site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनको सिक्री लुटपाट गर्ने पाँचजना पक्राउ

काठमाडौं । शृंखलाबद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने पाँचजनालाई नेपाल प्रहरीको टोलीले पक्राउ गरेको छ । ‘मर्निङवाक’मा हिँडिरहेका महिलाले लगाएको सुनको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

मोटरसाइकलको प्रयोग गरेर उनीहरूले सिक्री लुटपाट गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रविन दमाइँ, सुनसरीको धरान घर भई चाबेलमा बस्दै आएका रवि विश्वकर्मा, काभ्रे घर भई बानेश्वरमा बस्दै आएका उमेश क्षेत्री, धनकुटा घर भई बत्तीसपुतलीमा बस्दै आएका राहुल माझी र भारत घर भई न्युरोडमा बस्दै आएका श्रकान्ता माइती रहेका एसएसपी मनोज केसीले जानकारी दिए ।

विभिन्न स्थानमा लुटपाट गर्न प्रयोग गरिएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको एसएसपी केसीले बताए ।

पक्राउ परेका मध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने, अर्को व्यक्तिले चोरीको मोटरसाइकल प्रयोग गर्ने र अरू व्यक्तिहरूले सुनको सिक्री तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट सुनको ढिक्का एकथान, सिक्री लुटपाट गर्न प्रयोग गरिएका दुई मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्