site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरो जान लागेको कसरी थाहा पाउने ? 
फाइल तस्बिर

काठमाडौं । मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि बढेको छ । बर्सेनि पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ । ठूलो परिमाणमा भौतिक क्षति हुँदै आएको छ । 
 
त्यसैले पहिरोको जोखिम कम गर्न र यसबाट बच्न सरकारले आग्रह गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने र सचेत भए यसबाट बच्न सकिने जनाएको छ ।

पहिरो जानु अघि यसका पूर्व संकेतहरू हुने र यसबारे जानीराखे क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ । प्रायः सुख्खा रहेको भिरालो जमिन पानी नपर्दै रसाउँछ र भुक्क फुल्छ । “जमीनमा चिरा परेको देखिनु, धाँजा फाट्नु र यो क्रम बढ्दै जानु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बांगो  देखिन्छ,” प्राधिकरणले भनेको छ, “जरुवा पानीको मुल सुक्नु तथा अस्वाभाविक रुपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु हुनु पहिरोका पूर्व संकेत हुन् ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घरका भित्तामा चिरा देखिनु र यो बढ्दै जानु पनि पहिरोको संकेत हो । घरका झ्याल–ढोका बांगिनु र खोल्न गाह्रो हुनु पनि पहिरोको संकेत भएको प्राधिकरणले जनाएको छ । 

भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु र ढुंगा माटो खसेको जस्तो आवाज आउनु पहिरोको पूर्वसंकेत भएको प्राधिकरणले जनाएको छ । जमिनमुनीबाट चट्याङ फुटेको जस्तो कट्कट् आवाज आउनु र जमिन थर्केको जस्तो आवाज आउनु पहिरो जाने संकेत हो । 

यस्ता संकेत देखिए नआत्तिने तर तत्काल सुरक्षित स्थानतर्फ सर्नु पर्छ । उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई खबर गर्नु पर्ने प्राधिकरणले जनाएको छ । 

पानी बग्ने खोल्सीतिर भाग्नु हुँदैन । माथितिर पानी परेको छ भने दायाँ वा बायाँतिर भाग्नु पर्ने जनाएको प्राधिकरणले स्थानीय निकायलाई खबर गरेर सहयोग गर्न आग्रह गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  ०८:३०
प्रतिक्रिया दिनुहोस्