site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
नेपाल टेलिकमले भन्यो– विज्ञापन खुलेको छैन, गलत सूचनातर्फ नलाग्नुहोला

काठमाडौं । नेपाल टेलिकमले पछिल्ला दिनहरूमा कम्पनीमा विज्ञापन खुलेको भन्दै गलत सूचना प्रवाह भइरहेको विषयमा ध्यानाकर्षण भएको बताएको छ ।

बुधबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै फेसबुक ग्रुप, म्यासेन्जर र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत फैलिरहेका सूचनाको पछि नलाग्न आग्रह गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी प्रकाशित भइरहेका भ्रामक र गलत सूचनामा राखिएको लिंकबाट प्रयोगकर्ताको मोबाइल ह्याक हुने तथा जोखिमपूर्ण मालवेयरहरू मोबाइलमा छिराउने जस्ता गतिविधि हुने गर्छन् ।

कम्पनीले भनेको छ, “केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरूमा काम गर्न विज्ञापन खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

आधिकारीक सूचना राष्ट्रिय दैनिक तथा कम्पनीको वेबसाइटमा मात्र प्रकाशित हुने नेपाल टेलिकमले बताएको छ ।

“कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्