site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा सरकार गठनको १८ दिनमै फेर्ने गृहकार्य 

जनकपुरधाम । मधेस सरकार गठन भएको तेस्रो साता चल्दै छ । मुख्यमन्त्री सरोज कुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको १८ दिन बितिसक्यो । यसअवधिमा सरकार बिस्तारको लागि सत्तासाझेदार दलबीच सातवटा बैठकसमेत भए । तर, मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सत्तासाझेदार दलहरुको अडानले मधेसमा सरकार नै फेरिने सम्भावना बढ्दै गएको छ । 

केन्द्रीय सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले मधेस प्रदेशमा सामाजिक विकाससहित दुई मन्त्रालय माग गरेको छ । सोही नपाउँदा सरकारले पूर्णता पाउन सकेको छैन । सत्तासाझेदार मुख्य दल नेकपा (एमाले) र सरकार नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) माओवादीलाई एक मन्त्री, एक राज्यमन्त्री मात्र दिने मानसायमा छन् । 

माओवादी संसदीय दलको नेता भरतप्रसाद साह सरकार बिस्तार मुख्यमन्त्रीको बेवास्ताले हुन नसकेको बताउँछन् । माओवादीले काम गर्ने सम्मानजनक ठाउँ नपाएको उनले बताए । तर, सरकार फेरिने गृहकार्य अफवाह रहेको उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सरकार बिस्तारको लागि नीतिगत कुरै मिलेको छैन, त्यही भएर सरकार बिस्तार हुन सकेको छैन्,” उनले भने, “सबै दलले सम्मानजनक काम गर्ने ठाउँ पाउनुपर्छ । एजेण्डाअनुसारको मन्त्रालय बाँडफाट नहुँदा सहमति हुन सकेको छैन ।”

जनमत पार्टीबाट भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका ई. वसन्त कुशवाहाले पनि सरकार बिस्तारमा नेतृत्वकर्तालाई नै दोष दिए । गठबन्धन हुनुभन्दा अघि नै जनमतले कृषि र सामाजिक विकास मन्त्रालयको आवश्वासन पाएको थियो । तर, अहिले सोअनुसार नदिँदा ढिलाइ भएको उनले बताए । सरकार फेरिने विषयमा भने उनले अनभिज्ञता देखाए । 

मुख्यमन्त्री सरोज कुमार यादवले सबै दललाई समेटेर अगाडि बढ्न लाग्दा ढिलो भएको बताए । “यो साताभित्र मन्त्रिपरिषद् बिस्तार भइहाल्छ,” उनले भने, “मन्त्रालय मिलान गर्न लागेको छु ।”

सबै दललाई समेट्न उनले मन्त्रालय टुक्राउन सकिने संकेत दिए । सरकारले सामाजिक विकास मन्त्रालयलाई फुटाएर शिक्षा वा स्वास्थ्य नाममा अर्को मन्त्रालय बनाउने तयारीमा छन् ।

जनमत र माओवादीले मागेअनुसारको मन्त्रालय नपाए नेपाली कांग्रेससँग सरकार बनाउने पनि गृहकार्य भइरहेको बुझिएको छ । सामाजिक विकासमा माओवादी र जनमतले दाबी गर्दै आएका छन् । यो मन्त्रालय जसपा छोड्न तयार छैन । तर, सोही मन्त्रालयका कारण जनमत र माओवादी सरकारबाट बाहिर भयो भने सरकार नै ढल्न सक्छ । 

उता कांग्रेसले पनि जनमतलाई मुख्यमन्त्री दिएर सरकार बनाउन सकारात्मक देखिन्छ । कांग्रेस संसदीय दलको नेता कृष्णाप्रसाद यादवले अहिलेसम्म कांग्रेससँग सरकार बनाउने बारे कुनै प्रकारको छलफल नभएको बताए । तर, सम्भावनालाई अस्वीकार गर्न नमिल्ने उनले बताए । सरकार बनाउन सकारात्मक रहेको उनको भनाइ छ ।

जनमतको १३, माओवादी नौ, कांग्रेस २२, लोसपा नौ र स्वतन्त्र दुई सांसद गरी ५५ सांसदको सर्मथनसहित सरकार बनाउन सकिन्छ । जसपाको १६, एमालेको २४, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीको एक÷एक गरी ४५ सांसद विपक्षमा बस्न सक्छन् । यसबाट पनि नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद त्यही सरकारलाई सर्मथन गर्न सक्छन् ।

मधेसमा अहिले चार सदस्यीय मन्त्रिपरिषद् छ । गत पुस २९ गते मुख्यमन्त्रीले शपथग्रहण गरेका थिए । मुख्यमन्त्रीसँगै तीनजना बिनाविभागीय मन्त्रीले शपथ लिएका थिए । अहिले उनीहरुको जिम्मेवारी तोकिइसकेको छ । सरकार गठन पहिले सत्तासाझेदार दलले मुख्य चार मन्त्रालयबाट एक÷एक वटा बाँडफाँट गनुपर्ने सहमति भएको थियो । तर, सो सहमतिअनुसार बाँडफाँट नहुँदा बिनाविभागीय नै शपथग्रहण गराइएको थियो भने माओवादीले त्यसबेलादेखि नै आफ्नो अडानमा छन् । 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्