site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
बन्द गर्ने भनेपछि विदेशी च्यानलले बुझाउन थाले मूल्यसूची

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका विदेशी सशुल्क टेलिभिजन च्यानलहरुले आफ्नो मूल्यदर बुझाउन थालेका छन् । केही दिनअघि सूचना तथा प्रसारण विभागले आलाकार्ट शुल्क प्रणालीअनुसार आफ्नो टेलिभिजन च्यानल र बुकेको मूल्यसूची नबुझाउने च्यानललाई साउन १ गतेदेखि बन्द गर्ने भनेको थियो ।

सरकारको यो चेतावनीसँगै विदेशी सशुल्क च्यानलहरुले बुकेको मूल्यदर पठाउन थालेका हुन् ।

आलाकार्ट नमान्ने विदेशी च्यानल बन्द, २५० रुपैयाँमै निःशुल्क सबै हेर्न मिल्ने

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले अहिले चार वटा विदेशी च्यानलले आफ्नो बुकेको मूल्य पठाएको बताए । यससँगै तत्काली विदेशी च्यानलहरुको प्रसारण बन्द नगरिएको र विस्तारै आलाकार्ट प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आउने उनको भनाइ छ ।

“सुरुमा सबैले थाहा नपाएको पनि हुनसक्छ । अहिले चार वटा कम्पनीले आफ्नो मूल्यसूची विभागलाई पठाएका छन् । मन्त्रालयलाई पनि पठाएको होला । विस्तारै आलाकार्ट कार्यान्वयनमा आउँछ, प्रसारण रोकिएको छैन,” प्रवक्ता गौतमले भने ।

सूचना तथा प्रसारण विभागले असार २९ गते शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउन १ देखि सबै सशुल्क विदेशी टीभी च्यानलको प्रसारणमा रोक लगाउने स्थिति सिर्जना भएको भनेको थियो ।

गत वर्ष २०७९ को चैत १५ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपभोक्ता र प्रसारक दुवैको हितमा हुनेगरी अन्य मुलकमा जसरी नै आलाकार्ट शुल्क प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।

आलाकार्ट मूल्य प्रणालीमा उपभोक्ताले हेर्न चाहेको च्यानल वा बुके (च्यानलहरूको बन्डल)को मात्रै शुल्क तिर्नुपर्ने व्यवस्था गर्छ । सोहीअनुसार आलाकार्ट प्रणालीले निःशुल्क हेर्न मिल्ने सबै टीभी च्यानलहरू देखाएवापत सेवा प्रदायकले २५० रुपैयाँ लिनसक्ने व्यवस्था गरेको छ ।

नेपालमा लगभग सबै टीभी च्यानल निःशुल्क हेर्न मिल्ने छन् र विदेशी निःशुल्क च्यानल पनि यसै मूल्यमा हेर्न मिल्नेछ ।

निःशुल्क हेर्न मिल्ने बाहेकका सशुल्क टीभी च्यानलको हकमा च्यानलको बुके (बन्डल अथवा प्याकेज) बनाएर प्रतिबुकेको मूल्य बढीमा ४० रुपैयाँ तोक्न सकिने व्यवस्था मन्त्रालयले गरेको छ ।

यसरी टेलिभिजनको सेवा दिएवापत सेवा प्रदायकले मासिक बढीमा ५०० रुपैयाँ भन्दा बढी उठाउन पाउने छैन ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्