site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खाने तेलको मूल्य बढ्ने, उद्योगीलाई समस्या
फाइल तस्बिर ।

काठमाडौं । सरकारले वनस्पति घिउ–तेलमा १० प्रतिशत भन्सार शुल्क लगाउने भएको छ ।

गएको सोमबार आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत वनस्पति घिउ–तेल उत्पादन गर्ने उद्योगहरूलाई भन्सार महसुल पुनः १० प्रतिशत कायम गरिएको छ । योसँगै खाने तेलको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँभन्दा बढीले बढ्ने उद्योगीहरूको जिकिर छ ।

सरकारले एक प्रतिशत रहेको भन्सार शुल्कलाई बढाएर १० प्रतिशत पुर्‍याएपछि यसको मूल्य बढ्ने भएको हो । तेल उत्पादनका लागि तोरी चाहिन्छ । सरकारले त्यही तोरी आयातको भन्सार शुल्क एक प्रतिशतबाट १० प्रतिशत बनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि पनि भारतबाट अनधिकृत रूपमा कम गुणतरका तेल आयात भएपछि सरकारले ‘आर्थिक ऐन, २०७९ को दररेट संशोधनसम्बन्धी’ राजपत्रमार्फत कायम १० प्रतिशत भन्सार महसुललाई एक प्रतिशत कायम गरेको थियो । सरकारले त्यसको एक वर्षपछि नै पुनः भन्सार शुल्क बढाउने नीति लिएको हो । 

स्वदेशी उद्योगीलाई मारमा पर्ने
भन्सार शुल्कमा पुनः वृद्धि गरिएपछि कम गुणस्तरका तेल आयात हुने र सरकारको राजस्व तथा स्वदेशी उद्योगहरूलाई गम्भीर प्रतिकूल आर्थिक असर पर्ने खाने तेल उत्पादक संघले जनाएको छ । यसमा आबद्ध उद्योगहरू धराशायी हुन संघले जनाएको छ । 

यस्ता समस्या समाधान नगरे सम्पूर्ण अत्यावश्यक वनस्पति घिउ–तेल उत्पादन गर्ने उद्योगहरू बन्द हुने संघले जनाएको छ ।

अहिले स्वदेशी वनस्पति घिउ–तेल उद्योगको संख्या २६ छ । ती उद्योगमा करिब एक खर्ब रुपैयाँ लगानी छ । १५ हजारजनाले रोजगारी पाएका छन् ।

आव २०७७/७८ मा ५५ अर्ब ९० करोड रुपैयाँको स्वदेशी वनस्पति घिउ–तेल निकासी भएको थियो । आव २०७८/७९ मा ९३ अर्ब ६९ करोड र आव २०७९/८० मा २७ अर्ब २७ करोडको स्वदेशी वनस्पति घिउ निकासी भएको भन्सार विभागको तथ्यांक छ ।

यसले कुल निर्यातमा आव २०७७/७८ मा ३९.६१ प्रतिशत, आव २०७८/७९ मा ४६.८४ प्रतिशत योगदान दिएको थियो । २०७९/८० मा २०.८३ प्रतिशत योगदान दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्