प्राविधिक सहयोगमा ट्रिपल अन्डरग्राउन्ड पार्किङ बनाइनेछ । साथै खुलामञ्चमै पानी पुनर्भरण पीटको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने पनि महानगरको तयारी छ । 

महानगरले लामो समयदेखि अन्डरग्राउन्ड पार्किङका लागि बनाइएका व्यापारिक कम्प्लेक्समा डोजर चलाउँदै आएको छ । पार्किङका लागि बनाइएका बेसमेन्ट पनि व्यापारिक प्रयोजनमै ल्याएपछि डोजर चलाउन थालेको हो । 

हाल महानगरले बागबजार लगायतका सडक फुटपाथमा पार्किङ निषेध गरेको छ । कतै सडक फुटपाथको एक लाइन मात्रै पार्किङ गर्न मिल्ने नियम ल्याएको छ । सडक फुटपाथमा पार्किङ निषेध गर्ने महानगरको कदमविरुद्ध बागबजारका व्यापारी आन्दोलित छन् । 

महानगरले बिनाविकल्प सडक पार्किङ हटाइएको भन्दै गुनासो गरेका छन् । 

‘राजनैतिक साक्षी’ खुलामञ्चलाई खुला रूपमै राख्नुपर्ने भन्दै महानगरको कदमविरुद्ध आवाज उठ्न थालेको छ । महानगरले खुलामञ्चलाई खुला छाडेर त्यसका अतिरिक्त अर्को विकल्प खोज्नुपर्ने भन्दै विरोध हुन थालेको हो । 

महानगरले गलत कदम चालेको ‘अकुपाइ टुँडिखेल’ अभियानले जनाएको छ । प्रविधियुक्त पार्किङ भवनहरू अन्य ठाउँमा बनाउन जरुरी रहेको र खुलामञ्चको भू–बनावट बिगार्न नहुने सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले बताए । 

“खुलामञ्चको बारेमा महानगर संवेदनशील हुन आग्रह गर्दछु । हतारमा अघि नबढौँ । जमिनमुनी या जमिनमाथी संरचना निर्माण गर्ने सोच गलत छ । पार्किङको विकल्प अन्य ठाउँ रोजौँ, मर्म बुझौँ,” उनले भने । 

टुँडिखेलको अभिन्न अंगको रूपमा रहेको खुलामञ्चलाई संरक्षण र सम्र्वद्धन गर्नुपर्ने भन्दै अभियानका संयोजक विजय श्रेष्ठले वडा नम्बर २८ लाई पत्राचार गरेका छन् । 

भूमिगत जल भण्डारको पुनर्भरणको श्रोत, महाङकाल, दुई माजु, गुरु मापा जस्ता कैयौँ मूर्त अमूर्त सांस्कृतिक सम्पदा भएको स्थल, ऐतिहासिक तथा राजनैतिक परिवर्तनको साक्षीको रूपमा खुलामञ्च रहेको पत्रमा उल्लेख छ । 

पूर्वाधार सल्लाहकार लम्साल महानगरले सबैलाई ‘कन्भिन्स’ गरेर काम अघि बढाइने बताए । 

पछिल्लो समय खुलामञ्च अतिक्रमणमा परी मासिँदै गएको पनि अभियानले जनाएको छ । 

सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको वडालाई गरिएको पत्रमा उल्लेख छ । 

पटक–पटक अतिक्रमणमा परेको खुलामञ्चलाई जोगाउन २०७६ साल कार्तिक २३ गतेदेखि अकुपाइ टुँडिखेल नामक अभियान सुरु गरिएको थियो । २०७२ सालको भूकम्पयता बसपार्कमा परिणत भएको खुलामञ्चबाट एक वर्षपहिले मात्रै बसपार्क हटाएर खुला राखिएको थियो । 

भूकम्पलगायत दैवी प्रकोपको बेला खुलामञ्च आश्रयस्थल बन्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्