site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
त्रुटि सच्याउन सभामुखको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । सभामुख देवराज घिमिरेको ‘रुलिङ’ मान्ने र नमान्ने विवादका कारण मंगलबार प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।

यसअघि, बैठकमा नेपाली कांग्रेसले सभामुखको रुलिङ स्वीकार गर्दै अघि बढ्न प्रस्ताव गरेको थियो । तर, नेकपा (एमाल)ले रुलिङमा एकरूपता हुनुपर्ने भन्दै अस्वीकार गरेपछि सभामुख घिमिरेले बैठक नै १५ मिनेटका लागि स्थगित गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठक पुनः सुरु भएपश्चात् सभामुख घिमिरेले बजेट कार्यक्रम समावेश पुस्तिकामा प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि नै निर्देशन दिइसकेको बताए । बाँकी रहेका त्रुटि पनि तत्काल सच्याउन उनले निर्देशन दिए ।

“हामी विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमा छौँ । सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा उल्लेखित केही विषयहरू, खासगरी प्रदेशसभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । साथै, त्यस्ता कुनै त्रुटिहरू भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु,” सभामुख घिमिरेले भने ।

सभामुख घिमिरेले सहरी विकास मन्त्रालयले पनि प्रदेशको नामको सट्टा अंक प्रयोग गरेकामा त्यसलाई सच्याउन निर्देशन दिए ।

“त्यसैगरी, सभाको आजको कार्यसूचीमा रहेको सहरी विकास मन्त्रालयअन्तर्गत वार्षिक रूपमा सम्पादन हुने कार्यक्रमको शीर्षकहरूमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको र यस विषयमा माननीय सदस्यहरूले प्रश्न उठाइसकेपश्चात् माननीय मन्त्रीले सदनलाई जानकारी गराउँदै सच्याउने समेत प्रतिबद्धता व्यक्त गरिसक्नुभएकाले अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकताअनुसार सुधार गर्न म सम्बन्धित मन्त्रालयलाई निर्देशन गर्दछु,” उनले थपे ।

संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफल जारी छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्