site stats
बाह्रखरी :: Baahrakhari
खेल
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युनाइटेड

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बिहीबार दुई शून्यको अग्रता जोगाउन नसक्दा टोटनहमविरुद्ध २–२ को बराबरी खेलेको छ । 

बराबरीमा रोकिएपछि युनाइटेडले तेस्रो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । तर,  युनाइटेडले लिगको चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एरिक टेन ह्यागको युनाइटेडले ३१ खेलबाट ६० अंक जोडेको छ । जुन तेस्रो स्थानको न्युक्यासलभन्दा दुई अंकले पछाडि हो । पाँचौँ स्थानको टोटनहमभन्दा ६ अंकले अगाडि हो । तथापि, युनाइटेडले भन्दा न्युक्यासलले एक खेल बढी खेलेको छ । टोटनहमले दुई खेल बढी खेलेको छ । बराबरीपछि लन्डन क्लब टोटनहमको भने शीर्ष चारमा रहने सम्भाना कमजोर बनेको छ । 

‘‘पक्कै पनि दुई शून्यको अग्रता लिएर पनि २–२ को बराबरी खेल्नुपर्छ भने यस्तो नतिजाले निराश बनाउँछ,’’ युनाइटेडका प्रशिक्षक टेन ह्यागले भने, ‘‘२–१ को अवस्थामा हामीले अर्को गोल थप्ने अवसर पाएका थियौं । तर, आफैँले गोल खायौं र २–२ को बराबरी खेल्यौं । यो दुखद छ । तर, एउटा खेलाडीलाई दोष दिन चाहन्न । हामीले अझ धेरै गोल गर्नुपथ्र्यो । र, हामीले खराब गोल खायौं ।’’

पाहुना टोली युनाइटेडले सातौँ मिनेटमा जाडोन सान्चोको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी हुँदा मार्कुस राशफोर्डले अग्रता दोब्बर बनाए । तर, दोस्रो हाफमा युनाइटेडले त्यही प्रदर्शन दोहर्याउन सकेन । टोटनहमका पेड्रो पोरोले ५६औँ मिनेटमा गोल गर्दै अन्तर कम गरे । ७९औँ मिनेटमा ह्युङ–मिन सनले बराबरी गोल फर्काए । 

टोटनहमका केही समर्थकले खेलअघि क्लबका अध्यक्ष ड्यानियल लेभीविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरूले ‘वि वान्ट लेभी आउट’ भनेर नारा लगाएका थिए । टोटनहम अघिल्लो खेलमा न्युक्यासलसँग ६–१ ले पराजित भएको थियो । त्यसअघि बर्नमाउथसँग ३–२ ले हारेको थियो । यस बराबरीसँगै टोटनहम लगातार तीन खेलमा जितबिहीन छ । 

युनाइटेडले भने गत आइतबार राति ब्राइटनलाई पेनाल्टी सुटआउटमा ७–६ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि भने युनाइटेड स्पेनिस क्लब सेभियासँग ३–० तथा समग्रमा ५–२ ले पराजित हुँदै युरोपा लिगबाट बाहिरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्