site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेशमार्फत बजेट ल्याउने कोसी प्रदेश सरकारको तयारी
फाइल तस्बिर।

विराटनगर । कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ २४ गते आउने तय थियो । सरकारबाट अनौपचारिक जानकारी प्राप्त गरेको प्रदेशसभा सचिवालयले यसको तयारी समेत सुरु गरिसकेको थियो । तर, नेकपा (माओवादी केन्द्र)ले एक दिनअगावै सरकारलाई दिएको समर्थन फिर्ता लियो । अल्पमतमा परेको सरकारले तयारी गरेकै दिन नीति तथा कार्यक्रम ल्याउन सकेन ।

प्रदेशसभा सञ्चालन नियमावली २०७९ माथिको संशोधन प्रस्ताव दर्ता गराउने समय पूरा भएसँगै कार्यव्यवस्था परामर्श समितिबाट संशोधनबारे दलहरुको मत बाझियो । पुनःनामकरणसम्बन्धी प्रस्ताव सदनमा कायम रहेका २५ प्रतिशत सांसदले गर्न सक्ने संशोधन परेपछि प्रमुख दलहरु यसमा सहमत हुन सकेनन् । नियमावलीमाथिको संशोधन सदनले ग्रहण गर्ने, नगर्ने टुंगो नभएका कारण त्यसदिन सभामा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन टेबुल गरी प्रदेशसभा बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित हुन पुग्यो ।

अल्पमतमा परेको भोलिपल्टै सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुको साटो राजीनामा दिएर गठबन्धन दललाई सरकार गठनको बाटो खोलिदिन नेपाली कांग्रेसले औपचारिक आग्रह गर्यो । तर, मुख्यमन्त्री हिक्मत कार्कीले संविधानत ३० दिनभित्र विश्वासको मत लिने र बजेटसमेत ल्याउने तयारी थाले । उनले प्रदेशसभाबाट बाहिरिँदै गर्दा संविधानको व्यवस्थाअनुसार आफूले विश्वासको मत लिने सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै भने, “नियमानुसार हामी ३० दिनभित्र विश्वासको मत लिन्छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अल्पमतमा परिसकेको अवस्थामा सरकारले नीति तथा कार्यक्रम र बजेट कसरी ल्याउँछ भन्ने अहिले विभिन्न अड्कलबाजी भइरहेका छन् । तर सरकारले भने सदनमै नीति तथा कार्यक्रम ल्याएर बजेट अधिवेशन अन्त्य गरिदिने तयारी थालेको छ । स्रोतका अनुसार सरकारले जेठ ३० गते नीति तथा कार्यक्रम ल्याएर बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । अधिवेशन अन्त्य भए सरकारले अध्यादेशमार्फत बजेट ल्याउनेछ ।

संविधानको धारा २०२ को उपधारा १ मा प्रदेशसभा चलिहरको अवस्थाबाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने प्रावधान छ । यसरी अध्यादेशमार्फत बजेट ल्याए पनि त्यो प्रदेशसभाबाट पारित हुन भने कठिन छ । विश्वासको मत लिन पनि मुख्यमन्त्री कार्कीले असार १५ गतेभित्र हिउँदे अधिवेशन आह्वान गर्नैपर्ने बाध्यता छ ।

संघीय सरकारले प्रदेश अनुदानमा गरेको व्यापक कटौती तथा तोकिएको सिलिङअनुसार कोसी प्रदेशमा रु. ३० अर्ब हाराहारीको बजेट आउने अनुमान छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता केशवप्रसाद अर्यालले बजेट निर्माण गर्न दिइएको सिलिङअनुसार प्रदेश मन्त्रालयहरूले काम गरिरहेको र आएका विवरणलाई अध्यावधिक गर्ने कार्य गरिरहेको बताए ।

माओवादी केन्द्र, कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भन्छन्, “सरकारले अध्यादेशमार्फत नै बजेट ल्याउला । तर गठबन्धनको नयाँ सरकार बनेपछि प्रतिस्थापन विधेयकमार्फत फेरि अर्को बजेट आउने छ ।” आङ्बोले सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पारित हुने सम्भावना नरहेको सुनाए ।

यता, सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आफ्नो मन्त्रालयले बजेटसँग सम्बन्धित कार्यक्रमहरुको तयारी पूरा गरिसकेको बताउँदै भने, “हामीले माननीयहरुलाई समेत कार्यक्रम प्रस्ताव गर्न सूचीत गरेका थियौँ । कतिपयबाट आएको पनि छ ।”

सरकार अल्पमतमा परे पनि संविधानतः अविछिन्न अधिकारवाला संस्था हुनुको नाताले नीति तथा कार्यक्रम र बजेटबारे तयारी हुनु कानुनसम्मत भएको उनले सुनाए । “विश्वासको मत लिने अवधिसम्म सरकारले गर्ने सबै काम हामीले नै गर्ने हो,” उनले भने ।

कोसी प्रदेशमा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । एमालेका ४० र राप्रपा ६ गरेर सरकारलाई ४६ सांसदको साथ छ । गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसद छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्