site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
कोडिङ नजान्ने र कम्प्युटर पृष्ठभूमि नभएकालाई एआई क्षेत्रमा तीन करोडसम्मको रोजगारी

काठमाडौं । कृत्रिम बुद्धिमता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को व्यापक विकाससँगै हजारौँको संख्यामा रोजगारी कटौती गर्न सक्ने चिन्ता बढाएको छ । अर्कोतिर, एआईकै विकासले कम्प्युटर इन्जिनियरिङ पृष्ठभूमि नभएका र कोडिङ नजान्नेहरूका लागि समेत बजारमा आर्कषक रोजगारी सिर्जना गरिरहेको छ ।

जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै धेरै कम्पनीले अहिले  ‘प्रम्प्ट इन्जिनियर’हरू खोज्न थालेका छन् । यी प्रम्प्ट इन्जिनियरको काम एआई टुललाई अझै सटीक र सान्दर्भिक जवाफ दिने किसिमका प्रश्न सोध्ने रहेको छ ।

प्रम्प्ट इन्जिनियरले के गर्छ ?
ओपन एआईको एआई टुल च्याटजीपीटीभन्दा पहिले नै कपीडटएआईमा काम गर्ने प्रम्प्ट इन्जिनियरले यसको ब्याकइन्डमा अक्षरमा आधारित प्रम्प्ट अथवा निर्देशन दिने काम गर्ने गरेको बताउँछन् । यसरी प्रम्पटका आधारमा एआई प्रशिक्षित हुँदा यसले थप सटीक र सान्दर्भिक जवाफ दिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रम्प्ट इन्जिनियरले कुनै कोड गर्ने काम नभई एआईले दिने जवाफ थप राम्रो होस् भनेर प्रशिक्षण गराउनका लागि ब्याकइन्डमा अक्षरमा लेखेर छोटोछोटो प्रश्नजस्ता निर्देशनहरू दिन्छन् ।

च्याटजीपीटी ‘भाइरल’ हुनुअघि नै कपीडटएआईमा सन् २०२१ को सेप्टेम्बरदेखि काम थालेकी २९ वर्षीया प्रम्प्ट इन्जिनियर अन्ना बर्नस्टेनले अहिले धेरै प्रम्प्ट इन्जिनियर नभएको र लामो समयसम्म आफू मात्र एक्लै छु जस्तो लागेको बताइन् । कलेजमा अंग्रेजी पढेकी उनी प्रम्प्ट इन्जिनियर हुनुअघि कन्टेन्ट लेख्ने काम गर्थिन् ।

एआई रोजगारीमा वृद्धि
लिङ्क्डइनमा गत वर्षको तुलनामा जेनेरेटिभ एआईका पोस्टहरूको संख्या ३६ गुणा र जीपीटीसम्बन्धी रोजगारीको संख्या ५१ प्रतिशत बढेको बताइएको छ ।

प्रम्प्ट इन्जिनियरको रोजगारीले कति ठूलो बजार लिन्छ भन्ने अहिल्यै भन्न सकिन्न । तर, गुगल समर्थित एआई स्टार्टअप एन्थ्रोपिक प्रम्प्ट इन्जिनियर र लाइब्रेरियनका लागि तीन लाख ३५ हजार अमेरिकी डलर (करिब दुई करोड ७४ लाख नेपाली रुपैयाँ)बराबरको विज्ञापन खुलाइएको छ ।

अटोमेटेड रूपमा कागजात विश्लेषण गर्ने क्लारिटी इन्टेलिजेन्स कम्पनीले प्रम्प्ट दिएर एआईबाट उत्कृष्ट प्रतिक्रिया निकाल्न सक्ने व्यक्तिका लागि दुई लाख ३० हजार अमेरिकी डलरको रोजगारी खुलाएको छ । अहिले बजारमा प्रम्प्ट इन्जिनियरिङको कोर्स समेत उपलब्ध छ । कतिपयले कसरी प्रम्प्ट इन्जिनियर बन्ने भन्ने निःशुल्क सिकाइका भिडियोहरू पनि बनाएका छन् ।

तर, एआई उपकरण दिन प्रतिदिन निकै परिष्कृत बन्दै गइरहेकाले यस किसिमको रोजगारी कति दिगो हुन्छ भन्न सकिने अवस्था छैन । तर, यसले एकातिर रोजगारी कटौती गर्दा अर्काेतिर रोजगारी सिर्जना गर्ने सम्भावना उत्तिकै देखिन्छ । टाइम्सबाट ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्